१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सामान्य हुँदै गोबरगाढा, डुबानको त्रास कायमै

पाइलट च्यानल तरेर हनुमाननगर तर्फ आउँदै गरेका गोबरगाढाका स्थानिय बासिन्दा ।

हनुमाननगर - भारत नियन्त्रीत कोसी योजनाका कर्मचारीहरुले पूर्व जानकारी वगैर कोसीको पाइलट च्यानलमा पानी छोड्दा सम्पर्क विच्छेद भएको सप्तरीको गोबरगाढाको जनजिवन आईतवार समान्य वन्दै गएको हनुमाननगर कंकालिनी नगरपालिकाले जनाएको छ । उक्त नगरपालिका वडा नम्बर १३ अन्तर्गत रहेका गोबरगाढा वस्तीका झण्डै ९० परिवारको पछिल्लो ३० घण्टा देखि सम्पर्क विच्छेद हुन पुगेपछि स्थानिय वासिन्दा र नगरपालिका र अन्य सरोकारवालाहरु चिन्तीत भएका थिए ।

नगरपालिकाका मेयर शैलेशकुमार साहका अनुसार गोबरगाढा वस्तीको पश्चिम पट्टी हुँदै वस्तीलाई घेरिने गरी भारतीय पक्षद्वारा खनिएको प्यालट च्यानलमा एक्कासी पानी छाडिएपछि गोबरगाढा वस्तीसँग सम्बन्ध विच्छेद हुनुका साथै सिंगो वस्ती नै कोसी नदीको बाढीले चारै तिरवाट घेरिएको थियो । ‘पानीको वहाव थोरै कम भएकोले वस्ती सम्म बाढी पुग्न सकेनन्’, मेयर साहले भने, ‘यद्यपी अहिले पनि सहज रुपमा गोबरगाढावाट सर्वसाधारण निस्कन सक्ने वा त्यहाँ सम्म पुग्ने अवस्था भने छैन ।’ अहिले पनि उक्त वस्तीमा करिब ३ सयका हराहरीमा सर्वसाधारणहरु रहेका छन् । घर वस्तीमा पानी नपसेका कारण् खासै समस्या नभए पनि वस्तीवाट निस्कने अवस्था भने अझै नरहेको स्थानिय हरिनारायण यादवले फोनमा वताए । ‘समान्यतया असारको दोश्रो तेश्रो साता तिर कोसी नदीमा अत्यधिक वहाव आएपछि झेल्नुपर्ने समस्या यस वर्ष अहिले देखिनै प्रारम्भ भएको छ’, यादवले भने, ‘हाम्रो वस्तीवाट टाढा गईसकेको कोसी नदीलाई पुनः च्यानल खनेर वस्ती सम्म पु¥याईएको अवस्था छ, हामि सँग यहाँ वस्नु वाहेको अरु विकल्प पनि छैन ।’

नेपाल तर्फका सर्वसाधारण एवम् स्थानिय तहको विरोधका वावजुद भारतीय पक्षले आफ्नो मनपरि देखाउँदै जवरदस्ती उक्त प्यालट च्यानल निर्माण गरेको गाउँलेहरुको गुनासो छ । भारतीय कर्मचारी तथा ठेकेदारसँगको मिलोमतो नेपाल तर्फका केही नेता, तस्कार तथा वदमासहरुलाई राखेर भारतीय पक्षले यस वर्ष जवरदस्ती प्यालट च्यानल खनेर आफुहरुलाई डुबानमा पारेको स्थानिय श्यामनारायण मुखियाको भनाई छ । ‘प्यालट च्यानलमा थोरै पानी छाडिए पनि हामि यस्तो दुराअवस्थामा पुगेका हौ, असार तिर मनसुनी वर्षा प्रारम्भ भएपछि हाम्रो के हविगत होला ?’, प्रश्न गर्दै मुखियाले भने, ‘हाम्रो घरवार यहि छ, वर्षभरीका लागि खाद्यान संकलन देखि पशु चौपायाहरु सवै यहि छन्, भागेर गएपनि कहाँ वस्नु, राज्यको रवैया झन् उस्तै रहेको छ ।’ वस्तीको पश्चिम तर्फवाट करिब १७ किलोमिटर लामो प्यालट च्यानल खनिएको थियो, उक्त च्यानलमा पानी छोडदा स्थानिय स्तरमा पूर्व जानकारी गराउनु पर्ने हो तर शुक्रवार साँझ भारतीय पक्षले एक्कासी पानी छोडेपछि यस्तो अवस्था आईपुगेको हो । आपतकालिन वचावका लागि राखिएको नगरपालिकाको २ थान डुंगा सहित झण्डै आधा दर्जन डुंगाहरु समेत नदीले वगाएर लगेको नगरपालिकाले जनाएको छ ।

