coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

बुधबारबाट तातोपानी नाका आंशिक सञ्चालनमा


सिन्धुपाल्चोक - चीन जोड्ने उत्तरको मुख्य व्यापारिक तातोपानी नाका आगामी बुधबार (जेठ १५) बाट पुनः सञ्चालनमा आउने भएको छ। चार वर्षदेखि बन्द नाका सञ्चालनमा ल्याउन दुवैतर्फका सरकार अन्तिम तयारीमा जुटेका छन्। व्यापारिक कारोबारसहित नाका सञ्चालनमा ल्याउन लागिएको उद्योग तथा वाणिज्य मन्त्रालयका प्रवक्ता नवराज ढकालले बताए। ‘चीन सरकारले बुधबार तातोपानी सुक्खा बन्दरगाहलगायत पुनर्निर्मित भौतिक संरचना हस्तान्तरण गर्दैछ,’ मन्त्रालयका सहसचिव रहेका ढकालले भने, ‘त्यसै दिनबाट व्यापारिक कारोबारसहित नाका सञ्चालनमा आउँछ।’

चीनले हस्तान्तरण तयारी अन्तिम चरणमा पु¥याएको जानकारीसमेत उनले दिए। मन्त्रालयका अनुसार चीन सरकारको सहयोगमा निर्मित बन्दरगाहबाट व्यापारिक कारोबार सञ्चालनमा आउनेछ। २०७२ वैशाख १२ गतेको भूकम्पपछि यो नाका बन्द रहँदै आएको छ। २०७३ असारको भोटेकोसी बाढीले नाकाको भौतिक संरचना क्षतिग्रस्त बनाएको थियो। त्यसपछि नाका पुनः सञ्चालनमा आउनेमा द्विविधा बढाएको थियो।

मन्त्रालय स्रोतका अनुसार बुधबारबाट आंशिक रुपमा मात्र नाका सञ्चालनमा ल्याउन लागिएको हो। केही काम बाँकी भएकाले नाका पूर्ण रुपमा सञ्चालनमा आउन अझै एक महिना लाग्नेछ। ‘लामो समयदेखि बन्द नाका खुलेको सन्देश दिन तत्काललाई आंशिक सञ्चालनमा ल्याउन लागिएको हो,’ एक अधिकारीले भने। उनका अनुसार आउँदो असार ५ गतेदेखि नाका पूर्ण रुपमा सञ्चालनमा आउँछ।

उद्योग तथा वाणिज्य सचिव केदारबहादुर अधिकारीले आगामी जुन २० (असार ५) औपचारिक रुपमा नाका सञ्चालन आउने बताए। ‘त्यसपछि पूर्ण रुपले व्यापारिक कारोबार सञ्चालनमा ल्याउने प्रयास गर्छौं,’ उनले भने। चिनियाँ राजदूतावासले बिहीबार मात्र राजधानीमा पत्रकार सम्मेलन गरेर मर्मत, सम्भारको काम सकिएकाले नाका सञ्चालनमा ल्याउन लागिएको बताएको थियो।

तातोपानी नाकामा केही काम बाँकी भएकाले पूर्ण रुपमा सञ्चालनमा आउन अझै एक महिना लाग्नेछ। लामो समयदेखि बन्द नाका खुलेको सन्देश दिन तत्काललाई आंशिक सञ्चालनमा ल्याउन लागिएको हो।

त्यसअघि, यसै साता मात्र नेकपा नेता तथा सिन्धुपाल्चोकका सांसद अग्निप्रसाद सापकोटासँगको भेटमा नेपालका लागि चिनियाँ राजदूत होऊ यान्छीले बन्दरगाह लगायत संरचना मे २९ (बुधबार) मा हस्तान्तरण गरेर नाका सञ्चालनमा ल्याउन लागिएको बताएकी थिइन्। ‘नेपाल–चीनको सेतु रहेको तातोपानी नाका सञ्चालनमा ल्याउन हतारिएका छौं,’ राजदूतको भनाइ उद्धृत गर्दै नाका पुनः सञ्चालनको अभियन्ता रहेका नेता सापकोटाले भने।

