८ वैशाख २०८१ शनिबार
समाज

विवाद नमिल्दा फोहोरले ढाकियो सहर

लहानको मुख्य चोकस्थित तरकारी बजारमा थुप्रिएको फोहोरको डंगुर। तस्बिरःमिथिलेश यादव/नागरिक

लहान– आन्तरिक विवादका कारण दुई सातादेखि नगरपालिकाले फोहोर नउठाउँदा लहान बजार दुर्गन्धित बनेको छ। सहरभरी फोहोरको डंगुर थुप्रिएपछि बजार तथा लहानका चोक बसिनसक्नु बनेका छन्।

लहानमा पटक–पटक विभिन्न बहानामा फोहोर संकलन तथा व्यवस्थापन कार्य ठप्प हुँदा नगरवासी पिरोलिएका छन्। वैशाख ३१ गतेदेखि फोहोर नउठ्दा दुई सातादेखि नगरको मुख्य चोकदेखि भित्री बजार फोहोरको डंगुरमा परिणत भएको छ। स्वच्छ वातावरणमा बाँच्न पाउने आश पालेर बसेका नगरवासी फोहोरको दुर्गन्धमा बस्न बाध्य छन्।

राजमार्ग, तरकारी बजार, भित्री बजारक्षेत्रको फोहोर पन्ध्र दिनदेखि उठाइएको छैन। चर्को गर्मीका कारण  फोहोर कुहिएर दुर्गन्ध फैलिएको छ। तर, नगरपालिकाले फोहोर नउठाउने जिद्दी छाडेको छैन। वडा नम्बर ४ र नगरपालिकाबीच फोहोर व्यवस्थापनको विषयमा चैत महिनादेखि नै विवाद छ। वडा नम्बर ४ का स्थानीयले फोहोरमैला व्यवस्थापन केन्द्रलाई नगरपालिकाले भण्डारण केन्द्रको रूपमा विस्तार गरेको भन्दै विरोध गरेका थिए। मठमन्दिर र बस्ती नजिकै फोहोर थुपारिँदा बस्तीभरि दुर्गन्ध फैलिएको भन्दै स्थानीयले विरोध जनाएका हुन्। नगरका महिलाले  झाडु जुलुससहित नगर कार्यालयमा पुगेर विरोध जनाए। त्यसपछि वडाध्यक्षहरू र दलका प्रतिनिधि सहभागी समझदारी समितिले अर्को विकल्प नहुँदासम्म बलान र खुट्टी खोलाको दोभानमा फोहोर फ्याँक्न नगरपालिकालाई सुझाव दियो। नगरपालिकाका सरसफाइ इन्चार्ज शम्भु बस्नेतका अनुसार चैत महिनाबाट सोही ठाउँमा फोहार फ्याँक्ने गरिएको थियो। 

वैशाख ३१ गते प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितको पत्रपछि नगरपालिकाका सरसफाइ कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरीसहितको फौज नगरको फोहोर ट्याक्टरमा लिएर वडा नम्बर ४ मा रहेको फोहोर व्यवस्थापन केन्द्रमा फाल्न पुगे। फोहोर फ्याँक्न आएको फौज देखेर स्थानीयवासी आक्रोशित भए। सरसफाइ इन्चार्ज बस्नेतका अनुसार गेटको ताल्चा फुटाएर चारवटा ट्याक्टरमा रहेको फोहोर फ्याँकेर बाहिरिन लाग्दा स्थानीय  झाडु कुचो लिएर प्रतिकारमा उत्रे। ‘प्रहरी मुकदर्शक बनिरह्यो सरसफाइका हामीमाथि आक्रोशित स्थानीयले हातपात गरिरहे,’ बस्नेतले सुनाए। आक्रोशित स्थानीयले फोहोर व्यवस्थापन केन्द्रको बाउन्ड्रीसमेत भत्काइदिएका छन्।

त्यसपछि सरसफाइका कर्मचारीले नगरपालिका समक्ष फोहोर फ्याँक्ने सुरक्षित स्थान नतोकिदिएसम्म फोहोर नफ्याँक्ने अडान राखे। नगरपालिकाले सुरक्षित स्थान तोक्न नसक्दा नगरको फोहोर उठ्न नसकेको हो। यस विषयमा नगरका उपप्रमुख सरियारकुमारी चौधरीले फोहोर व्यवस्थापनको हल दलले निकाल्नुपर्ने जिकिर गरिन्। ‘हामीले त सकेनौं अब यसको समाधान दल र प्रशासनले निकालिदिनुपर्छ,’ उनले भनिन्। प्रमुख जिल्ला अधिकारीले बल प्रयोग गरेरै भए पनि फोहोर व्यवस्थापन केन्द्रमा फोहोर फाल्ने वातावरण बनाइदिनुपर्ने उनको माग छ। ‘बल प्रयोग गरेपछि आफैं समाधान निस्किहाल्छ,’ उनले दोहो¥याइन्।

