८ वैशाख २०८१ शनिबार
राजनीति

‘अब न जनताले ओलीको बोली पत्याउछन्, न यिनको फिल्म चल्छ’

बुटवल– नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले ओली सरकारलाई फ्युज उडेको बत्तिसँग तुलना गरेका छन्। नेपाली काँग्रेस बुटवल उपमहानगर समितिको जागरण अभियानलाई शनिबार बुटवलमा सम्बोधन गर्दै नेता भण्डारीले फ्युज उडिसकेको ओली सरकारले देश र जनताको हितमा केही गर्न नसक्ने बताए। 

रेल, पानीजहाज र घरघरमा ग्यास पाइपलाइन पुर्याउँछु भन्ने सरकारले अहिले सडकमै जहाज अवतरणका कुरा गरेर जनता झुक्काइरहेको उनको भनाई छ। ‘काँग्रेसले सुरु गरेका योजना र कार्यक्रम बाहेक ओली सरकारले अहिलेसम्म कुनै पनि नयाँ र प्रभावकारी योजना ल्याएको छैन’, नेता भण्डारीले भने। जनता झुक्काउने फिल्म चल्न छोडेपछि पोलपोलबाट निर्मलाको पोष्टर हटाएर प्रम ओलीकै पोष्टर टाँसिएको उनले टिप्पणी गरे। निर्मलाका हत्यारालाई सरकारले संरक्षण गरिरहेको उनको दाबी छ। ‘अब न जनताले ओलीको बोली पत्याउछन, न यिनको फिल्म चल्छ’, नेता भण्डारीले भने। भ्रष्टाचार, हत्याहिंसा, कर बृद्धि, महंगीजस्ता कुराबाट आजित जनताले सरकारको बिकल्प खोज्न सुरु गरिसकेको उनको भनाइ थियो।

‘जनताको करबाट हेलिकप्टर चढेर कोदो फलेको हेर्न गाँउ पुग्ने सरकारले किसानका समस्या के बुझछ? यिनबाट जनताले के आशा गर्ने?’ नेता भण्डारीले भने। ‘हिजो राष्ट्रबादका नाममा हिन्दी फिल्म हेर्न रोक लगाउने कम्युनिस्ट दलालहरु आज नागरिकता बेचेर जनता र राष्ट्रलाई धोका दिइरहेका छन्’, नेता भण्डारीले भने। 

सरकारका यस्तै क्रियाकलापको बिरुद्ध काँग्रेस एक भएर राष्ट्रियता, लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाका लागि अगाडि बढेको नेता भण्डारीले जानकारी दिए।

कार्यक्रममा बोल्दै जागरण अभियानका संयोजक नेता डिल्ली चौधरीले अभियानले नेता कार्यकर्तालाई एउटै सुत्रमा बाँधेको बताए।

जागरण अभियानमा सहभागी स्थानीय नेता कार्यकर्ताले काँग्रेसलाइ बलियो बनाउन तरुण, युवाहरुलाइ परिचालन गर्नु पर्ने, केन्द्र, प्रदेश र स्थानीय सरकारको बेथिति र भ्रष्टाचार बढेकाले पार्टीले शसक्त खबरदारी गर्नु पर्ने लगायतका सुझाव राखेका थिए। सहभागीले बुटवलबाटै एकताको सन्देश दिनेगरी अभियान अगाडि बढेको भन्दै नेतृत्व तहमा बलियो एकता आवश्यक रहेको औल्याए।

प्रकाशित: ११ जेष्ठ २०७६ १४:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App