इन्द्र राना ‘प्रतीक’
कुकुरपेटे मनहरू
भ्रष्ट अगस्ती मनहरू
जति खाए पनि अघाउँदा रहेनछन्
अध्याधिक खन्चुवा हुँदा रहेछन्
जे पाक भने नि पाक्ने
पाक ताउली कहाँ छ ?
जता लग् भने नि लग्ने
उडाइपु¥याउने
वायुपंखी घोडा कहाँ छ ?
प्रमिथसले स्वर्गबाट आगो चोरेर ल्याएझै
दन्त्यकथाको अलौकिक संसारबाट
म पनि ल्याऊँ कि सुटुक्क
चोरेर हानमुग्री अर्थात् बजालौरी डाङडुङ
अनि थर्मादिऊँ कि अदृश्य रूपमा
हरेक मान्छेका हातमा
मान्छेले नराम्रो काम गर्नेबित्तिकै
हत्तपत्त ठटाइहालोस्
तब बुझ्ने थिए
स्वप्न कथा बाँड्नेहरूले
बाँड्नेका अनुचरहरूले बुझ्ने थिए
अदालतको कठघरामा
न्यायालयको कठघरामा
कुनै मानिसले उभिनु पर्र्दैनथ्यो
धर्म, नीतिनियम, कानुन
आफ्नै हातमा हुन्थ्यो
आफ्नै साथमा हुन्थ्यो
अनि पो कालाबजारी हराउँथ्यो
भ्रष्टाचारी हराउँथ्यो
अत्याचारी हराउँथ्यो
हराउँथे स्वार्थी मानिसहरू हराउँथे
पापी मानिसहरू हराउँथे
हराउँथ्यो, क्रमशः हराउँथ्यो
आतंकवाद हराउँथ्यो
साम्राज्यवाद हराउँथ्यो
विस्तारवाद विलाउँथ्यो
फर्केर फेरि सत्य युग आउँथ्यो !
प्रकाशित: ११ जेष्ठ २०७६ ०५:५८ शनिबार