coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

डेरा भाडा

रातिको सन्नाटा र एकान्त निशाले चिमोट्दा निद्राको सिरानी लिएर सुतेको रात पनि ब्यँुझिन्छ। काठमाडौँको एकान्त गल्ली र भयावह अँध्यारो रात सबैको आँगनमा यात्रा गर्दा जसलाई पनि रात परेको अनुभवले नछोड्दो हो। बादल र जून लुकामारी खेल्दा समयको वहावमा बगेको मान्छे निद्राको न्यानो काखमा घोसेमुन्टो लाउनु स्वाभाविक हो।

रातिको नीरवमय वातावरणलाई चिर्दै अँध्यारोले मेरो कचपल्टिँदो निद्रामा बास बस्दा अचानक मेरा आँखा खुल्यो। म ब्युझेँ। मेरो मन शान्त थिएन। कताकता केके भएजस्तो  लाग्यो मलाई। कोठा अँध्यारो थियो। खाटमा पल्टेरै यताउति आँखा नचाएँु। अँध्यारोले कोठाभित्र कुनै सामान स्पष्ट देखिएनन्। फेरि आँखा बन्द गरेँ। टाउको भारी भए जस्तो लाग्यो। मनमा एक प्रकारको अनभिज्ञ पीडाको अनुभव भयो। मलाई त्यो डेरामा कति पनि बस्न मन थिएन। अचानक भित्तेघडी टिकटिक गर्दै चलेको सुनेँ। मोबाइलको लाइट बालेर बल गरेर घडीतिर लाइट देखाएँ। घडीमा दुई बजेर दस मिनेट गएको थियो।

मैले सुत्ने प्रयास गरेँ। मनमा अनौठो डर लागिरहेको थियो। कुन कुराको डर लागिरहेको थियो मलाई ? मेरो निद्रा कहाँ गएर अल्झिरहेको थियो ? आखिर म कुन तनावको सिकार भएको थिएँ ? मैले आफ्नो तनाव पत्ता लगाउने प्रयास गरेँ। म छटपटाइरहेको थिएँ। मेरो दिमागमा कुरा खेल्न थाल्यो। भोलि घरबेटीलाई कोठा भाडा तिर्नु थियो। पाँच गतेभित्र भाडा तिर्नुपथ्र्यो। भोलि भाडा बुझाउने अन्तिम दिन थियो। डेरा लिएर म काठमाडौँमा पढ्न बसिरहेको थिएँ। मेरो घर लहानमा थियो। मेरा बा सामान्य किसान थिए। म एउटा साधारण किसानको छोरो थिएँ। भाडा तिर्ने दिन आइसकेको थियो तर बाले अहिलेसम्म पैसा पठाएका थिएनन्। मेरो आवश्यकता अनुसार उनले सरसापट गरेर र धान, चामल बेचेर मलाई पैसा पठाउँथे। म पनि धेरै सोचेर चाहिने कुरामा मात्र पैसा खर्च गर्थेँ। बाको समस्या मलाई राम्ररी थाहा थियो। त्यसैले पैसाको लागि बालाई धेरै दवाव दिँदैनथेँ।

पाँच गतेभन्दा एक दिन पनि भाडा तिर्न ढिला भयो भने घरबेटी ढोका ढक्ढकाउन आइपुग्थे। बाले पैसा ढिला पठाउँथे। उनले ढिला पैसा पठाउनुको कारण थियो। उनको हातमा पैसा हुँदैन्थ्यो। पैसा जोगार गर्न एक हप्ता लाग्थ्यो। भोलि पैसा माग्न घरबेटी आइपुग्छन् भन्ने कुरा मनमा खेलेर मलाई निद्रा लागिरहेको थिएन। किनकि एक पैसा मेरो हातमा थिएन। एक हप्ता भइसकेको थियो पैसा सकिएको। तरकारी किन्ने पैसा नभएर एक हप्तादेखि जाउलो पकाएर खाइरहेको थिएँ।

