coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

ओलीलाई नेपालको सुझावः विवादास्पद विधेयक नल्याउनुस्, नराम्रा कुराबाट जोगिनुस्

नेपालगन्ज– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले सोचेर काम नगर्दा सरकारका निर्णय विवादास्पद बन्न पुगेको बताएका छन्। काम गर्ने क्रममा सरकारले सोचेर मात्र गर्नुपर्ने उनको सुझाव छ। 

प्रेस संगठन बाँकेले शनिबार नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाटमा पूर्वप्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता नेपालले भने, ‘अहिले पत्रकारसँग जोडिएको प्रेस विधेयक आउँदाखेरी धेरै विवादास्पद बन्न पुग्यो, यस्तो विवादास्पद ढंगबाट विधेयक ल्याउने कुराहरु नहोस्, धेरैको राय, सुझाव लिएर मात्रै यसलाई अगाडि बढाइयोस् भन्ने कुरामा ध्यान पु-याउनुपर्छ।’ 

विधेयकमा कहाँ–कहाँ सुधार्न सकिन्छ, त्यसको निम्ति सबैको राय, सुझाव लिएर त्यसलाई परिमार्जित गरी शंशोधन गरेर सर्वस्वीकार्य बनाउनुपर्ने उनले जोड दिए। सरकारले काम गर्न खोज्दा कतिपय त्रुटी गरेकाले अझै पनि सच्याएर अगाडि बढ्ने समय रहेको नेपालको सुझाव छ। ‘सरकारले काम गर्न खोजेको छ, केही कामहरु भएका पनि छन्, त्रुटी पनि भएका छन्’, उनले भने, ‘कमी कमजोरीको पहिचान गर्ने अनि सुधार्ने तरिका अबलम्बन गर्ने र सुधारेर परिणाममुखी ढंगले अघि बढ्ने काम गर्नुपर्छ।’ छिमेकी देश भारतमा भाजपाले जनताको मन जितेर त्यत्रो सिट जितेको पुनःस्मरण गराउँदै उनले भने, ‘हामीले पनि कसैका कुरा सिक्नुप¥यो, नराम्रा कुराबाट जोगिनुप¥यो।’

कम्युनिस्ट पार्टी सरकारमा आएपछि र शक्तिशाली भएपछि कतिपय दलहरुले बिरोधका कुरा मात्रै अगाडि सारेको भन्दै विरोधका निम्ति मात्र विरोध गर्ने काम गर्न नहुने नेपालले बताए। ‘आफ्नो पालामा गतिलो काम गर्न सकिएन भन्ने कुरालाई सहज रुपमा स्वीकार गर्ने र हाम्रो गल्ती नदोहो¥याउनुस् भन्ने सुझाव दिने काम गरे राम्रै होला, तर राम्रो काम ग¥यो कि भनेर छट्पटाउनु चाहीँ हुँदैन, राम्रो काम गर्न दिनुपर्छ, त्यहाँ बाधा अवरोध खडा गर्न दिनु हुँदैन’, उनले थपे।

पूर्वप्रधानमन्त्री नेपालले वर्तमान सरकारले जनअपेक्षा अनुसार नै बजेट ल्याउनेमा आफू आशावादी रहेको बताए। नेपालले भने, ‘हामी सबै प्रतिक्षारत छौं, पार्टीको सचिवालयमा यससम्बन्धमा छलफल पनि भएको छ, सांसदको राय÷सुझाव लिने काम भएका छन्, विज्ञले पनि सल्लाह सुझाव दिनु भएको होला, सबै सुझावलाई ध्यानमा राखेर, बजेटको सिमालाई ध्यानमा राखी बजेट आउने हामीले आशा राखेका छौं।’ वरिष्ठ नेता नेपालले देशमा आगामी वर्ष तिब्र आर्थिक वृद्धि हुने विश्वास गरे। 

अर्को प्रसंङ्गमा उनले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीप्रति संकेत गर्दै पार्टीभित्र विधि र पद्धतिलाई बसाल्न आफूले खबरदारी गरिरहेको बताए। ‘माधव नेपाल कसैसँग डराउँदैन, विधी र पद्धतिको निम्ति दृढताका साथ उभिने मान्छे हुँ, पार्टीलाई विधि र प्रक्रियामा ल्याउन समय लाग्यो, बिग्रेको बानी सपार्न गाह्रो हुँदोरहेछ’, उनले भने, ‘जिल्ला कमिटीमा ठाउँ–ठाउँमा त्यस्ता गुनासा आइरहेका छन्, पार्टीले जारी गरेको सर्कुलर शत प्रतिशत पालना गर्नुपर्छ, पारदर्शी र विधिसंगत ढंगबाट काम गर्नुपर्छ, कहिले अल्पमतमा कहिले बहुमतमा जान तयार हुनुपर्छ।’ 

पार्टीको एकीकरणको प्रक्रिया माथिबाट क्रमश तलतिर क्रमिक रुपले गइरहेको दाबी गर्दै नेपालले एकीकरणको काम केन्द्रीय तहमा पनि केही गर्न बाँकी रहेको सुनाए। ‘पोलिटब्युरोलाई हामीले एकीकरण गर्न बाँकी छ, त्यसैगरी विभागहरुलाई एकीकरण गर्न बाँकी छ, केन्द्रीय निकायलाई एकीकरण गर्न बाँकी छ, कार्य विभाजन गर्न बाँकी छ’, उनले थपे, ‘यसैबीचमा हामीले केन्द्रको सचिवालय, स्थायी समिति, केन्द्रिय कमिटी गठन गरिसकेपछि जिल्ला कमिटीको क्रम र जनवर्गीय संगठनको क्रममा प्रवेश गरेका छौं, तलतिर क्रमशः टुंगिदै गएको छ।’ 

नेकपाले जिल्ला–जिल्लामा राजनीतिक गतिविधीलाई गति दिएर राजनीतिक माहोल सिर्जना गरेको जिकिर गरे। उनले भने, ‘उत्साह एक हदसम्म जगाएको छ, हामी छिट्टै सचिवालयको बैठक बस्दैछौं, सम्भव त यही जेठ १८ गते नै बसौला।’ पार्टीले मेचीदेखि महाकालीसम्मको अभियान लिएर केन्द्रिय नेताहरु जनता र कार्यकर्ताको माझमा जाने वरिष्ठ नेता नेपालले बताए। त्यसले बेग्लै किसिमको तरंग पैदा गर्ने उनको धारणा छ। अभियानले पार्टी एकताको सन्देश दिने उनले विश्वास गरे। पार्टीले सरकारको कामको पनि समिक्षा, मूल्यांकन गर्नुपर्ने नेपालले जोड दिए। 

पत्रकारले सोधेको जिज्ञासामा उनले सांसदलाई करोडौंको बजेट बाँड्न नहुनेमा जोड दिदै त्यसरी रकम बाँडिए ठूलो आर्थिक अनियमितता हुने संकेत गरे।

प्रकाशित: ११ जेष्ठ २०७६ ०७:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App