७ वैशाख २०८१ शुक्रबार
राजनीति

सेनाभित्र भ्रष्टप्रति कठोर नीति

काठमाडौ - नेपाली सेनाले आर्थिक अनियमितता गरेको भन्दै हालैमात्र कालिसिद्धि गणका इन्जिनियर प्रमुख सेनानी केशवराज कार्कीलाई भ्रष्टाचारको आरोपमा जेल चलान गरेको छ। कार्कीले ४९ लाख २९ हजार ८८८ रुपैयाँ सरकारी रकम हिनामिना गरि सैनिक अनुशासन र आचरण उल्लंघन गरेको भन्दै छानबिनका लागि गत बैशाख २३ मा समरी जनरल सैनिक अदालतले पूर्पक्षका लागि थुनामा राखेर कारबाही चलाएको थियो।

सैनिक अदालतले जेठ २ मा उनले अनियमितता गरेको फैसला गरेपछि प्रधानसेनापति पूर्णचन्द्र थापाले फैसला सदर गरेका थिए। भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी सेवाबाट हटाइएका काकीलाई भ्रष्टाचार गरेको रकम असुल गर्दै शुक्रबार देखि तीन महिनाका लागि जग्गनाथ देवल स्थित जेल चलान गरिएको छ। यस अघी सेनाभित्र महत्वपूर्ण पदमा हुने व्यक्तिलाई अनियमिताको आरोपमा कारबाही गरिएका घटना निकै कम हुने गरेका थिए।

नेपाली सेनामा विभिन्न पदको भर्नामा अनियमितता गरेको आरोपमा ०७५ मंसिर १३ बाट लागु हुने गरी एक सय ७३ जनालाई कारबाही भएको थियो। सेनाले २०७३ र २०७५ सालमा विभिन्न पदमा लिइएको भर्नामा अनियमितता भएको पुष्टि भएपछि सैनिक अधिकृति सहित एक सय ७३ जनालाई कारबाही गर्दै उनीहरुबाट बिगो रकममार्फत तीन करोड २२ लाख ७५ हजार रुपैयाँ समेत राजस्व दाखिलाका लागि निर्देशन दिएको थियो। सेनाले भर्ना प्रक्रियाका बारेमा उजुरी तथा गुनासो परेपछि छानबिनका लागि २०७५ जेठ ६ गते सहायक रथीको अध्यक्षतामा कोर्ट अफ इन्क्वायरी गठन गरेको थियो। छानबिन गर्दा भर्ना प्रक्रियामा २३ अधिकृतसहित एक सय ८७ जनालाई जनरल समरी सैनिक अदालत (कोर्ट मार्सल) का लागि सिफारिस गरिएको थियो।

सेनाले गत महिना मात्र बहालवाला तथा अवकाशप्राप्त सैनिकहरुलाई गर्न हुने नहुने व्यवहारिक आचरणका बारेमा साताव्यापि कार्यक्रम आयोजना गरेको थियो। सैनिक चरित्रलाई थप उत्थान तथा विकासका लागि संस्थाका मुल्य मान्यता एवं मार्ग निर्देशक सिद्धान्त लगायतका विषयलाई पुनः स्मरण गराउने उद्देश्यले पहिलो पटक यस्तो कार्यक्रम आयोजना गरिएको थियो। प्रधानसेनापति थापाले सेनाको नेतृत्व लिएपछि ०७५ कात्तिक २७ मा पहिलोपटक सैनिक आचरण, संस्थाको अपेक्षा र जिम्मेवारीका विषयमा नेतृत्व सम्वाद सुरु गरिएको थियो। सैनिक आचरणमा सकारात्मक सुधार ल्याउने उद्देश्यले सञ्चालित उक्त कार्यक्रममा उपहार लिने दिने प्रचलन, आर्थिक अनियमितता (भ्रष्टाचार) र भनसुन गरी तीनवटा शीर्षकमा छलफल गरिएको थियो। यसले सेनाको आचरण सुधारमा महŒवपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको थियो। यसले नेपाली सेनामा पनि नेपालले अनुमोदन गरिसकेको भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्र संघीय महासन्धी कार्यान्वयनलाई सहयोग पुग्ने अपेक्षा गरिएको थियो।

प्रधानसेनापति पूर्णचन्द्र थापा आफैले पनि गत वर्ष दसैंका बेला आयोजना गरिएको पत्रकार सम्मेलनमा सेनाको सांगठानिक र आचरण सुधार गर्नेबारे बोलेका थिए। उनले सेनामाथि लाग्ने गरेको भनसुन, निकटता र आफन्तवादको अन्त्य गरी प्रणालीमा आधारित नीतिसहितको सांगठनिक वातावरण सिर्जना गर्ने र सेनाभित्र हुने भ्रष्टाचार नियन्त्रण र पारदर्शीतालाई प्राथमिकतामा राख्ने बताएका थिए। उनको प्रतिवद्धता अनुसार पछिल्लो समय सेनाभित्र अनियमितता र भ्रष्टाचार गर्ने अधिकारीहरुमाथि कारबाही सुरु भएको छ। सेनाले शान्ति सेनामा जाने, भर्ना प्रक्रिया जस्ता विषयमा पनि भनसुन प्रक्रियामा सुधार गर्दै लगेको छ। सेनाभित्र पछिल्लो समय नक्कली प्रमाणपत्रको छानबिन प्रक्रियालाई समेत कडाइ गर्दै लगिएको छ। नेपाली सेनाले पछिल्लो समय नेपाली सेनाभित्र भइरहेका सुधारका प्रयास प्रधानसेनापतिले अघी सारेको संगठानिक सुधारको योजना अनुसार भइरहेको जनाएको छ।

प्रकाशित: १३ जेष्ठ २०७६ ०६:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App