कोसी नदीको वहावलाई पश्चिम तर्फ डाईभर्ट गर्न यस वर्ष पनि सप्तरीको भारदह स्थित कोसी ब्यारेज क्षेत्र देखि लिएर हनुमाननगर–डलबा हुँदै रम्पुरा मल्हनियाँ सम्मको १७ किलोमिटर क्षेत्रमा कोसी योजनाको च्यानल खन्ने काम गरेका छन्। कोसी योजनाले नदीलाई मध्य भागमा वगाउन च्यानल खन्ने काम भईरहेको वताए पनि कोसी नदीको पूर्वी तटबन्धवाट दवाव हटाउन नदीलाई नेपाल तर्फको पश्चिमी तटबन्ध तिर डाईभर्ट गर्नका लागि उक्त काम भईरहेको स्थनिय नेपाली गाउँलेहरुको आरोप छ । कोसी योजनाको स्रोतका अनुसार धर्ति ड्रेसर र जायन्ती कन्सट्रक्सन नामक छुट्टै कम्पनी मार्फत क्रमशः २९ करौड र ७ करौड(भारु) गरी कुल ३६ करौड(भारु)को लगानीमा १७ किलोमिटर च्यानल खन्ने काम गरिएको हो । कोसी नदीको वहावलाई पश्चिम तर्फ फर्काउन भारतीयहरुले सन् २०१० देखिनै रणनीतिक रुपमा षड्यन्त्र पूर्वक काम गर्दै आएको मेयर साह लगायत वहुसंख्यक नेपालीहरु आरोप लगाउँदै आएका छन् । स्थानियहरुका अनुसार भदौ २, ०६५ मा सुनसरीको कुसहा स्थित पूर्वी तटबन्धमा भएको कटान पश्चात भारतीयहरुले नदीको वहावलाई पश्चिमी तटबन्धत(नेपाल) तर्फ फर्काउने रणनीतिक उद्देश्यकका साथै वर्षैनी करौडौ लगानी गर्दै आएको हो ।

यस सन्दर्भमा नगरपालिका कार्यालयवाट ५ महिना अघिनै आफुले औपचारीक रुपमै जिल्ला प्रशासन कार्यालय देखि गृह मन्त्रालय, मन्त्री परिषद्को कार्यालय र प्रधानमन्त्रीको कार्यालय सम्ममा पत्राचार गरेको जानकारी गराउँदै उनले भने, ‘कोसी सम्झौता अनुरुप भारतीयहरुले नेपालवाट ९० वर्षका लागि लिजमा लिएको जग्गामा काम गर्नुपर्ने हो तर त्यस क्षेत्र भन्दा झण्डै ३ किलोमिटर पश्चिम आएर उनीहरु कृत्रिम च्यानल वनाउने लगायतका काम गरिराखेका छन्, जुन अन्तरराष्ट्रिय मान्यता विपरितको काम हो ।’ प्यालट च्यानलकै कारण गत वर्ष भदौको दोश्रो साता तिर कोसी नदीमा आएको बाढीले सप्तकोसी नदीको पश्चिमी तटबन्ध सँग जोडिएर रहेको सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका तथा तिलाठी कोईलाडी गाउँपालिकाका झण्डै एक हजार वढी घरहरु तीन साता सम्म पुर्ण रुपमै डुबानमा रहेका थिए । झण्डै एक महिना भन्दा वढी समय बाढी पिडितहरुलाई डुबानकै त्रासका विच विताउनु परेको थियो । बाढीले कुनै मानविय क्षति नभएपनि सर्वसाधारणले झण्डै ८० लाख भन्दा वढीको क्षति बेहोर्नु परेको दुवै स्थानियत तहको तथ्यांकले देखाउँछन् ।

प्रकाशित: १३ जेष्ठ २०७६ ०६:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App