coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्य

रञ्जुको सन्देश

ललितकला पुरस्कार ०७६ बाट पुरस्कृत भएकी मिथिला कलाकार रञ्जु यादव सन्देशमूलक चित्र बनाउन सिपालु छिन्। नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले आर्ट काउन्सिल बबरमहल, काठमाडौंमा नवौं राष्ट्रिय ललितकला प्रदर्शनी गरिरहेको छ। त्यहाँ विभिन्न विधाको कला राखिएका छन्। लोककला विधामा यसपालि राष्ट्रिय ललितकला पुरस्कार–०७६ बाट मिथिला चित्रकार रञ्जु यादव पुरस्कृत भइन्।

यादवले ‘सेभ डटर, एजुकेट डटर’ शीर्षकमा छोरीको भ्रुण हत्यालाई निरुत्साहित गर्ने सन्देशमूलक चित्र बनाएकी छिन्। प्रदेश नं. २ को सरकारले चलाएको ‘बेटी पढाऊ, बेटी बचाऊ’ भन्ने अभियानलाई सहयोग पु¥याएको छ उनको चित्रले।  यो चित्रमा महिला र पुरुषले गर्भवतीको भ्रुणहत्या गर्ने प्रयास गरिरहेका छन्। तर, त्यो गर्भमा संसार थाम्ने छोरी छिन्। कलाकारले छोरीहरू घरव्यवहार चलाउन, नेता बन्न, डाक्टर बन्न, लेखक बन्न र वैज्ञानिक बन्न सक्षम छन् भन्ने देखाएकी छिन्।
समाजका विकृति, विसंगति, छुवाछुत र विभेदविरुद्ध कलामार्फत् प्रहार गर्न सफल यादवका चित्रमा सन्देश पनि हुन्छ। दाइजोको विकृति, छुवाछुत र भ्रुणहत्या सबैतिर छ। उनी मधेसी समुदायको मात्र होइन, पहाडी समुदायका महिलाले भोग्नु परेका पीडाहरू विरुद्ध पनि उभिएकी छिन्।

‘छोरीलाई पढाउनु पर्छ। जबसम्म छोरी पढेर आत्मनिर्भर बन्दैनन् तबसम्म विभेद हट्दैन’, ३२ वर्षीया कलाकार भन्छिन्, ‘महिलालाई पिँजडाको चरी बनाउनु हुँदैन। स्वतन्त्र हुन दिनु पर्छ।’ गत चैतमा काउन्सिलमै उनले ‘कलर्स अफ चेन्ज’ एकल कला प्रदर्शनी गरेकी थिइन्। त्यतिबेला २९ मिथिला चित्र राखिएको थियो। सामुहिक प्रदर्शनीहरूमा सहभागी भैसकेकी उनी वर्ष दिन अघि नेपाल आर्ट फेयर बंगलादेशमा पनि प्रतिनिधित्व गरेकी थिइन्।

मानवीय संवेदना पक्रेर विकृति एवं विसंगति विरुद्ध प्रहार गर्दै उज्यालो भविष्यका लागि संघर्षशील कलाकार हुन् रञ्जु यादव। उनी जनचेतनामूलक चित्रहरू जनकपुर र राजविराज जस्ता तराईका सहरमा पनि प्रदर्शन गर्ने योजनामा छिन्। सानैदेखि विद्रोही स्वभावकी उनी मिथिला कलाले कोठा सजाउँथिन्। बिहे भएपछि उनको कला उजागर भयो। बिहे भएको केही समयपछि श्रीमान् अमरेन्द्रसँग उनी काठमाडौंमा बस्न थालिन्। त्यही बेला कला गुरु अजित साहलाई उनीहरूले डेरामा खाना खान बोलाएका थिए। साहले टेबुलपोसको कला देखेर भने, ‘तपाई अब कागज र क्यानभासमा चित्र बनाउनुस्।’ त्यही दिनदेखि रञ्जुले क्यानभासमा चित्र बनाउन थालिन्। र, कुशल कलाकारका रूपमा स्थापित भइन्। रञ्जुका साथै अरू थुप्रै कलाहरू काउन्सीलमा जेठ २२ गतेसम्म निःशुल्क अवलोकन गर्न पाइन्छ।  
 

प्रकाशित: ११ जेष्ठ २०७६ ०६:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App