८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

एनडिएको संसदीय दलको नेतामा मोदी सर्वसम्मत चयन

राष्ट्रपति रामनाथ कोविन्दसँग भेट गर्दै एनडिए गठबन्धनका प्रतिनिधि। तस्बिर: एजेन्सी

नयाँ दिल्ली – भारतीय जनता पाटी (भाजपा) तथा भाजपा नेतृत्वमा रहेको राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन (एनडिए)को संसदीय दलको नेतामा भाजपा नेता तथा निवर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी सर्वसम्मत रूपमा चुनिएका छन्। भाजपा अध्यक्ष अमित शाहले मोदी संसदीय दलको अध्यक्षमा चुनिएको जानकारी दिएका छन्।

भारतको तल्लो सदन लोकसभा निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा) ले प्रचण्ड बहुमत प्राप्त गरेपछि प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार राष्ट्रपतिलाई भेट गरी राजीनामाको प्रस्ताव गर्दै नयाँ प्रधानमन्त्री चयनका लागि मार्गप्रशस्त गरेका थिए।

भारतीय संसदीय परम्पराअनुसार बहुमत प्राप्त दलको संसदीय दलको नेतालाई प्रधानमन्त्री बनाइने भएकाले निवर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीलाई संसदीय दलको नेता चयन गरिएको बताइएको छ।भाजपा नेता मोदीलाई भाजपाको संसदीय दलको नेताका रूपमा अध्यक्ष अमित शाहले प्रस्ताव गरेका थिए भने नेता राजनाथ सिंहले भाजपा संसदीय दलको तर्फबाट प्रस्तावको समर्थन गरेका थिए।

नेता सिंहले भाजपा तथा एनडिएको संसदीय दलको नेताका रूपमा मोदीको नाम सर्वसम्मत चयन भएको घोषणा गरेको एनडिएका नेतालाई उद्धृत गर्दै भारतीय समाचार एजेन्सी एएनआईले जनाएको छ।अप्रिल ११ देखि मे १९ सम्म गरी विभिन्न सात चरणमा लोकसभाको पाँच सय ४२ सिटका लागि भएको निर्वाचनमा नरेन्द्र मोदीको दल भाजपा एक्लैले तीन सय तीन सिट प्राप्त गरेको भारतीय निर्वाचन आयोगले जानकारी गराएको छ।

संसद्मा बहुमत पुग्नका लागि दुई सय ७२ सिटको आवश्यकता हुन्छ भने एनडिए गठबन्धनले प्राप्त गरेको सिट हेर्दा दुईतिहाइ पुग्नका लागि केबल नौ सिट कमी हो। भाजपाको नेतृत्वमा रहेको एनडिए गठबन्धनको लोकसभामा तीन सय ५२ सिट पुगेको छ।

त्यसैगरी लोकसभामा दोस्रो ठूलो दल भारतीय नेसनल कंगे्रस (कंग्रेस–आई) ले ५२ सिट ल्याएको छ भने उसको नेतृत्वमा रहेको गठबन्धन, युनाइटेड प्रोग्रेसिभ एलायन्स (युपिए) ले ९१ स्थानमा विजय हासिल गरेको छ। भाजपा र कंग्रेसबाहेक अन्य दल तथा स्वतन्त्रले कुल ९९ सिट ल्याएका छन्।

भारतीय निर्वाचन आयोगका तर्फबाट निर्वाचन परिणामको औपचारिक जानकारी शनिबार भारतीय राष्ट्रपति रामनाथ कोविन्दलाई भेटी प्रमुख निर्वाचन आयुक्त सुनिद अरोराले गराएका छन्। निर्वाचन आयोगले राष्ट्रपतिसमक्ष औपचारिक जानकारी गराएसँगै अब नयाँ प्रधानमन्त्रीका लागि बाटो खुलेको छ र भाजपा तथा एनडिएको संसदीय दलको नेता चुनिएकाले मोदी नै दोस्रो कार्यकालका लागि प्रधानमन्त्री दोहोरिने लगभग पक्कापक्कीजस्तै रहेको छ।

