अनुभूति

कृष्ण खोजीका दुर्गा दुर्दशा

शनिबार, ११ जेठ २०७६, ११ : ३३ गुणराज लुइँटेल  | @gunaraj

पर्दामा दृश्य घुमिरहेका छन्। आफैंमाथि बनेको वृत्तचित्र हेरिरहेका छन् पर्दाका पात्रहरू। त्यो पीडा देखेर अरू रोइरहेका छन्। पात्रहरू विगततिर फर्किरहेका छन्।
दृश्य अगाडि बढ्दै गर्दा लामो उच्छवास छोड्छन् पात्रहरू, ‘त्यस्ता पनि दिन थिए !’

जो बाँचे ती हेर्दै छन्। जो मारिए, ती स्मृतिमा मात्र छन्। परिवारमा पीडाका अन्तहीन घाउ छन्। समय अघि बढे पनि घाउ अझै पुरिएका छैनन्। एउटा संघर्ष कथा जहाँ हराएका पात्र फर्किन्छन्। पात्र फर्के पनि ती दुःखका दिन सम्झेर सबै जना अश्रुपुरित नयन लिएर हेरिरहन्छन्। २०६० भदौ २७ गते विद्यार्थी नेता कृष्ण केसी पक्राउ परेपछि उनकी पत्नी दुर्गाले उनको खोजीका लागि गरेको अविराम संघर्ष–कथाका रूपमा ‘भैरवनाथ’ वृत्तचित्र सार्वजनिक भएको छ। जसै वृत्तचित्र अगाडि बढ्छ, ‘रिल लाइफ’मा उतारिएको ‘रियल लाइफ’ वास्तविक जीवन कारुणिक बन्छ। त्यो बेलाका दृश्य फनफनी दिमागमा घुमिरहन्छन्।

माओवादी युवा नेताका रूपमा गिरफ्तार भएका कृष्ण केसी, हिमाल शर्मा लगायतका नेताहरू अहिलेको नेपाल कम्युनिष्ट पार्टीका दुई पाइलटमध्ये एक पुष्पकमल दाहालको दुईतिर बसेका छन्। जेठ ५ गते बिहान कुमारी सिनेमा घरको यो दृश्य हो। कृष्ण र हिमाल ‘जिउँदा सहिद’का रूपमा पार्टी पंक्तिमा चिनिएका छन्। विद्यार्थी बेलामा हामीले सात सालका जिउँदा सहिदका बारेमा पढेका हौं। तर, हाम्रै जीवन कालमा मानिसहरू फेरि आन्दोलित हुन्छन्। बेपत्ता पारिन्छन्। मारिन्छन्। बाँचेका फेरि परिवारसम्म आइपुग्छन्।

कुमारी सिनेमा घरको आँगनमा हामी सबैले तस्बिर खिचायौं। हिमाल शर्माले भने, ‘त्यो समाचार नआएको भए हामी पनि मारिने थियौं।’ समाचार आएपछि त्यो बेला भैरवनाथ गणका सबै सैनिक परिवर्तन भएको पनि हिमालले सुनाए। सबैले त्यो बेला पत्रकारिताका माध्यमबाट खेलेको भूमिका निम्ति पनि धन्यवाद दिए। ‘त्यो बेला तपाईंहरूले प्रशंसनीय भूमिका खेल्नु भएको रहेछ,’ कसैले आएर प्रतिक्रिया दियो।

अहिलेको खुला राजनीतिमा पुष्पकमल दाहालका रूपमा चिनिएका नेता भूमिगत राजनीतिका बेला ‘प्रचण्ड’का नाममा चिनिएका थिए। यसरी गिरफ्तार गरिएका विद्यार्थी नेता वा अन्य समर्थक÷शुभेच्छुक तिनै दाहालसम्म पुग्ने उपक्रमको एउटा सिलसिला थियो। ती यातनाले थला पर्थे। कसैले पनि प्रचण्ड वा अन्य नेताका बारेमा जानकारी गराउन सक्दैनथे। डेढ दशकमा कति धेरै फरक हुने रहेछ। दिन गएको थाहा हुने। तर, वर्षहरू धमाधम बितिरहेका छन्। पत्रकार सीताराम बरालसँगै विद्यार्थी नेता कृष्ण केसी पक्राउ परेको खबर सुनिएको थियो। तर, कुनै पनि निकायले उनी पक्राउ परेको बताएका थिएनन्।
पत्रकार बराल एक दिन रिहा हुन्छन्। सुरक्षाकर्मीले आफूलाई रिहा गरेका कारण केसी पनि उनीहरूबाट गिरफ्तार भएको हुन सक्ने उनी बताउँछन्। त्यही विश्वास हुन्छ।

