७ वैशाख २०८१ शुक्रबार
समाज

विप्लवको बमले आफ्नै कार्यकर्ताको ज्यान लियो

काठमाडौं - प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विप्लव समूह आतंककारी गतिविधिमा संलग्न हुँदा आइतबार चारजनाको ज्यान गएको छ। सोमबारका लागि नेपाल बन्द आह्वान गरेको विप्लव समूहले बन्दको पूर्वसन्ध्यामा पड्काउन तयार पारेको सिलिन्डर बम अचानक कोठाअगाडि नै पड्किदा आफ्नै कार्यकर्ताको ज्यान गएको हो।

काठमाडौंका घट्टेकुलो र सुकेधारामा छुट्टाछुट्टै सिलिन्डर बम र कुकर बम विस्फोट हुँदा चारजनाको ज्यान गएको छ भने ६ जना घाइते भएका छन्। सो समूहका कार्यकर्ताले काठमाडौंको चन्द्रागिरि, ललितपुरका लगनखेल, सातदोबाटोलगायतका स्थानमा विस्फोट गराएका थिए। यसबाहेक ललितपुरका दुई स्थानमा पनि बम फेला परेको थियो।

चारजनाको मृत्यु, कम्तीमा तीनजना घाइते

विप्लव समूहले घट्टेकुलोमा रहेको सिलिन्डर बम अन्यत्र लगेर विस्फोट गराउने योजनाअन्तर्गत प्रज्वल शाहीको कोठाबाट बाहिर निकाल्न लाग्दा आइतबार अपराह्न साढे ४ बजेको समयमा विस्फोट भएको थियो। सो विस्फोटमा परी विप्लव समूहका विद्यार्थी नेता रविन केसी घाइते भएका थिए भने शाहीको घटनास्थलमै मृत्यु भएको थियो।

घट्टेकुलोमा विस्फोट भएको १० मिनेट फरकमा सुकेधारामा विस्फोट भएको थियो। त्यहाँ भने कुकर बम भएको प्रहरीले जनाएको छ। ‘बम पड्किएर सुकेधारामा तीनजना र अनामनगरमा एकजनाको मृत्यु भएको छ’, महानगरीय आयुक्त कार्यालयका प्रमुख शैलेश थापा क्षेत्रीले भने। उनका अनुसार सुकेधारामा ढलाने पुलनजिकको सटरभित्र र अनामनगरमा कोठाभित्र सिलिन्डर पड्किएको हो। मृतकको सनाखत भइनसकेको प्रहरीले जनाएको छ।

सुकेधारको विस्फोटनमा परी विप्लव समूहको नेवा राज्य समितिका सदस्य सुरेन्द्र महर्जन र अर्का कार्यकर्ता हरि खड्का घाइते भएका छन्। त्यस्तै जितबहादुर ठाकुर पनि घाइते भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार अन्य घाइते र मृत्यु भएकाहरुको नामठेगाना खुलिसकेको छैन। सो समूहले सोमबारका लागि आह्वान गरेको बन्दलाई लक्षित गरी विस्फोट गराउन तयार पारिँदै गरेका बम पड्किएको प्रहरीले जनाएको छ। सुकेधारामा तयार पारिँदै गरेको बम विस्फोट भएको हो। त्यसमा नयाँ कार्यकर्ता शिवराम र महावीर भन्ने दुईजनाले नजान्दा विस्फोट भएको प्रहरीले जनाएको छ।

स्थानीयका अनुसार विस्फोटको ठूलो आवाजले आसपासका घरका समेत सिसा फुटेका छन्। घटनास्थलमा नेकपा विप्लव समूहको उपत्यका ब्युरोबाट जारी गरिएको पर्चासमेत फेला परेको छ। पर्चामा ‘राज्य आतंक बन्द गर, जेठ १३ गतेको बन्द सफल पारौं’ उल्लेख छ।

नेपाल प्रहरीका प्रवक्ता विश्वराज पोखरेलले विस्फोटमा विप्लव समूहकै हात भएको दाबी गरे। ‘घाइते भएका व्यक्तिहरु सो समूहका कार्यकर्ता हुन्। उनीहरुलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ’, प्रवक्ता पोखरेलले भने, ‘घाइते रविन केसी विद्यार्थी संगठनका नेता, सुरेन्द्र महर्जन नेवा राज्य समितिका सदस्य भएकाले पनि विप्लव समूहकै भएको पुष्टि हुन्छ।’ विस्फोटबारे गृह मन्त्रालयले भने धारणा सार्वजनिक गरेको छैन।