कोल्टो फेर्दै केके सोच्दै म ओछ्यानमा छटपटाइरहेँ। कुन्नि कतिखेर निदाएछु। बिहान सबेरै कसैले ढोका ढकढकाइरहेको थियो। मसिनो स्वरमा कोठाभित्रबाट भनेँ, “को हो ?” मेरो आवाज सुनेर उताबाट आवाज आयो, “आज पाँच गते भइसक्यो। माथि आऊ है भाइ पैसा लिएर।” रातभरि जुन कुराले निद्रा खोसिएको थियो त्यही कुरा पहाड बनेर मेरो ढोकामा आएर उभियो। घरबेटी थिइन् उनी। त्यति कुरा भनेर उनी माथि गइन्। उनको कुरा सुनेर मैले केही जवाफ फर्काइनँ। उठेर बिहानै घरमा बालाई फोन गरेर भनेँ, “बाबू, पैसा पठ्या दे न। घरभारा तिर्नै बाँकी बाँकी छै।”  मेरा कुरा सुनेर बाले उताबाट निरास स्वरमा भने, “पैसा के जोगार नै भेल छै। जोगार हैते मातर तोरा पैसा पठ्या देवौ।”  बाको निरास स्वर सुनेर मैले पैसाको लागि बालाई दवाव दिन सकिनँ। म धेरै उदास भएँ।

सात गते भइसकेको थियो। मेरो फल्याटमा बस्ने मजस्ता अरू पनि केटा थिए। उनीहरूको समस्या पनि मेरै जस्तै थियो। सात गतेसम्म पैसा नदिएको देखेर घरबेटी सारै रिसाइन्। रिसाएको झोकमा अर्को दिन फेरि मेरो ढोका जोरले ढकढकाउँदै भनिन्, “ओ भाइ, आज सात गते भइसक्यो। किन माथि नआएको ? पैसा समयमा नतिर्ने भए डेरा सर। कोठा छोडेर जाऊ।” बेस्करी ढोका ढकढकाएको सुनेर म आफूलाई नियन्त्रण गर्न सकिनँ। ढोका खोल्दै भनेँ, “आज घरबाट पैसा पठाइदिन्छ। दिउँसो पैसा दिन आउँछु।” मेरो कुरा सुनेर उनले भनिन्, “चाँडै माथि आऊ पैसा लिएर।”

कोठा भाँडा नतिरुन्जेल पढाइमा ध्यान जाँदैन्थ्यो। मानसिक यातनाको सिकार भएको जस्तो लाग्थ्यो। घरबेटीको कचकचले मेरो छेउको कोठामा बस्ने केटाहरू एक, दुई महिनामा नै डेरा सर्थे। हाम्रो डेरामा बत्ती बाल्नको लागि सव मिटर थिएन। मुख्य मिटर मात्र थियो। हामी बहालमा बस्नेलाई बत्ती मात्र बाल्ने अनुमति थियो। विद्युत्तीय सामानहरू पङ्खा, राइस कुकर, हिटर चलाउने अनुमति थिएन। खाना पकाउन ग्याँस प्रयोग गथ्र्यौँ। महिनाको बत्तीको बिल पच्चिस सय, तीन हजार आउँथ्यो। बत्तीको बिल आएका वेलामा सबैको भागमा बराबर पैसा पर्ने गरी भाग लगाइदिन्थे घरबेटीले। सबैले बराबर पैसा तिर्नुपथ्र्यो। हामीलाई अचम्म लाग्थ्यो। हामीले कोठामा महिनाभरि एउटा बत्ती मात्र बालेका हुन्थ्यौँ तर सबैले आआफ्नो भागको बत्तीको पैसा पाँच, पाँच सय तिर्नुपथ्र्यो। छ ओटा कोठा भाडामा थियो। छ जनाले आआफ्नो भागको पाँच सयको दरले पैसा तिथ्र्यौँ। हामीले दिएको रुपैयाँ तीन हजार हुन्थ्यो। हाम्रो पैसाले बत्तीको बिल तिर्थे। घरबेटीले सित्तैमा बत्ती बाल्थे। यस्तो अन्याय देखेर हामी अति रिसाउँथ्यौँ र डेरामा बस्ने सबै जना घरबेटीलाई भन्न जान्थ्यौँ, “हामी कुनै सामान चलाएका छैनौँ। एउटा बत्ती बालेर कसरी तिर्ने पाँच सय रुपैयाँ। हामी तिर्दैनौँ।” हाम्रो कुरा सुनेर घरबेटीले रिसाउँदै भन्थिन्, “नतिर्ने भए डेरा सर।”

