७ वैशाख २०८१ शुक्रबार
समाज

स्थलगत अनुसन्धान अन्तिम चरणमा

पाँचथर - सोमबार राति मिक्लाजुङ गाउँपालिकाको आरुबोटेमा दुई घरका नौजनाको हत्या भएको घटनाबारे भइरहेको स्थलगत अनुसन्धान अन्तिम चरणमा पुगेको प्रहरीले जनाएको छ। रवि बजारमा रहेको इलाका प्रहरी कार्यालयलाई केन्द्र बनाएर केन्द्रीय अनुसन्धान ब्युरो, प्रदेशअन्तर्गतको विशेष प्रहरी र जिल्ला प्रहरीको टोली घटनास्थल आसपासका क्षेत्रमा अनुसन्धानका लागि खटिएको छ। घटनाबारे बढेको चौतर्फी चर्चाका कारण सुरक्षा चिन्ता बढेसँगै अनुसन्धान प्रभावकारी बनाउने भन्दै खटाइएको सो विज्ञ टोली फर्कने तयारीमा छ।

घटनास्थल मिक्लाजुङ–३ को आरुबोटे र आसपासका क्षेत्रको स्थलगत अनुसन्धान, हत्यामा प्रयोग भएका सामग्री संकलन, छिमेकी, आफन्तलगायत विभिन्न व्याक्तिसँगको सोधपुछ तथा प्राविधिक परीक्षणमा प्रहरी जुटेको पाँचथरका प्रहरी प्रमुख डिएसपी नरेन्द्र कुवँरले बताए। हालसम्मको अनुसन्धानमा हत्या मानबहादुर माखिमले गरेको भन्ने निष्कर्षनजिक प्रहरी पुगेको छ। माखिम घटनास्थलभन्दा झन्डै २५ किलोमिटर टाढा कम्फु खोलामा झुन्डिएको अवस्थामा फेला परेका थिए। उनी हत्या भएका बमबहादुर फियाकका कान्छा ज्वाइँ थिए। बमबहादुरकी छोरी मनकुमारी फियाकसँग केही वर्षदेखि उनको असमझदारी हुँदै आएको पाइएको छ। पारिवारिक किचलोकै कारण उक्त हत्याको घटना भएको प्रहरी विश्लेषण छ।

‘यहाँ रहेर गर्नुपर्ने काम शनिबार साँझसम्ममा सकिन्छ। तर अनुसन्धानका अरू कामहरू अझै बाँकी रहन्छन्। फरेन्सी टेस्ट, पोस्टमार्टम रिपोर्ट र अन्य पक्षकहरूको अनुसन्धान हुँदै जानेछ,’ उनले भने, ‘हत्यामा मनबहादुरकै संलग्ता देखिन्छ। घटनास्थलआसपामा भेटिएका उनले प्रयोग गरेका कपडालगायत सामग्री, उनको मानसिक अवस्थाको अध्ययन, मोबाइल लोकेसनको डिटेललगायत हेर्दा उनकै संलग्नता देखिन्छ। अरू साथी थिए कि थिएनन् भन्ने अनुसन्धान भइरहेको छ।’

भेटिएका थप प्रमाणहरू मनबहादुरसँगै सम्बन्धित रहेको प्रहरी अधिकारीहरूले बताएका छन्। मोबाइल लोकेसन हेर्दा घटना भएको रात घटनास्थलआसपासमा मनबहादुरको मोबाइल देखिएको पाइएको छ। उनी केही समयदेखि डिप्रेसनमा रहेको पाइएको प्रहरीले जनाएको छ। उनका अनुसार पत्नी मनकुमारीसँगको वैवाहिक सम्बन्ध सुमधुर नभएपछि उनी तनावमा रहँदै आएको अनुसन्धानमा खुलेको छ। अनुसन्धानका क्रममा विभिन्न पाटा केलाइएको जानकारी दिँदै प्रहरीले हालसम्म १६ जनासँग सोधबुझ गरिएको जनाइएको छ। प्रयोगशालामा ब्लड म्याचिङ, मोबाइल सिम टेस्ट, पोस्टमार्टम रिपोर्टको अध्ययनलगायत कामहरू बाँकी छन्।

‘मानबहादुरले घरबार पनि भएन, पैसा पनि कमाइएन भन्दै गुनासो गर्ने गरेको उनका निकटस्थहरू बताउँछन्। उनी केही वर्ष मलेसिया बसेर आएको देखिन्छ। बीचमा ससुरालीसँग आर्थिक कारोबारको किचलो समेत देखिन्छ,’ कुँवरले भने। एक वर्षअगाडि पत्नी र ससुराली पक्षसँग विवाद भएपछि रवि प्रहरी चौकीमा मिलापत्र गराइएको पाइएको छ। सम्बन्ध विच्छेद गर्ने सहमतिअनुसार पाँचथर जिल्ला अदलातमा प्रक्रिया अघि बढेको पाइएको प्रहरीले बताएको छ। मनबहादुरले आत्महत्या गरेपछि घटनापूर्वका विभिन्न विषय ओझेलमा परेको देखिन्छ। कपितयले एक्लैले हत्या गर्न सक्यो भन्ने प्रश्न उठाउने गरेका छन्। अनुसन्धानले हालसम्म हत्यामा मनबहादुरकै संलग्नत रहेको प्रहरीको ठम्याइ छ।

यसैबीच, नुनमा सिसा मिसाइएको घटनासम्बन्धी घटना हल्लाभन्दा फरक देखिएको अनुसन्धानले देखाएको प्रहरीको भनाइ छ। हत्या भएका धनराज शेर्माको घरमा वैशाख ३० गते थुक्पा खाजा खाएका ११ मध्ये आठजना बिरामी भएका थिए। पछि हेर्दा नुनमा सिसा मिसिएको पाइएको बताइएको थियो। खाजा खाएका बिरामीको फिदिममा उपचार भएको थियो। यो घटना मानबहादुरसँग जोडिएको र प्रहरीले त्यसबारे राम्रोसँग अनुसन्धान नगरेको भन्दै विभिन्न टिप्पणी सार्वजनिक भइरहेका छन्। आफन्तहरूले नुनमा सिसा मिसिएको विषयलाई प्रहरीले गम्भीरताका साथ नलिएको आरोप लगाएका छन्। तर प्रहरीले अनुसन्धानका क्रममा खाजा खाएर बिरामी भएको घटना हुँदा मनबहादुर सो क्षेत्रमा नरहेको खुल्न आएको डिएसपी कुँवरले जानकारी दिए।

प्रकाशित: १२ जेष्ठ २०७६ ०१:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App