coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

लापरबाही गर्ने ठेकदारलाई कारबाहीको माग

धनकुटा– मध्यपहाडी लोकमार्ग निर्माणमा लापरबाही गर्ने निर्माण कम्पनीलाई कारबाही गर्न धनकुटाका स्थानीयले माग गरेका छन्। धनकुटाको हिलेमा संघीय सरकारको प्रविधि तथा विकास समितिले मध्यपहाडी लोकमार्गको निर्माण कार्यको अवस्थाको विषयमा आयोजना गरेको छलफलमा सहभागीले सडक निर्माणमा लापरबाही गर्ने ठेकदारलाई कारबाही गर्न माग गरेका हुन्।

संघीय सांसद राजेन्द्रकुमार राईले तोकिएको समयमा निर्माण कार्य सम्पन्न नगर्ने, गुणस्तरहीन सडक निर्माण गर्ने र सडक निर्माण गर्दा सामान्य मापदण्ड पनि पूरा नगरी लापरबाही गर्ने निर्माण व्यवसायीलाई कारबाही गर्न माग गरे। उनले लापरबाही गर्ने निर्माण व्यवसायीलाई कारबाही गरी ठेक्का तोड्न माग गरे। ‘चार वर्षमा २६ किलोमिटर बाटो निर्माण गर्न नसक्ने निर्माण कम्पनीको ठेक्का तोड्नु पर्छ,’ राईले भने।  प्रदेश सांसद इन्द्रमणि पराजुलीले मुलुकमा व्यवस्था परिवर्तन भयो तर काम गर्ने ढाँचा, शैली पुरानो नै भएकाले विकास निर्माणको कामहरु भने जस्तो तीव्र गतिमा हुन नसकेको बताए। उनले सडक निर्माण कार्यमा निर्माण कम्पनीलाई जिम्मेवार बनाउनु पर्ने, यदि हुँदैनन् भने नियमनकारी निकायले कारबाही गर्न तयार हुनु पर्नेमा जोड दिए। निर्माण कार्यमा बेमान गर्ने निर्माण व्यवसायीलाई नियमनकारी निकायले आवश्याक कारबाही नगर्दा निर्माण कार्य फितलो भएको उनको तर्क थियो। त्यसैगरी अर्का प्रदेश सांसद लीला सुब्बाले लोकतन्त्रमा जनताको आवाज सुनिएन, जनताको समस्याको पहिचान भएन भने के अर्थ भयो ? र भन्दै निर्माण आयोजना र विकास समितिलाई प्रति प्रश्न गरे।

मध्यपहाडी लोकमार्गको अवस्था अनुगमनका लागि विकास तथा प्रविधि समितिका सभापति कल्याणीकुमारी खड्का नेतृत्वको टोली धनकुटा आइपुगेको हो। यसैक्रममा  टोलीले यहाँका जनप्रतिनिधि, स्थानीयवासीलगायत सरोकारवालासँग सुझाव तथा राय लिएको छ। यसैक्रममा पाख्रिबास नगरपालिकाका प्रमुख बिर्खबहादुर राईले स्तरहीन कामले जनप्रतिनिधिले नै कुटाइ खाने अवस्था आएको बताए। पुल निर्माण भएका स्थानमा वैकल्पिक मार्ग व्यवस्थित नगरिँदा सर्वसाधारण सास्ती खेप्नु परेको उनले बताए। पाख्रिबास–४ का वडाध्यक्ष सोभित निरौलाले स्तरहीन सडकको रुपमा लोकमार्गको काम भएको भन्दै निर्माण भइरहेको पुलमा १ बोरा सिमेन्टमा १३ बोरा बालुवा प्रयोग गरिएको र प्राविधिक दृष्टिले चरम लापरबाही रहेको जानकारी दिए। महालक्ष्मी नगरपालिका प्रमुख पर्शुराम नेपालले ठेकेदारको लापरबाही रहेको बताए। पाख्रिबास–३ का स्थानीय कृष्णबहादुर कटुवालले आक्रोश पोखे। तेह्रथुमको लालीगुराँस नगरपालिकाका प्रमुख अर्जुन माबोहाङले लोकमार्गबारे जानकारी माग्दा सूचना लुकाउने गरेको बताए। छथरजोरपाटी गाउँपालिकाका अध्यक्ष शेरबहादुर लिम्बूले लोकमार्ग बन्दा पहिले खुसी र अहिले चिन्ता थपिएको बताए।

मध्यपहाडी लोकमार्ग आयोजनाका प्रमुख दीपक केसीले सडकको काम सुधार गर्ने आश्वासन दिए। कञ्चनजंघा कन्ट्रक्सनका इन्जिनियर ओमप्रकाश साह र विरुवा कन्ट्रक्सनका इन्जिनियर सागर श्रेष्ठले सच्चिएर काम गर्ने दाबी गरे। यसैबीच, अनुगमन टोलीका संयोजक तथा विकास तथा प्रविधि समितिका सभापति कल्याणीकुमारी खड्काले लोकमार्गको कामबारे चरम गुनासो पाएको बताइन्। समयमा काम नसकिए ऐनले नै कारबाही गर्ने व्यवस्था गरेकोले सच्चिन चेतावनी दिइन्। अनुगमन समितिका सदस्य सांसद गणेश पहाडी, राजेन्द्र राई लगायतले गुणस्तरहीन सामग्री प्रयोग नगर्न र समय सीमाभित्र काम सम्पन्न गर्न जोड दिए।

मध्यपहाडी लोकमार्ग निर्माणको क्रममा कैयाैं बस्ती विस्थापित हुने भन्दै स्थानीयले गुनासो गरेका छन्। सडकको मध्यभागबाट दायाँबायाँ २५ मिटरका दरले जग्गा चर्चिएपछि त्यस आसपासका कतिपय पुराना बस्ती नै विस्थापित हुने स्थानीयले चिन्ता व्यक्त गरेका हुन्। सडकबारे राय संकलनका क्रममा संसदीय समितिका पदाधिकारी समक्ष स्थानीयले उक्त जानकारी गराए। सडक ऐनमा नै उल्लेख गरिएकोले कम्तिमा सडक दायाँबायाँ ३१ मिटरसम्मका घर बस्ती हटाउने तथा नयाँ घरका लागि नक्शा पास नगरिने भएकोले सर्वसाधारणले सास्ती खेप्नु परेको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले बताए।

तामाङले सडक विभागले सडकको मध्य भागदेखि दायाँबायाँको दुरी कायम गरी नदिँदा जनताले सास्ती बेहोर्नु परेको बताए। उनले सडको मध्य भागदेखि पहाडी भेगमा १५–१५ मिटर कायम गर्नुपर्नेमा जोड दिए। सडकले व्यक्तिको जग्गाको लगत कट्टा नगर्दा र सडकको चौडाइको दुरी कायम नगर्दा सर्वसाधरण मार्कामा परेको आंैल्याए। धनकुटाका प्रमुख जिल्ला अधिकारी सीताराम कार्कीले मध्यपहाडी लोकमार्गअन्तर्गत धनकुटाको हिलेदेखि लेगुवासम्मको २६ किलोमिटर राजमार्गमा भोजपुर, संखुवासभा र धनकुटाका जनताले जहिले मार खप्नु परेको बताए। उनले हिउँदमा समयमा धुलाम्ये र वर्षाको समयमा हिलाम्मे हुनाले ४ वर्षदेखि सास्ती खेप्नु परेको बताए।

प्रकाशित: १२ जेष्ठ २०७६ ०६:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App