सरकारले दमन गरेको भन्दै विप्लव समूहले सोमबारका लागि बन्द आह्वान गरेको हो। मंगलबार भोजपुरको टेम्केमैयुङ गाउँपालिका १ अन्तर्गत धोत्रेखानी जंगलमा लुकीछिपी बसेका विप्लव समूहका कार्यकर्तामाथि प्रहरीले गोली चलाउँदा एकजनाको मृत्यु भएको थियो। प्रहरीको गोली लागी घाइते तीर्थराज घिमिरेको बुधबार मृत्यु भएको थियो। विप्लव समूहलाई सरकारले फागुन २८ गते प्रतबन्ध लगाएको थियो। प्रतिबन्ध लगाएपछि प्रहरीले दुई सयभन्दा बढी विप्लव कार्यकर्ता पक्राउ गरेको थियो।

गृह मन्त्रालयमा आकस्मिक बैठक
विस्फोटलगत्तै गृह मन्त्रालयमा सुरक्षा समितिको बैठक बसेको छ। बैठकमा गृहमन्त्री रामबहादुर थापा, गृहसचिव, प्रेमकुमार राई, नेपाल प्रहरीका आइजिपी सर्वेन्द्र खनाल, सशस्त्र प्रहरीका आइजिपी शैलेन्द्र खनाल, शान्तिसुरक्षा महाशाखाका प्रमुख रामकृष्ण सुवेदी, काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य र महानगरीय प्रहरी कार्यालयका प्रमुख शैलेश थापा सहभागी थिए। गृहमन्त्री रामबहादुर थापाले सुरक्षा व्यवस्था कडा पार्न सुरक्षा निकायलाई निर्देशन दिएका छन्।

नेपाली सेनाले पनि बम विस्फोटबारे अनुसन्धान सुरु गरेको छ। विस्फोट भएका स्थानमा सेनाले घेराबन्दी गरेको थियो।

सातजना पक्राउ
घट्टेकुलोमा सिलिन्डर बम लिन गएका र त्यहाँ विस्फोट भएपछि भागेर कोठामा आएका सातजनालाई प्रहरीले कोटेश्वरबाट पक्राउ गरेको छ। पक्राउ परेकाको कोठाबाट विस्फोट गराउन तयारी अवस्थामा रहेको कुकर बम फेला परेको छ। पक्राउ पर्नेमा भक्तपुर जिल्ला सेक्रेटरी बुद्धिलाल पुन, बुद्धि सुनुवार, तेजराज काफ्ले, तेजबहादुर मोक्तान, राजेश श्रेष्ठलगायत छन्। उनीहरुलाई कोटेश्वरको भाटभटेनीबाट पक्राउ गरेको सशस्त्र प्रहरीको विशेष टोलीले जनाएको छ।
हिंसा र निषेधको राजनीति छाड ः कांग्रेस

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई हिंसात्मक राजनीति छाड्न आग्रह गरेको छ। आइतबार राजधानीसहित विभिन्न स्थानमा विस्फोटनपछि प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै बम विस्फोट र त्यसबाट भएको मानव जीवनको क्षतिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।

नेपाली जनताको लामो संघर्षबाट प्राप्त उपलब्धिको रक्षा र विकासमा सबै शक्ति ऐक्यबद्ध ढंगले अघि बढ्नुपर्ने बेला विस्फोटसहितका घटना हुनु दुखद भएको कांग्रेसले जनाएको छ। ‘लामो हिंसाबाट जर्जर भएर बल्ल शान्तिको सास फेरिरहेको नेपालमा पछिल्ला घटनाक्रमबाट कसैको विजय नहुने विषयप्रति गम्भीर बन्न राज्य र विद्रोही पक्ष दुवैलाई सचेत गराउन चाहन्छ,’ कांग्रेसले भनेको छ, ‘हिंसाको राजनीति त्याग गर्न विद्रोही नेकपालाई र निषेधको राजनीति त्याग गरी समाधान खोज्न सत्तारुढ नेकपा र नेपाल सरकारलाई सार्वजनिक अपिल गर्दछ।’

प्रकाशित: १३ जेष्ठ २०७६ ०१:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App