ट्रम्पद्वारा मोदीलाई ‘महामानव’ को संज्ञा
वासिङ्टन, जेठ ११ (एजेन्सी)– दोस्रो कार्यकालका लागि प्रधानमन्त्री हुने निश्चित भएपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘महामानव’ र ‘नेता’को संज्ञा दिएका छन्। हालै सम्पन्न लोकसभा निर्वाचनको अन्तिम मतपरिणाम घोषणा भएको भोलीपल्ट शनिबार बधाई दिँदै ट्रम्पले मोदीको प्रशंसा गरेका हुन्। उनले सामाजिक सञ्जाल ट्विटर र टेलिफोनमार्फत् मोदीलाई बधाई दिएको भारतीय समाचार एजेन्सी एएनआईले उल्लेख गरेको छ।

मोदी नेतृत्वको एनडिए गठबन्धनले १७औं लोकसभा निर्वाचनमा तीन सय ५२ सिटमा जित हासिल गरेको छ भने उनको पार्टी भारतीय जनता पार्टीले मात्रै तीन सय तीन सिट जित्न सफल भएको छ। जुन नतिजा सन् २०१४ मा भन्दा २२ सिट बढी भएको निर्वाचन आयोगले जनाएको छ।

मोदी पुनःप्रधानमन्त्रीमा चुनिन लागेकोमा ट्रम्पसँगै उनका अन्य सल्लाहकारले पनि ट्विटरमार्फत् बधाई दिएका छन्।
राष्ट्रपति ट्रम्पले विशाल जितका लागि भाजपा र मोदीलाई बधाई ज्ञापन गर्दै भारत–अमेरिका सम्बन्ध थप प्रगाढ बन्ने विश्वास व्यक्त गरेका छन्। प्रधानमन्त्री मोदीलाई जापान, चीन, क्यानडालगायत विश्वका राष्ट्र प्रमुख र नेताहरुले  बधाई तथा शुभकामना व्यक्त गर्ने क्रम जारी छ।

लोकसभा विघटन
भारतका राष्ट्रपति रामनाथ कोविन्दले शनिबार तल्लो सदन अर्थात् भारतको लोकसभा विघटन गरेका छन्। भारतमा हालै भएको १७औं लोकसभा निर्वाचनको अन्तिम नतिजा औपचारिक रूपमा घोषणा भएको भोलीपल्ट राष्ट्रपतिले शनिबार लोकसभा विघटनको घोषणा गरेका हुन्।

पछिल्लो लोकसभा निर्वाचनमा भाजपा एक्लैले तीन सय तीन सिट ल्याएको छ। एनडिए गठबन्धनमा रहेका अन्य दलमध्ये शिव सेनाले १८, जनता दल युनाइटेड (जेडियू)ले १६, लोक जनशक्ति पार्टीले छ, अकाली दल र अप्ना दलले दुई÷दुई सिट तथा झारखण्ड विद्यार्थी संघ, लोकतान्त्रिक पार्टी, मिजो नेसनल फ्रन्ट र नेसनल पिपल्स पार्टीले एक एक सिट जितेका छन्। त्यसैगरी भाजपाको समर्थन रहेका एक जना स्वतन्त्र उम्मेदवारले पनि निर्वाचन जितेका छन्।

विपक्षीको गठबन्धनतर्फ भने भारतीय राष्ट्रिय कंग्रेसले ५२ सिटमा मात्रै जित हासिल गरेको छ। अघिल्लो पटकको लोकसभा निर्वाचनको तुलनामा यो पनि आठ सिट बढी भएको निर्वाचन आयोगले जनाएको छ। कंग्रेस नेतृत्वको युपिए गठबन्धनले कुल ८७ निर्वाचन क्षेत्रका विजयी भएको छ। यस गठबन्धनमा आवद्धमध्ये द्रविदा मुन्नेत्र काझागम (डिएमके)ले २३, नेसननलिस्ट कंग्रेस पार्टी (एनसिपी)ले ५, इन्डियन युनियन मुस्लिम लिगले तीन सिट जितेका छन्।

त्यसैगरी रिभोलुसनरी सोसलिस्ट पार्टी (आरएसपी), केरला कंग्रेस–एम (केसी–एम), झारखन्ड मुक्ति मोर्चा (जेएमएम) र विदुथलाई चिरुथाइगल काट्ची (भिसिके)ले एक एक सिटमा जित हासिल गरेका छन्।

प्रकाशित: १२ जेष्ठ २०७६ ०१:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App