हस्तान्तरणको दिन ऊन पठाएर नाका खुलेको सन्देश दिने तयारीमा चीन जुटेको छ। ‘त्यसको लागि चिनियाँ पक्षले सोमबार ठूला क्षमताका चारवटा ढुवानी साधन खासा पठाउन भनेको छ,’ भन्सार स्रोतले बतायो। मितेरी पुल बनिनसकेकाले तत्काललाई आंशिक रुपमा नाका सञ्चालनमा ल्याउन लागिएको हो। अन्तिम ढलान भइरहेको पुल सञ्चालनयोग्य हुन अझै केही साता लाग्छ। सुक्खा बन्दरगाहमा पनि आन्तरिक काम गर्न बाँकी नै छ। असार ५ अघि सबै काम सक्ने समझदारी बनेको छ।

हालको तातोपानी भन्सारको झण्डै ६ किलोमिटर तल लार्चामा बनेको बन्दरगाहबाट व्यापारिक कारोबार सञ्चालनमा आउनेछ। नेपालको पाँचौं यो बन्दरगाह नेपाल–चीन सीमा नाकाको भने पहिलो हो। यसअघि काँकडभित्ता, भैरहवा, वीरगन्ज र विराटनगरमा सुक्खा बन्दरगाह सञ्चालनमा छन्। चीन सरकारको करिब एक अर्ब २० करोड रुपैयाँ (८.६२ करोड युआन) सहयोगमा करिब ९० रोपनी क्षेत्रफलमा अन्तर्राष्ट्रिय मापदण्ड अनुरुपको बन्दरगाह बनेको हो।

लिपिङ बजारदेखि बन्दरगाह स्थलसम्मको अरनिको राजमार्ग स्तरोन्नति, बन्दरगाह पुग्न भोटेकोसी नदीमा मोटरेबल पुल र बन्दरगाह निर्माण कार्य एकै प्याकेजमा चीन आफैंले गरेको हो। बन्दरगाहमा भन्सार कार्यालय, पशु र कृषि क्वारेन्टाइन, गोदाम घर, जाँचपास यार्ड, चेक पोस्ट, बैंक र  आवाससहितको संरचना छन्। एक सय ५८ ठूला कन्टेनर राखेर जाँचपास गर्न सकिने क्षमताको गोदाम घर बनेको छ। ६० देखि सय मेट्रिक टन सामग्री एकैपटक तौलिने यन्त्र बन्दरगाहमा रहने छ।

आवागमनका लागि नभएर सामग्री ढुवानी गर्ने प्रयोजनको रुपमा मात्र नाका सञ्चालनमा ल्याउन लागिएको हो। सुरक्षा कारण दर्शाउँदै चीन आवागमन बन्दै गराउने अडानमा छ। आवागमन बन्द गराउने सर्तमा चीन नाका खुलाउन तयार भएको स्रोत बताउँछ। ‘चीनले तातोपानीलाई चीनविरोधी र स्वतन्त्र तिब्बत पक्षमा गतिविधि हुने नाका रुपमा लिने गरेको छ,’ चीन मामला जानकारहरु बताउँछन्।

नाका सञ्चालनमा आउने भएपछि कर्मचारीहरु तातोपानी खटाइ सकिएको भन्सार विभागका महानिर्देशक रामेश्वर दङ्गालले बताए। उनका अनुसार बन्दरगाह भन्सारमा फर्निचर र कम्प्युटर जडानको काम भइरहेको छ। ‘विभागकको अनुरोधमा एउटै प्याकेजमा फर्निचरका सामग्री र कम्प्युटर चीनले नै उपलब्ध गराएको हो,’ उनले भने।

बन्दरगाहमा भन्सार प्रणाली जडान अझै भएको छैन। यसका लागि अप्टिकल फाइबर नै आवश्यक पर्छ। तातोपानीसम्मै पुगेको फाइबर सञ्जाल बाढी र पहिरोले बाह्रबिसेबाट माथि अवरुद्ध छ। ‘फाइबरको काम गर्न टेलिकमलाई आग्रह गरेका छौं,’ महानिर्देशक दङ्गालले भने, ‘प्रणाली जडान केही दिनको मात्रै काम हो।’

प्रकाशित: १२ जेष्ठ २०७६ ०२:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App