घरबेटीको कुरा सुन्नेबित्तिकै सबैको मुखमा बुजो लाग्थ्यो। सबै जना रिसले मुरमुरिन्थ्यौँ। सबै जनाले अनुहार कालो, निलो पार्दै तल ओर्लिन्थ्यौँ। डेरा पाउन त्यति सजिलो थिएन। त्यसैले सबै जना चुप लाग्थ्यौँ। अनुहार कालो निलो पार्दै रिसाउँदै घरभेटीले भनेअनुसार सबैले बत्तीको पैसा तिथ्यौँ। फोहोरको छुट्टै पचाँस रुपैयाँ तिर्नुपथ्र्यो। यहाँ घरबेटीको शासन थियो। बर्सेनि मनपरी पाराले डेरा भाडा बढाउँथे। तीन वर्षअघि तीन हजार कोठा भाँडा तिर्ने गरी मैले डेरा लिएको थिएँ। बर्सेनि पाँच सय रुपैयाँ बढाउँथे। तीन वर्षभित्रमा मेरो एउटा कोठाको  कोठा भाडा पाँच हजार रुपैयाँ पुगिसकेको थियो।  

पानीको समस्या पनि उस्तै थियो। हप्तामा एक दिन मात्र धारामा पानी आउँथ्यो। कहिले एक घन्टा, कहिले डेढ घन्टा पानी आउँथ्यो। घरबेटीले एक, डेढ घन्टा पानी थाप्थे। पानी सुक्न लागेका बेला हामीलाई पानी थाप्न भन्थे। हामी कहिले एक जार, कहिले दुई जार मात्र पानी थाप्न पाउँथ्यौँ। त्यही पानी हप्ता दिनसम्म चलाउनुपथ्र्यो। त्यही पानी मुख धुने, खाना पकाउनेदेखि लिएर शौचालयसम्ममा प्रयोग गर्नुपथ्र्यो। घरमा इनार थियो तर इनारको पानी पनि वेला मौकामा मात्र दिन्थे। घरभेटीलाई पानी चाहिएको बेलामा इनारको पानी माथि तान्दा हामीलाई दुई, तीन जार पानी दिन्थे। नभए इनारको पानी पनि दिँदैनथे।

टोलको एक जना मान्छेको घरमा एक जारको दस रुपैयाँ लिएर इनारको पानी दिन्थ्यो। डेरामा बस्ने हामी सबै जना एक जार पानीको दस रुपैयाँ तिरेर इनारको पानी ल्याउन दुईटै हातमा पानीको ग्यालन र जार बोकेर दस मिनेट हिँडेर पानी ल्याउन जान थाल्यौँ। पानी ओसारेर धेरै थकाइ लाग्थ्यो। थकाइ लागेर मलाई कति पटक ज्वरो पनि आएको थियो। पुस, माघ र वैशाख, जेठ महिनामा धारामा दुई हप्तासम्म पानी आउँदैन्थ्यो। त्यतिबेला घरबेटीले पानीको ट्याङ्कर मगाउँथे। अन्डरग्राउन्डमा पानी राख्थे तर हामीलाई ट्याङ्करको पानी दिँदैनथे। हामी पिउन र खाना पकाउन पसलबाट जारको पानी र लुगा धुन इनारको पानी किनेर ल्याउँथ्यौँ। दुई दिनदेखि मलाई सन्चो नभएर पानी ओसार्न सकेको थिइनँ। कोठामा भएको पानी सकिसकेको थियो। एका बिहानै मलाई दिसाले च्यापिरहेको थियो। जार र ड्रमहरूबाट पानी जम्मा गर्न थालेँ। सबै पानीका भाँडा रिता थिए। दुई, तीनओटा जारबाट थोरथोरै पानी जम्मा गरेँ। एक जग पानी भयो। एक जग पानी लिएर शौचालय गएँ। शौचालय अँध्यारो थियो। बत्ती थिएन। पानी शौचालयको भाँडामा खन्याउन खोज्दा अँध्यारोमा सबै पानी भुँइमा पो खन्याएछु।

पानी थिएन तैपनि बिना पानीको शौचालय बसेँ। फोहोर नधोई हाफ पान्इट लगाएँ। छेउको साथीको ढोका ढकढकाएँ। उसले ढोका खोल्यो। उसलाई एक जग पानी मागेँ। उसले आधा जग पानी मलाई दियो। कति दिनदेखि ड्रम सफा नगरेकोले पानी धमिलो थियो। त्यही पानीले शौचालय गएर दिसा सफा गरेँ।  शौचालय फोहोर भएर गनाइरहेको हुन्थ्यो। त्यस्तो फोहोर शौचालयमा छिर्न मन लाग्दैन्थ्यो। शौचालय गनाएको देखेर घरबेटी हामीलाई कराउँदै भन्थे, “ओ, भाइहरू शौचालय सफा गर। सफा नगर्ने भए डेरा सर।” शौचालय सफा गर भन्थे तर पानी नभएर सफा गर्न नसकेको हो भनेर उनले हाम्रो कुरा बुझ्दैनथे। जुन कुरामा पनि डेरा सर भनेको सुनेर म मानसिक तनावमा जान्थेँ। काठमाडौँमा घर नभएको मान्छेलाई यहाँ बस्न कति सकस हुँदो हो त्यो त डेरा लिएर बस्नेलाई मात्र थाहा छ।