नगरभरिको फोहोर वडा नम्बर ४ को बस्ती र मन्दिर नजिकै फ्याँक्दा दुर्गन्ध फैलिएको भन्दै चैतको अन्तिम सातादेखि नै स्थानीयले फोहोर फाल्न रोक लगाउँदै आएका थिए। त्यसपछि फोहोर व्यवस्थापन सम्बन्धी समस्या समाधान गर्न वडा नम्बर १ देखि १० सम्मका वडाध्यक्षको एउटा समिति गठन गरिएको थियो। समितिले नगरका २४ वटै वडामा फोहोर व्यवस्थापन गर्ने वैकल्पिक ठाउँ हेर्ने, स्थानीयसँग छलफल गर्ने र राजनीतिक दलका प्रतिनिधिसहित बैठक गर्न निर्णय गरेको वडा नम्बर ७ का वडाध्यक्ष राकेश गुप्ताले बताए।

समितिले सामाधान ननिस्किँदासम्म बलान खुट्टी खोलाको दोभानमा फोहोर फाल्ने वडाध्यक्षहरूले सहमती गरेर नगरपालिकाको सरसफाइ शाखालाई जानकारी दिएको थियो। 

‘फोहोरबाट मोहर’ निकाल्ने नारा दिँदै ०७१ सालमै यहाँ फोहोरमैला प्रशोधन केन्द्र निर्माणको निर्णय भएको थियो। जसका लागि करिब ५० लाखको लागतमा तारबार, बाउण्ड्री वाल, वृक्षारोपणलगायतका काम भइसकेको छ। त्यो बेलादेखि यहाँ फोहोर फालिँदै आएको छ। ‘तर, त्यो बेला फोहोर व्यवस्थित तरिकाले व्यवस्थापन हुन्थ्यो’,  वडाध्यक्ष रामनाथ पण्डितले भने,‘पछिल्लो समय मरेको पशुपंक्षीदेखि सबै प्रकारका फोहोर जथाभावी थुपार्ने काम हुन थाल्यो। जसले यहाँ महामारी फैलिने खतरा भयो।’ स्थानीयको दबाबमा वडा कार्यालयले यहाँ फोहोर फाल्ने कामलाई रोक्यो। ‘फोहोरलाई प्रशोधन गरी मल बनाएर बिक्री गर्ने मेसिन जडान गर्न सक्नुपथ्र्यो पण्डितले भने, ‘नगरपालिकाले अझै त्यो मेसिन किन्न सकेको छैन।’

पण्डितका अनुसार  फोहोरको दुर्गन्धले महामारी, रोग फैलिने खतरा निम्तिएपछि नगर कार्यापालिकाको बैठकमा व्यवस्थापन गर्न कुरा उठाएको तर, मेयरले चासो दिएनन्। उप प्रमुख चौधरीले भनिन्,‘न कर्मचारीले काम गर्न तयार हुन्छ न  त प्रहरीले नै सरसफाइ कर्मचारीलाई सुरक्षा दिन सकेको अवस्था छ। अनि कसरी फोहोर उठ्छ,’ उनले भनिन्। मेयर  दिल्ली जानुभएको छ, उहाँ फर्केपछि निकासको पहल सुरु हुन्छ।’ मेयर सुनी साह कहिले फर्किने टुंगो छैन।

प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले पनि पन्छिने खालको प्रतिक्रिया दिए। भने,‘म मेयर हुँ र फोहोर व्यवस्थापनको निकास निकाल्नु? मेयरसाब बाहिरबाट फर्केपछि समाधानको सूत्र निकाल्नुहुन्छ। मैले त केवल सुरक्षाको पाटोमा सहयोग गर्ने हो।’

सरसफाइका नाममा जनतासँग कर असुल्ने अनि फहोर सफा नगर्ने नगरपालिकाको रवैया ठीक नभएको भन्दै स्थानीय आक्रोश पोख्छन्। राजमार्ग क्षेत्रमा फुटपाथ पसल, होटल तथा व्यापारिक प्रतिष्ठान रहेका छन्। दिनहुँ हुने फोहोरको ठूलो परिमाण राजमार्गक्षेत्रबाटै उत्पादन हुने नगरपालिकाले जनाएको छ। तर, राजमार्ग क्षेत्रमै दुई सातादेखि फोहोर उठ्न छोडेपछि सहरमा फोहोरको डंगुर थुप्रिँदै गएको छ। राजमार्गमा फोहोर थुपारेर नगरपालिकाले गम्भीर बेवास्ता दर्शाइरहेको व्यापारी  विजय चौधरीले बताए।

प्रकाशित: १२ जेष्ठ २०७६ ०५:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App