coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

महोत्सवबाट एक करोड ३९ लाख फाइदा

चितवन महोत्सवको आयव्यय विवरण सार्वजनिक गर्न आयोजित कार्यक्रम। तस्बिर: सविता/नागरिक

चितवन - १२ औं चितवन महोत्सवबाट एक करोड ३९ लाख १२ हजार सात सय ९४ रुपैयाँ फाइदा भएको छ। पुस २५ देखि माघ ४ गतेसम्म नारायणी नदी किनारमा सञ्चालन भएको महोत्सवमा भएको आम्दानीबाट खर्च कटाएर सो रकम फाइदा भएको चितवन महोत्सवका मूल संयोजक सहनलाल प्रधानले जानकारी दिए। महोत्सवमा तीन करोड ४४ लाख ५४ हजार एक सय १७ रुपैयाँ आम्दानी भएको थियो। आम्दानी मध्येबाट ७१ लाख १३ हजार तीन रुपैयाँ सामाजिक कार्यका लागि आर्थिक सहयोग गरिएको छ।

त्यसमध्ये गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि ५५ लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ, गणेशधाममा गणेश मन्दिर निर्माणका लागि पाँच लाख १७ हजार चार सय ४८ रुपैयाँ, सशस्त्र प्रहरी बल कुरिनटारलाई ट्रमा सेन्टर निर्माणका लागि तीन लाख रुपैयाँ आर्थिक सहयोग गरिएको छ। यस्तै, नेपाल आदिवासी जनजाति महासंघ चितवनको भवन निर्माण गर्न एक लाख ५० हजार, राष्ट्रिय आधारभुत माविलाई भौतिक पूर्वाधार बनाउन एक लाख, जिल्ला प्रशासन कार्यालयमा उद्यान बनाउन एक लाख, जिल्ला प्रहरी कार्यालयमा विश्रामस्थल बनाउन दुई लाख, ट्राफिक जनचेतनाका लागि ४० हजार, नेवाःपुच नारायणगढलाई ७५ हजार र नारायणी कला मन्दिरलाई ७५ हजार रुपैयाँ आर्थिक सहयोग गरिएको छ।

रंगशाला निर्माणमा दिइएको सहयोगलाई वृद्धि गरेर एक करोड रुपैयाँ पु-याइने संयोजक प्रधानले बताए। आर्थिक सहयोगसहित महोत्सव सञ्चालनमा दुई करोड ७६ लाख ५४ हजार तीन सय २५ रुपैयाँ खर्च भएको छ। सबै खर्च कटाएर ६७ लाख ९९ हजार सात सय ९१ रुपैयाँ बचत भएको प्रधानले बताए। महोत्सवमा स्टल भाडाबापत ८९ लाख ८३ हजार पाँच सय ५०, प्रवेश टिकटबाट एक करोड २३ लाख सात सय ९६, फन पार्क कार्यक्रमबाट ७० लाख, प्रायोजकबाट ५४ लाख ७५ हजार नौ सय ३३, स्मारिका विज्ञापनबाट तीन लाख आठ सय रुपैयाँ आम्दानी भएको प्रधान बताउँछन्। १० दिनसम्म चलेको महोत्सव करिब २५ लाख दर्शकले अवलोकन गरेका थिए। महोत्सव अवधिभर करिब २५ करोड रुपैयाँ बराबरको कारोबार भएको उनले बताए।

महोत्सवमा कृषि, स्वास्थ्य, पर्यटन, शिक्षा, सूचना तथा सञ्चार प्रविधि, अटोमोबाइल्सलगायत पाँच सय ७१ स्टल राखिएका थिए। महोत्सवमा भएको आम्दानीले मनोरञ्जन करबापत भरतपुर महानगरपालिकालाई तीन लाख ५० हजार र आयकर १६ लाख ९९ हजार नौ सय ४७ रुपैयाँ भुक्तानी गरिएको संयोजक प्रधानले बताए। यस्तै, प्रत्येक स्टलको १० प्रतिशतका दरले बहाल कर आठ लाख ९५ हजार ९५ रुपैयाँ भरतपुर महानगरपालिका र प्रवेश टिकटको १३ प्रतिशत रकम आठ लाख ६९ हजार एक सय ७० रुपैयाँ आन्तरिक राजस्व कार्यालयलाई बुझाइएको छ।

उद्योग वाणिज्य संघ चितवन, भरतपुर महानगरपालिका र जिल्ला समन्वय समिति चितवनले संयुक्त रुपमा महोत्सवको आयोजना गरेका थिए। महोत्सवमा नेपाल भ्रमण वर्ष २०२० लाई टेवा पु¥याउन चितवनका सातवटै स्थानीय तहमा रहेका ५० वटा पर्यटकीय गन्तब्यको तस्विर र विवरणसहितको चितवन पर्यटन निर्देशिका विमोचन गरिएको थियो। निर्देशिका नेपाली र अंग्रेजी भाषामा प्रकाशन गरिएको छ। चितवन महोत्सव २०५३ देखि हरेक दुई वर्षको अन्तरालमा आयोजना हुँदै आएको छ।

प्रकाशित: १२ जेष्ठ २०७६ ०२:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App