६ वैशाख २०८१ बिहीबार
समाज

गोदाममै सड्यो अनुदानको चामल, 'डिस्पोज' गर्ने तयारीमा खाद्य संस्थान

नेपाल खाद्य संस्थान खोटाङको कार्यालय। तस्बिर: दमन राई/नागरिक

खोटाङ  – उपभोक्ताले उपयोग नगर्दा नेपाल खाद्य संस्थान शाखा कार्यालय खोटाङको १० क्विन्टल चामल सडेको छ। आर्थिक वर्ष २०७२/०७३ मा ल्याइएको जिरा मसिना चामल संस्थानको गोदाममै सडेको हो। बजारमा आउने चामलभन्दा महंगो मूल्य परेका कारण १० क्विन्टल चामल गोदाममै थन्किएर सडेको संस्थानका प्रमुख सुनिलकुमार शाहले बताए।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको हाँटडाँडास्थित संस्थानको गोदाममा रहेको सो चामल घुन, किरा, चिल्सा र मुसाले खाएर सडेको हो। खानामा उपयोग गर्न नमिल्नेगरी सडेको चामल डिस्पोजको प्रकृया थालिएको संस्थानले जनाएको छ। आर्थिक वर्ष २०७२/०७३ मा प्रतिकेजी ६० रुपैयाँ पर्ने जिरा मसिना चामलको मूल्य हाल प्रतिकेजी ५० रुपैयाँमा झरेको छ। ‘संस्थानमा ल्याइएकामध्ये खपत हुन बाँकी १० क्विन्टल चामल सडेको अवस्थामा छ,’ कार्यालय प्रमुख शाहले भने, ‘असारपछि डिस्पोजको प्रकृया अघि बढाउँछौँ।’ प्रयोग गर्नै नमिल्ने अवस्थामा पुगेका कतिपय चामल स्थानीयले पशु तथा चौपायलाई खुवाउनका लागि उपयोग गर्ने गरेका छन्।

बजारकोभन्दा महंगो पर्नु, गोदाम व्यवस्थापन चुस्त नहुनु, भण्डारस्थल चिसो हुनु लगायतका कारण संस्थानको चामल सडेको हो। पछिल्लो समय गाउँ–गाउँमा सडकको पहुँच विस्तार, संस्थानको चामल पुरानो हुँदै गएपनि मूल्या संशोधन नहुँदा चामल सड्ने अवस्थामा पुगेको शाहले बताए।

कमिसनमा सहकारीलाई चामल दिने तयारी
ल्याइएका कतिपय चामल लामो समयसम्म गोदाममै थन्किने अवस्था देखिएपछि खाद्य संस्थानले सहुलियत दरमा सहकारी संस्थामार्फत बिक्रीको तयारी थालेको छ। उपभोक्तालाई घरदैलोमै चामल उपलव्ध गराउने लक्ष्यकासाथ संस्थानले सहकारीलाई ६ देखि ७ प्रतिशत कमिसन दिएर चामल बिक्रीको तयारी थालेको जनाएको छ। हाल संस्थानबाट जापानिज चामल बिक्री भइरहेको छ। १६५ क्वीन्टल जापानिज चामल ल्याइएकामा हालसम्म १५÷१६ क्वीन्टल मात्र खपत भएको छ। बाँकी चामल सहकारीसँग सहकार्य गरेर विक्री गर्न लागिएको हो।

हलेसी डिपो हटाइदै
खाद्य संस्थानको हलेसी डिपो कार्यालय हटाउने तयारी थालिएको छ। करिब १० वर्ष अघिदेखि चामल बिक्री वितरण रोकिएको हलेसी डिपोलाई हटाउने तयारी थालिएको संस्थानका प्रमुख शाहले बताए। वर्षाको भलबाढी पसेपछि ११ क्वीन्टल चामल भिजेर कुहिएपछि त्यस यता हलेसी डिपोमा चामल पठाइएको छैन। ‘हलेसी डिपोमा हाल स्टाफ पनि छैन, चामल पनि पठाइएको छैन,’ शाहले भने, ‘चामल विक्री वितरण नभएपछि डिपो नै हटाउने तयारी भइरहेको छ।’ जिल्लामा हाल ऐसेलुखर्क, बाक्सिला र खोटाङबजार डिपो कार्यालय सञ्चालनमा छ।

प्रकाशित: १२ जेष्ठ २०७६ ०५:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App