कुमारी सिनेमा घरमा ‘भैरवनाथ’को रिल घुमिरहेको छ। म ‘फ्ल्यासब्याक’मा गइरहेको छु।   यो २०६० सालको कुरा। एक कृषकाय शरीरकी महिला म कार्यरत अखबार कान्तिपुरमा आइपुग्छिन्। उनको अवस्था अहिले पनि झल्झली आँखामा छ। तिनलाई न भोक थियो  न तिर्खा। बस्, एक कृष्ण केसी कहाँ छन् भन्ने थाहा पाउनु मात्र उनको जीवनको अभिष्ट थियो।

कृष्णलाई हामी सबैले चिनेका थियौं। तर, दुर्गा चिनिएकी पात्र होइनन्। उनले कृष्णको खोजीका निम्ति गरेको त्यो बेलाको संघर्षका लागि लेख्ने शब्द छैनन्। आँखाबाट आँसु झरिरहेका छन्। दुब्लाएको शरीर छ। बोल्न पनि सक्ने अवस्था छैन। कृष्णको खोजीका निम्ति उनले गरेका पहलहरू समाचार बन्दै जान्छन्। एक दिन साबुनको खोलमा लेखिएको कृष्णको पत्र आउँछ। उनी लगायत ४९ जना भैरवनाथ गणमा रहेको र कतिपय बेपत्ता पारिएको विवरण त्यसमा हुन्छ।

राज्य र अन्य संगठित समूहले गर्ने सही वा गलत कार्यको सहज सूचना प्रवाह नहुने हो भने त्यसले विकृति ल्याउनेछ। सबै खाले अधिकार र परिवर्तनका लागि लडिसकेपछि राज्यले अब प्रेसलाई कस्न खोज्दै छ। भविष्यका कृष्ण केसीहरू, अब हिजोजस्तै बेपत्ता पारिँदा फेला पर्ने बाटो बन्द हुनेछ।

त्यो प्रमाणकै आधारमा समाचार छापिन्छ। त्यही समाचार उनी बाँच्ने कारण बन्न पुगेछ। त्यो समाचारले के प्रभाव पा¥यो भन्ने तत्काल थाहा नभए पनि बिस्तारै राष्ट्रिय मानव अधिकार आयोग लगायतका मानव अधिकारवादी संस्थालाई खोजी कार्यका निम्ति त्यसले सहयोग पु¥यायो। अदालतलाई निर्णय गर्न पनि त्यसले मद्दत गर्ने नै भयो। संघर्षकै यो उपक्रममा सर्वोच्च अदालतले २०६१ पुस ६ गते कृष्णलाई रिहा गर्न आदेश दियो। तर, उनी फेरि पक्राउ परे। कृष्णलाई अदालतमा ल्याउने बेलासम्म दुर्गाले गरेको मेहनत भने बेहिसाब थियो। दुर्गासँग मैले त्यही बेलामा धेरै पटक भेटेर त्यो खोजीका बारेमा लेखेको थिएँ। उनकै शब्दमा एउटा लामो अंग्रेजी लेख ‘अल्वेज इन माइ ड्रिम’ भन्दै उनकै शब्दमा लेखेर ‘द काठमाडौं पोस्ट’मा पनि छपाएको थिएँ।

