८ वैशाख २०८१ शनिबार
समाज

कपालमा कैंची चलाउँदै शिक्षक

कोल्दौङदेवी माविले विद्यालयमा सञ्चालन गरेको कपाल काट्ने तालिममा सहभागी शिक्षक, अभिभावक र सिनियर विद्यार्थी। तस्बिर ः नागरिक

सिन्धुपाल्चोक - थुम्पाखरस्थित कोल्दौङदेवी मावि, टिमुरेका विद्यार्थी कपाल बढ्न थालेपछि चिन्तामा रहन्थे। खासगरी छात्रहरु लामो कपाल कहाँ गएर काट्ने भन्ने तनावमा हुन्थे। गाउँमा कपाल काट्ने सीप कोहीसँग थिएन। कपाल काट्नकै लागि उनीहरु गाउँबाट एक घन्टा पैदल हिँडेर र अर्को एक घन्टा बस चढेर बखाडिचौर बजार पुग्थे।

कपाल लामो हुँदै गएपछि चिन्तामा रहने विद्यार्थीले अव यस्तो समस्याबाट मुक्ति पाउने भएका छन्। विद्यालयले शिक्षक, अभिभावक र ‘सिनियर’ विद्यार्थीलाई कपाल काट्ने तालिम दिएको छ। केही दिनयता १५ जनाले विद्यालयमै यस्तो तालिम लिइरहेका छन्। पाँच शिक्षक, पाँच विद्यार्थी र पाँच अभिभावक उत्साहका साथ तालिममा व्यस्त छन्। ‘चाहेर पनि कपाल काट्न नपाउँदा विद्यार्थी जगल्टा पालेर विद्यालयमा आउन बाध्य भएकाले समस्या समाधान गर्न यो जुक्ति निकालेका हौं,’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश थापाले भने। ‘थोरै दिनमा पनि सहभागीले धेरै सिकिसकेका छन्,’ उनले भने। तालिमपछि शिक्षकले विद्यालयमै विद्यार्थीको कपाल काटिदिने उनले बताए।

तालिम लिएका शिक्षकले अन्य शिक्षकको पनि कपाल काट्ने छन्। विद्यार्थीको कपाल पनि निःशुल्क काटिदिने छन्।
शिव कार्की, प्रधानाध्यापक

बुटवलदेखि आएका व्यावसायिक सैलुन सञ्चालक नारायण ठाकुरको समूहले कपाल काट्ने तालिम दिइरहेको छ। प्रशिक्षार्थीमा एक तहको आत्मविश्वास नपलाएसम्म तालिम दिइने विद्यालयले जनाएको छ। घरेलु तथा साना उद्योग कार्यालयको सहयोगमा विद्यालयले कपाल काट्ने तालिम चलाएको हो। आवश्यक मात्रामा कपाल काट्ने कैंची, मेसिन, काइँयो, रुमाललगायत सामग्री र प्रशिक्षक भत्ता घरेलुले सहयोग गरेको छ। ‘विद्यालयको प्रस्ताव रचनात्मक र उपयोगी लागेकाले सहयोग गरेका हौं,’ वरिष्ठ घरेलु विकास अधिकृत कल्पना शर्माले भनिन्।

सहभागीलाई ‘पुलिस कट’ तालिम दिइएको अध्यक्ष थापाले बताए। ‘अब शिक्षक, विद्यार्थी सबै एउटै ‘हेयर स्टाइल’ पुलिस कटमा विद्यालयमा उपस्थित हुनेछन्,’ उनले भने। तालिमपछि महिनामा एक–दुई दिन सबै विद्यार्थीको कपाल काट्ने व्यवस्था मिलाइने उनले जानकारी दिए। उनका अनुसार हरेक महिनाको अन्तिम शुक्रबार र शनिबार शिक्षकले विद्यालयमै विद्यार्थीको कपाल काटिदिने छन्। तालिम प्राप्त सिनियर विद्यार्थीले शिक्षकलाई सघाउने छन्।
कपाल काट्ने तालिममा दुई शिक्षिका पनि सहभागी छन्। उनीहरुले बाल विकास केन्द्र (तल्ला कक्षा) का बालबालिकाको कपाल हेरचाह गर्ने छन्। जिल्लाको नमुना सामुदायिक शैक्षिक संस्थामा गनिने यो विद्यालयमा पौने दुई सय विद्यार्थी अध्ययनरत छन्। ‘तालिम लिएका शिक्षकले अन्य शिक्षकको पनि कपाल काट्ने छन्। विद्यार्थीको पनि निःशुल्क काटिदिने छन्,’ प्रधानाध्यापक शिव कार्कीले भने।

तालिम लिएका अभिभावकलाई कपाल काट्ने सीप गाउँमा विस्तार गर्न प्रोत्साहन गरिने प्रअ कार्कीले बताए। शिक्षक–विद्यार्थीको कपाल काट्न विद्यालयले छुट्टै कोठाको व्यवस्था गरेको छ। कपाल काट्न तालिम प्राप्त शिक्षकलाई आलोपालो गरी खटाइने छ। तालिमकै क्रममा शिक्षकले आफ्नो कपाल काटिदिएपछि कक्षा १० मा अध्ययनरत प्रशान्त तामाङले निकै खुसी लागेको बताए। ‘अब हामीलाई सजिलो हुने भयो,’ उनले भने।

विद्यालयले विद्यार्थीका उध्रिएका, च्यातिएका पोसाक विद्यालयमै सिलाउने व्यवस्था पनि गर्दै छ। यसका लागि घरेलु कार्यालयले दुई थान सिलाइ मेसिन उपलब्ध गराउने सहमति भएको विद्यालयले जनाएको छ। छिट्टै शिक्षक, विद्यार्थी र अभिभावकलाई सिलाइ तालिम दिइने व्यवस्थापनि समिति अध्यक्ष थापाले जानकारी दिए। उनका अनुसार सिलाइसँगै शिक्षिका र छात्रालाई घरेलु सामग्रीबाट सेनेटरी प्याड बनाउने तालिम पनि विद्यालयले प्रदान गर्नेछ।

प्रकाशित: १३ जेष्ठ २०७६ ०६:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App