८ वैशाख २०८१ शनिबार
अन्य

खहरेले घट्टेखोलामा निर्माणाधीन पक्की पुल बगायो

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ को दाना घट्टेखोलामा बगेको पुल। तस्बिरः नागरिक

पोखरा– खहरे खोलामा एक्कासि आएको बाढीले बेनी–जोमसोम सडकखण्डअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानास्थित घट्टेखोलामा निर्माणाधीन पक्की पुलका सबै संरचना बगाएको छ। खहरेको बाढीले बाटो खोतल्दा रोकिएको आउजाउ पनि झन्डै १५ घण्टापछि सञ्चालनमा आएको छ।

सडक आयोजनाका अनुसार निर्माणाधीन पुलको सबै संरचना बाढीले बगाएको छ। बेनी–जोमसोम सडक आयोजना प्रमुख जगत प्रजापतिका अनुसार ४० मिटर लम्बाइ र ११ मिटर चौडाइको पक्की पुल निर्माणाधीन अवस्थामा थियो। तर, शनिबार दिउँसो आएको भीषण खहरेले पुल बगाएको हो।

शनिबार दिउँसो एक्कासि आएको बाढीले ४० मिटर लम्बाइ र ११ मिटर चौडाइको निर्माणाधीन अवस्थाको पुलको सबै संरचना बगाएको हो।


‘दुईवटा पिलरले वारपार जोड्ने गरी पुल निर्माण भइरहेको थियो। ढलान गर्नका लागि अन्तिम तयारीमा रहेको पुल खहरेले बगाएको छ,’ उनले भने, ‘खोलामा पुल नहुँदा बेनी–जोमसोम सडकमा आउजाउ गर्ने यात्रुले सास्ती खेपेका थिए। त्यही अप्ठ्यारोलाई सहज गर्न पुल बनाउन थालिएकोमा बाढीले बगाएको हो।’ उनका अनुसार पुल ढलानको अन्तिम तयारीमा थियो। त्यसका लागि काठको टेका लगाएर तयारी गरे पनि बाढीले ती संरचना बगाएको छ।

‘केही दिनपछि ढलान गर्ने गरी आवश्यक संरचना बनाइएको थियो। पुल ढलानका लागि तयार पारेर राखिएका ढुंगा, गिट्टी, फलामे रडसहित काठ पनि बगाएको छ,’ उनले भने। उनका अनुसार दुईतिरका पिलरबाहेक केही बाँकी नराखी पुल बगेको छ। ‘अन्तिम चरणमा पुगेको पुल बग्दा अब झनै समस्या हुने निश्चित भएको छ,’ उनले भने, ‘बगेका सामग्री फेला नै पार्न नसक्ने गरी कालीगण्डकी नदीमा मिसाइदिएको छ।’

पुल नहुँदा अहिलेसम्म जोमसोम आउजाउ गर्ने सबै सवारी खोलाबाट वारपार गर्र्दै आएका थिए। खहरे र ठाडो खोला भएकाले भेलले सहजै बगाएको उनले बताए।

खहरेको बाढीले खोलाको बाटोसमेत खोतलेर आउजाउ रोकेको थियो। शनिबार दिउँसो रोकिएको सडक डोजर ल्याएर बनाएर आइतबार बिहान मात्र सञ्चालन गरिएको थियो। ‘स्थानीयका अनुसार झन्डै पाँच दशकपछि यो खहरेमा यो समयमा यति भीषण बाढी आएको रहेछ, त्यसले केही बाँकी नराखी पुल सबै बगाएर लगेको छ,’ प्रजापतिले भने, ‘खोलाबाटै आउजाउ हुँदै आएको थियो। त्यो खेलाको सडक पनि बगाएको छ। पुलका लागि आवश्यक निर्माण सामग्रीदेखि निर्माणाधीन संरचना पनि बगेका छन्।’

पुल बनाउन फेवा नयाँबाटो (जेभी) निर्माण कम्पनीले ठेक्का पाएको थियो। १८ महिनामा पुल निर्माणको जिम्मा लिएर झन्डै पाँच करोड ३७ लाख रुपैयाँमा ठेक्का दिइएको थियो। पुल बनाउने म्याद गत असारमा सकिएपछि पनि एक वर्ष म्याद थपिएको थियो।

यो असारसम्म पुल निर्माण भइसक्ने गरी काम भए पनि बाढीले पूर्णरूपमा क्षति पु¥याएको प्रजापतिले बताए। ‘गत असारमै पुल बनिसक्नुपर्ने थियो। तर, खोलाका कारण एक वर्ष समय थपिएको हो,’ उनले भने, ‘असारसम्म पुल सक्ने लक्ष्य थियो। ढलान मात्र बाँकी भएकाले यो असारभित्र पुल सकिने अवस्था थियो। तर, अब केही बाँकी नराखी सखाप पारेको छ।’

पुल निर्माणको जिम्मा लिएको कम्पनी फेवा नयाँबाटोका सञ्चालक बाबुराम केसीले यो असारसम्म पुुल निर्माण सक्नेगरी तयारी गरे पनि बाढीले बगाएको बताए। ‘अबको एक डेढ महिनाभित्र सक्ने गरी काम भएको थियो। तर, सबै संरचना बगेका छन्,’ उनले भने। उनका अनुसार पुल बग्दा झन्डै दुई करोड रुपैयाँ नोक्सान भएको छ। ‘वारिपारिका पिलरबाहेक केही बाँकी छैन। फलामे रडदेखि थुप्रो लगाइएको गिट्टी, बालुवासमेत बगेको छ,’ केसीले भने, ‘सोच्दै नसोचेको बाढी आयो।’

गत असार २९ सम्म पुल सक्नुपर्ने गरी निर्माणको जिम्मा लिएको भए पनि खोलामा काम गर्नुपरेकाले ढिलाइ भएर एक वर्ष समय थपिएको केसीले बताए। ‘सम्झौता हुँदा हामीले १८ महिनाभित्र पुल सक्नुपर्ने थियो। तर, खोलामा पानीको सतह बढिरहेकाले नियमित काम हुन सकेको थिएन। त्यसले गर्दा ढिलाइ भएकोमा पोहोर एक वर्ष थपिएको हो,’ केसीले भने, ‘यो असारसम्म काम सकिने लक्ष्य थियो। तर, सबै संरचना बगाएको छ। अब कहिले पुल बन्ने भन्ने यकिन भन्न सकिन्न।’

केसीका अनुसार पुलको दायाँबायाँ एक सय मिटर दूरीसम्म ग्राभेलिङ गर्नुपर्ने सर्तअनुसार त्यसका लागि निर्माण सामग्री थुप्रो लगाएकोमा ती सबै सामग्री पनि बाढीले बगाएको छ। ‘सरकारले यो क्षतिलाई कुन रूपमा हेर्छ भन्ने हो। त्यसपछि मात्र निर्माणको प्रक्रिया अघि बढ्नेछ,’ उनले भने। एकाएक खहरेको बाढीले सडक र पुल बगेपछि पोखराबाट जोमसोम हिँडेका र जोमसोमबाट पोखरा आउँदै गरेका सवारी झन्डै १५ घण्टासम्म रोकिएका थिए।

शनिबार दिउँसो रोकिएका ती सवारी सडक खुलाएपछि आइतबार बिहान मात्र आउजाउ गरेका थिए। सडक खुलाउन बेनी–जोमसोम खण्डमा खटिएका स्काभेटर प्रयोग गरिएको थियो।

प्रकाशित: १३ जेष्ठ २०७६ ०६:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App