८ वैशाख २०८१ शनिबार
समाज

गणतन्त्र सङ्ग्रहालय जेठ १५ देखि खुला हुँदै

काठमाडौं– नारायणहीटिभित्र बनेको गणतन्त्र सङ्ग्रहालय यही जेठ १५ देखि सर्वसाधारणका लागि खुला हुँदैछ। सङ्ग्रहालयभित्र गणतन्त्रसँग सम्बन्धित तस्बिर, सम्बन्धित सामग्री, लेखरचना आदि सङ्कलनको जिम्मा नेपाल कला परिषद्ले पाएको छ।

परिषद्ले आफ्नो ७५ प्रतिशत काम पूरा गरिसकेको परिषद्का कार्यकारी सदस्य नरेश सैँजुले जानकारी दिए। ‘काठमाडौँका विभिन्न पुराना तथा नयाँ फोटोग्राफरमार्फत नेपालका विभिन्न राजनीतिक घटनाक्रमलगायत विसं २००७ अघिका तस्बीर पनि सङ्कलन गरिसक्यौँ’ उनले भने।

पहिले नारायणहिटी सङ्ग्रहालयभित्र पूर्व राजाहरूको जीवनशैली, खानपान, उनीहरूले प्रयोग गरेका लत्ताकपडा आदि मात्र हेर्न पाइन्थ्यो। सङ्ग्रहालय स्थापना भइसकेपछि नेपालमा प्रजातन्त्रको प्राप्ति कसरी भयो, राजतन्त्रको अन्त्य कसरी भयो भन्ने जानकारी पछिका पुस्ताले समेत अवलोकन गर्न पाउने परिषद्का सदस्यसचिव जीवन राजोपाध्यायले बताए। उनले भने ‘सङ्ग्रहालयमा यतिवटा नै तस्बीर र सामग्री राख्ने भन्ने टुङ्गो लागेको छैन।’ परिषद्ले तस्बीर सङ्कलनको काम पूरा गरिसकेको उनले जानकारी दिए।

सङ्ग्रहालयले गणतन्त्रसम्बन्धी जानकारी दिने मात्र नभई विभिन्न अध्ययन अनुसन्धान गर्ने व्यक्तिलाई समेत सहयोगी भूमिका खेल्नसक्ने परिषद्का अध्यक्ष तथा संस्कृतिविद् सत्यमोहन जोशीले बताए। उनले भने ‘यो नेपाली इतिहासलाई बचाइराख्ने एउटा महत्वपूर्ण पाइला हो।’ गणतन्त्रको प्राप्तिका लागि कतिकोे ज्यान गयो, कति अङ्गभङ्ग भए, कति बेपत्ता भए र कति हराए भन्ने विवरणसमेत सङ्ग्रहालयमा राख्दा पछिसम्मका पुस्ताले त्यसबारे जानकारी पाउने उनले बताए। यसले राष्ट्रको इज्जत र गरिमा बढाउने जोशीले विश्वास व्यक्त गरे। उनका अनुसार शुरुआतमा थोरै मात्र सङ्ग्रहालयमा राखिए पनि पछि विस्तार हुँदै जानेछ। सरकारले भवन पहिले नै बनाइसके पनि सङ्ग्रहालय ढिलो मात्र सञ्चालनमा ल्याउन लागेकोमा उनले दुःख व्यक्त गरे।

नेपाल सरकारको रु ४२ करोडको लगानीमा बन्न लागेको उक्त सङ्ग्रहालय सजाउने  जिम्मेवारी वैशाख ८ गते परिषद्लाई दिइएको थियो। सङ्ग्रहालयलाई सजाउने जिम्मेवारी पाइसकेपछि परिषद्ले आफूसँग भएको ऐतिहासिक तस्बीर उपलब्ध गराउन सर्वसाधारणका लागि विज्ञापन गरेको थियो। कतिपय तस्बीर विज्ञापनमार्फत परिषद्मा आएका थिए भने कतिपय तस्बीर परिषद्ले व्यक्तिगत सम्पर्कका आधारमा सङ्कलन गरेको थियो।

सङ्ग्रहालयमा जनआन्दोलनका क्रममा बेपत्ता बनाइएका, हराएका, अङ्गभङ्ग भएका र मृत्यु भएकालाई झल्काउने स्मारकसमेत निर्माण भइसकेकोे छ। स्मारकमा बहुउद्देश्यीय हल, विशिष्ट कक्ष, चमेनागृह, शौचालयलगायत संरचनासमेत निर्माण भएको छ। स्मारकभित्र एकैपटक दुई हजारजना अटाउनसक्ने सभाहलसमेत निर्माण गरिएको छ। देशभित्र विभिन्न कालखण्डमा भएका आन्दोलनका दस्तावेजसमेत त्यहाँ समावेश गरिनेछ। त्यहाँ प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र ल्याउनका लागि गरिएको साहस, त्याग र बलिदानीको महत्वपूर्ण पक्ष झल्काइनेछ।

मन्त्रिपरिषद् बैठकले स्मारकमा बगैँचासहितको संरचना निर्माणका लागि ८२ रोपनी जग्गा उपलब्ध गराएको थियो। तर नेपाली सेनाले जग्गा उपलब्ध नगराउँदा हाल ३५ रोपनीमा सीमित छ। रासस

प्रकाशित: १२ जेष्ठ २०७६ १०:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App