शौचालयबाट आएर मैले हतारहतार लुगा लगाएँ। म एयरपोर्ट जानु पर्ने थियो। मेरो मामाको छोरो प्रदीप दाइ कतारबाट आउँदै थिए। म उनलाई लिन एयरपोट पुगेँ। झन्डै दुई घन्टापछि प्लेन अवतरण भयो। एक घन्टापछि उनी बाहिर आइपुगे। हामी ट्याक्सी स्ट्यान्डमा पुग्यौँ। एक जना ट्याक्सी चालक हामीतिर हेर्दै भने, “तपार्इँहरूलाई ट्याक्सी चाहिन्छ ?” मसँग दुई सय पचास रुपैयाँ मात्र थियो। त्यति रुपैयाँमा ट्याक्सी पाउँछ भनेर म ढुक्क थिएँ।  मैले केही नबोल्दै प्रदीप दाइले भने, “हो हामीलाई ट्याक्सी चाहिन्छ।” उनले हो भन्नेबित्तिकै हत न पत ट्याक्सी चालकले दाइको लगेज उचाल्दै भने, “आउनुस्। ट्याक्सी त्यहाँ छ।” हामी दुवै दाजुभाइ एक अर्काको अनुहारतिर हेराहेर गर्यौ तर केही बोलेनौँ। ट्याक्सी चालकको पछाडि हिँड्दै मैले सोधेँ, “भाडा कति हो ?” मेरो कुरा सुनेर उनले भने, “भाडा उस्तै त हो नि। अहिले मिलाऊँला नि।” उस्तै त हो नि सुनेर म ढुक्क भएँ। लाग्यो, दुई सय पचास त होला नि। त्यति पैसा म दिन सकिहाल्छु भन्ने सोचेर ट्याक्सीमा हामी दुवै जना बस्यौँ। उनले “कहाँ जाने ?” भनेर सोधे। मैले, “चावहिल जाने” भनेर जवाफ दिएँ।

म ट्याक्सीमा बसेर घरी अगाडिको ऐनामा आफ्नो अनुहार हेर्ने प्रयास गर्थेँ। घरि हातको औँला बटार्दै बाहिर हेर्थेँ। मनभित्र उकुसमुकुस भइरहेको थियो। नभन्दै प्रदीप दाइले ट्याक्सी चालकलाई सोधे, “हाम्रो ट्याक्सी भाडा कति हो।” दाइका कुरा सुनेर  उनले भने, “रेटअनुसार नै हो हामीले भाडा लिने। एयरपोर्टबाट चावहिल चोकसम्मको एक हजार। त्यहाँभन्दा भित्र जानुभयो भने दुई सय बढी तिर्नुपर्छ।” उनका कुरा सुनेर अचम्म लाग्यो। म दोधारमा परेँ। मसँग त्यति धेरै रुपैयाँ थिएन। मैले उनलाई भनेँ, “यति नजिकको कसरी एक हजार भन्नु भएको ? चाहिने कुरा गर्नुपर्छ नि। मनपरी भनेर हुन्छ।” उनले मेरो कुरा सुनेर बाया हातले हामीतिर बिल दिँदै भने, “नपत्याए यो बिल हेर्नुहोस्। यो बिलमा एक हजार लेखिएको छ। तपाईँहरू एयरपोर्टको ट्याक्सी चढ्नु भएको छ। यो ट्याक्सी महङ्गो नै पर्छ। बाहिरका ट्याक्सीले कम पैसा लिन्छन्।  बाहिरको ट्याक्सी चढ्नुपथ्र्यो नि।”

