७ वैशाख २०८१ शुक्रबार
खेल

म्याटमै प्रधानमन्त्री कप

काठमाडौं– आइतबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा नेपालय इन्टरनेसनलको व्यस्थापनमा भइरहेको तेस्रो प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत कर्णाली प्रदेश र नेपाल पुलिस क्लबबीचको खेल निर्माणाधीन मूलपानी क्रिकेट मैदानमा आयोजना हुने खेलतालिका थियो।

राखेपले पुलिस र कर्णाली प्रदेशको खेलसँगै मूलपानी क्रिकेट मैदानको तल्लो मैदानको औपचारिक शुभारम्भ हुने जानकारी गराएको थियो। मैदानको भव्य उद्घाटन युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले गर्ने बताइएको थियो। तर मैदानको उद्घाटनमा मन्त्री विश्वकर्मा उपस्थित भएनन्। त्यस्तै राखेप सदस्यसचिव केशवकुमार विष्ट पनि ढिलो गरी पुगेका थिए।

राखेपले यसअघि १० गतेको उद्घाटन खेल मूलपानी मैदानमा हुने बताए पनि अन्तिम समयमा पिच निर्माण पूरा नभएकाले उद्घाटन खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आयोजना गरेको थियो। राखेपका प्रतियोगिता शाखा प्रमुख मीन शर्माले मैदान परीक्षणका क्रममा बलले एयर लिएकाले मूलपानीमा १२ गते मात्र खेल हुने र त्यस बेलासम्म पिच पूर्ण रूपमा तयार हुने दाबी गरेका थिए।

तर आइतबार खेलका लागि मैदान त तयार भयो, तर  पिचमा  म्याटको प्रयोग गरिएको थियो। मैदानमा स्कोरबोर्डको व्यवस्था थिएन भने साइट स्क्रिन पनि नामको मात्र राखिएको थियो।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) बाट एकदिवसीय राष्ट्रको मान्यता पाए पनि नेपाली खेलाडी अझै पनि म्याटमा राष्ट्रिय स्तरको प्रतियोगिता खेल्न बाध्य थिए। प्रतियोगितामा दोस्रो पटक व्यस्थापनको जिम्मेवारी पाएको नेपालयले नेपालमा ५० ओभरको खेल कम आयोजना भइरहेको सन्दर्भमा आफूहरूले आयोजना गरेको प्रतियोगिता राष्ट्रिय टोलीका लागि फलदायी भएको बताएका थिए।

पुलिसका प्रशिक्षक मनोज कटुवालले भने राखेप र नेपालयले मैदान पूर्ण रूपमा तयार नभए पनि किन प्रतियोगिता आयोजना गरे भन्नेबारे बुझ्न नसकेको बताए।

‘मैदानको मुटु भनेको पिच हो तर पनि आज हामी  म्याटमा खेल्न बाध्य भयांै। यसले हामीलाई १५ वर्षअघिको अवस्थामा फर्काएको छ,’ कटुवालले भने, ‘हामी एकदिवसीय मान्यता प्राप्त राष्ट्र हांै र अहिले पनि यस्तो अवस्थामा खेल्नुपर्दा यो नेपाली क्रिकेटकै लागि दुखको दिन हो।’

‘यस्ता प्रतियोगिता युवा खेलाडीका लागि राष्ट्रिय टोलीको ढोका ढकढकाउने माध्यम हो, तर झारा टार्न मात्र गरिने यस्तो प्रतियोगिताले नयाँ खेलाडी उत्पादनमा कुनै मद्दत गर्दैन बरु यसले खेलाडीको मनोबल घटाउँछ,’कटुवालले भने, ‘हामीलाई हिजो साँझ मात्र म्याटमा प्रतियोगिता खेलाइने जानकारी गराइयो। हामीले माथिल्लो मैदानमा खेलाउनुस् भन्दा आयोजकले तयारी गरेका छैनौं भन्नुभयो। अब सुरुका दिनबाटै तल्लो मैदानमा प्रतियोगिता आयोजना गर्ने मानसिकतका साथ अघि बढेका आयोजकलाई हामीले के नै भन्न सक्थ्यांै र ? हामीले प्रतियोगिताका लागि तयारी गरिसकेका थियांै। त्यसैले अन्तिम समयमा जानकारी गराएका कारण हामीले प्रतियोगिता बहिस्कार गर्न सकेनौं।’

‘राखेप र नेपालय सामु मूलपानी क्रिकेटको माथिल्लो मैदानमा प्रतियोगिता खेलाउने विकल्प थियो। तल्लो मैदान तयारीमा १५, २० दिन खर्चनुको साटो माथिल्लो मैदानमा एक साताको मात्र तयारी गरिदिएको भए प्रतियोगिताको स्तरसमेत बढ्ने थियो। साथै खेलाडीहरूले पनि आफ्नो वास्तविक खेल क्षमता प्रस्तुत गर्न पाउने थिए,’ कटुवालले थपे।

यता राखेपका सदस्यसचिव विष्टले भने प्राविधिकको साल्लाहमा मूलपानीमा खेल आयोजना गरिएको भन्दै खेलाडी र सहभागी टोलीले मैदानको बारेमा गुनासो गरे प्रतियोगितास्थल सार्न सक्ने बताए।

‘हामीलाई प्राविधिकले १० गते प्रतियोगिता आयोजना गर्न सम्भव छैन १२ गतेसम्म तयार हुन्छ भन्ने रिपोर्ट दिनुभएको थियो,’ विष्टले भने, ‘त्यसैले प्रतियोगिता आयोजना गरेका हाैं।’

‘विश्वका अन्य राष्ट्रहरूमा पनि म्याटमा प्रतियोगिता खेलाइन्छ। त्यसैले यहाँ पनि म्याटमा खेलाउनु नौलो होइन,’ विष्टले थपे, ‘यो हाम्रो बाध्यता हो। यो मूलपानीको तल्लो मैदानको विधिवत् उद्घाटन होइन। हामीले मैदानको परीक्षण मात्र गरेका हांै। हामी मूलपानी मैदान पनि खेल्न योग्य छ है भन्ने सन्देश मात्र दिन चाहन्छौं।’

जग्गा विवाद यथावत्
२०७५ भदौ २० को मन्त्रिपरिषद् बैठकले निर्माणाधीन मूलपानी क्रिकेटको तल्लो मैदानमा कायम मुआब्जा विवाद समाधान भएको घोषणा ग¥यो। यससँगै धेरैले मैदानको निर्माणकार्यले तीव्रता पाउने अपेक्षा गरेका थिए।

तर मुआब्जा विवादको गाँठो भने अहिलेसम्म फुकेको छैन। मैदानमा कुल ११ परिवार रहेको र उनीहरुलाई अन्यत्र स्थानान्तरण गरिने बताइएको थियो। तर मैदानमा अझै २ परिवार बसोबार गर्दै आएका छन्।

‘सरकारले हामीलाई जग्गाको लालपूर्जा त दियो तर तपाईहरुको जग्गा यो हो। यहा बस्नुुस् भनेर जग्जा देखाएको छैन,’ ठूली तिमल्सिनाले भनिन्, ‘हामीलाई हाम्र्रो जग्गा छुट्याइदिए अन्यत्र जाने थियाैं।’

मन्त्रिपरिषद्को निर्णयअनुसार मैदानमा रहेका घरधनी तथा जग्गावालाहरूले २०७५ पुस २ गते सट्टा जग्गाको लालपूर्जा दिएको थियो।

‘हामी पनि घरै अगाडि अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान निर्माण हुँदा खुसी छाैं तर सरकारले हाम्रो समस्याको पनि समाधान गर्दियोस्,’ फूलमाया तामाङले भनिन्, ‘तर सरकारले हामीलाई मुआब्जारूस्वरूप दिएको जग्गामा सुकुम्बारी टहरो हालेर बसेका छन्। सरकारले उनीहरुलाई हटाएर हाम्रो बसोबासको व्यस्था गरिदिएमा हामी सहजै यो स्थान छोड्न तयार छाैं।’

मुआब्जा विवादबारे सोध्दा सदस्यसचिव विष्टले भने मुआब्जा विवाद समाधान भइसकेको र स्थानान्तरण प्रक्रिया पनि केही दिनभित्रै टुङ्गिने रटान दोहो-याए।

मैदानको उद्घाटनमा खेलकुदमन्त्री  जगतबहादुर विश्वकर्मा उपस्थित भएनन्। त्यस्तै राखेप सदस्यसचिव केशवकुमार विष्ट पनि ढिलो गरी पुगेका थिए।

प्रकाशित: १३ जेष्ठ २०७६ ०५:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App