उनका कुरा सुनेर रिसाउँदै भनेँ, “यो कुरा हामीलाई पहिला भन्नु पथ्र्यो नि। तपाईँलाई एयरपोर्टमा ट्याक्सी भाडा कति हो भनेर सोध्दा उस्तै त हो नि भन्नुभयो। हामी दुवै दाजु भाइ दुई पटक भाडाको बारेमा सोध्यौँ तर तपार्इँले मिलाउँछौँ भन्नुभयो। अब बाटोमा आएर ट्याक्सी भाडा बार सय भन्नुहुन्छ। यो त भएन नि। एउटा नियम हुन्छ नि। मनपरी भाडा लिएर हुन्छ।” मेरो कुरा सुनेर उनले  भने, “मैले तपार्इँलाई कति भन्ने भाइ ? हाम्रो भाडा दर नै यही हो।” हाम्रो चर्काचर्की सुनेर दाइले दाया हातले मेरो बायाँ कुहिनामा धकेल्दै भने, “छोड दे। लिन दे। कति कचकच गरेको ? नचढ्नुपर्ने रहेछ एयरपोर्टको ट्याक्सी। हामीले अन्जानमा चढ्यौँ। पैसा तिर्नै पर्छ। जति कचकच गरे नि केही हुन्न। नियम नै नभएको देशमा यस्तै हुन्छ।” दाइको कुरा सुनेर मैले रिसाउँदै भने, “कसरी तिर्ने एक हजार यति नजिकको ? मेरो कुरा सुनेर दाइले मतिर हेर्दै भने, “पैसा कति बोकेको छस् ? भाडा तिर्न पुग्छ ?”

“दुई सय पचास मात्र छ मसँग ?” मेरो कुरा सुनेर उनले भने, “गुरुजी हामीसँग त्यति पैसा छैन। म भर्खर आएको हुँ। मसँग नेपाली रुपैयाँ छैन। बैँकमा छ तर एटिएम कार्ड छैन। चार बजिसक्यो चेक पनि साट्न मिल्दैन। के गर्ने होला ? दुई सय पचास लिए हुन्न।” दाइको कुरा सुनेर उनले रिसाउँदै भने, “दुई सय पचासमा हुँदैन। हाम्रो नियम नै यही हो। तपाईँहरूसँग पैसा छैन भने मलाई भाडा नदिनुस्। यतिकै पु¥यादिन्छु।’ उनको रिसाएको कालो, निलो अनुहार हेरेर हामी केही बोलिनौँ। चावहिल चोकभन्दा भित्र गएपछि उनले भने, “भित्र गएँ भने बार सय लिन्छु।” मैले सुक्खा मन लिएर रुखो स्वरमा भने, “हिँड्नुस्। तपाईँले मागे जति दिन्छु।” डेरा अगाडि ओर्लेर हतारहतार माथि गएँ। डेरामा बस्ने सबै साथीसँग एक सय, दुई सय सापटी मागेर बार सय जति जम्मा गरेर ट्याक्सी भाडा तिरैँ।

घरपेटीदेखि लिएर ट्याक्सी चालकले मनपरी गरेको देखेँ। यहाँ घर नै बनेको छैन जस्तो लाग्यो मलाई। देश बन्न घरबाट सुरुवात हुनु पर्ने होइन र ? देश बन्नका लागि  पहिला घर बन्नुपर्छ। घर बने त्यो घरमा बस्ने मान्छे बन्छ। घरबाट अनुशासित र सभ्य व्यवहार बाहिर आउनुपर्छ। अनि पो सबै कुरा नियममा चल्छ। सहरमा तरकारी, गाडी भाडादेखि लिएर कलेजको शुल्क, घरभाडा मनपरी तरीकाले बढाउँछन् तर गाउँमा साग, तरकारी र अन्न अनाजको मूल्य यथावत रहन्छ। यस्तो मनपरी नियमको कारणले मेरा बा जस्ता कैयौँ किसान मर्कामा परेका छन्। दिन, रात घाम, पानी नभनी खेतमा जति काम गरे पनि मेरा बा जस्ता कैयौँ किसानहरूले आफ्ना छोराछोरीलाई राम्रो स्कुल, कलेजमा पढाउन सकेका छैनन्। परिवारको आवश्यकता  पूरा गर्न सकेका छैन्। गाउँ नै नबने देश कसरी बन्छ ? ट्याक्सी चालक गइसकेपछि ट्याक्सी चालक र घरबेटीको ज्यादती सम्झेर हाँक्क थु गरेर मैले बल लगाएर थुक फालेँ। थुक फालेर मेरो मनको विष थोरै भए पनि पखालिएको जस्तो लाग्यो। मन हलुका भयो। सबै सामान बोकेर हामी दाजुभाइ कोठातिर लाग्यौँ।

प्रकाशित: ११ जेष्ठ २०७६ ०६:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App