बेपत्ता परिवारका यस्ता अनेकन प्रतिनिधिमूलक सामग्री त्यतिबेला छापिन्थे। कति जना सुरक्षा फौजले पक्राउ गरेर लगेपछि कुटिन्थे। तिनका बारेमा पनि सामग्री छापिएका हुन्थे। कैयन् पत्रकार त्यो बेला पक्राउ परेर चरम यातना भोग्नेमा परेका छन्। तिनका पीडा पनि अखबारका पानामा छरपस्टै छन्। पक्राउ परेर थुनामा रहेका र यातना पाएकाहरूलाई कुनै जानकारी नदिन त्यतिबेला सुरक्षाकर्मीले धम्क्याउने गरेका हुन्थे। धेरैले त्यो कुरा आएर भन्न आँट पनि गर्दैनथे। एक जना वरिष्ठ पत्रकार छन्, तिनलाई सुरक्षा फौजले पक्राउ गरेर लगेको र निकै यातना दिएर छोडेका थाहा पाएपछि तिनकहाँ म जान्छु। उनी सबै विवरण भनेपछि पनि छाप्न डराउँछन्। यस्तो परिस्थिति त्यो बेलाका निम्ति सामान्य थियो। डेढ दशकपछि कृष्ण खोजी निम्ति दुर्गा दुर्दशा सिनेमाको पर्दामा हेर्दाभन्दा कैयन गुणा पीडाको समय थियो त्यो। एउटा बोझिलो विगत हो त्यो। अनि जहिल्यै त्यो विगतलाई सम्झिँदा अहिले पनि पीडा हुन्छ। यस्ता कैयन् परिवार छन्, जसका आङमा अहिले पनि घाम लागेको छैन। हराइरहेका परिवारजनका निम्ति तिनीहरू रातदिन पीडामा डुबेका छन्।

चाहे ती कृष्णका परिवारका दुर्गा हुन् वा कृष्णप्रसाद अधिकारीकी माता नन्दमाया ती सबै पीडा समान छन्। त्यही भएर राज्य वा विद्रोही दुवै पक्षले पीडित तुल्याएकाहरूले एकै मञ्चमा बसेर पनि आन्दोलन गरेका छन्। पीडित परिवारबीच त्यस्तो कुनै वैरभाव देखिएको छैन। पीडा भोग्नेहरूमा समभाव हुनु अनौठो भएन।
बागलुङबाट आएकी सामान्य गृहिणी दुर्गाका निम्ति पतिको खोजी सहज कार्य थिएन। दुई सन्तानको पढाइलेखाइ, सानो व्यवसाय, सासूसँगको सहयात्रा यी सबैमा कृष्णको गिरफ्तारीपछि रोक लाग्छ। उनको काम भनेकै मानव अधिकारवादी र पत्रकार भेट्ने, ब्यारेक धाउनेबाहेक केही हुँदैन।

सबैतिरबाट संयोग पर्छ। सेनाको ब्यारेकमा दिइएको यातनाबाट साह्रै तरस खाँदै उनका बारेमा जानकारी दिन पनि त्यहीँका व्यक्तिले सहयोग गर्छन्। यातना दिने पनि त्यहीँ थिए। उनलाई सहयोग गर्ने पनि त्यहीँ थिए। त्यस्तो विषम परिस्थितिमा दुर्गाले आफ्नो पतिका बारेमा जानकारी पाएकी थिइन्।  
उनले त्यहीँबाट विभिन्न व्यक्तिका नाममा पत्र पनि पाउन थालिन्। राष्ट्रिय मानव अधिकार आयोगलाई लेखिएको पत्र पनि उनले त्यसरी नै पाइन्। सबैतिरका बाटा बन्द भए पनि कसरी अध्याँरोमा पनि थोरै उज्यालो भेटिन्छ भन्ने यो एउटा अनौठो दृष्टान्त थियो।

त्यसैमध्येका केही पत्रका आधारमा कृष्णका बारेमा समाचार छापिएका थिए। त्यसैले गर्दा उनलाई पति कृष्णसँग गोर्खाको ब्यारेकमा गएर भेट गर्ने मौका प्राप्त भयो। कृष्णले वृत्तचित्रमा भनेका छन्, ‘यो मेरो मुनामदन थियो।’ दृश्यमा दुर्गा र कृष्णको त्यो भेट एउटा उत्कर्ष हो। यतिबेला उनीहरू सँगै छन्। खुला राजनीतिक वातावरण छ। मरेर बाँचेका पति फर्केर आएका छन्। त्यो बेला भोकतिर्खा केही हेक्का नहुने अवस्थामा पुगेकी दुर्गाको जीवनमा बहार आएको छ। दुर्गा–कृष्ण दुवैकी छोरी कुसुम आफैंले पर्दामा आमाको त्यो बेलाको भूमिकालाई जीवन्त तुल्याएकी छन्।

समयसँगै स्मृतिका पत्र पनि छोपिँदै जान्छन्। एक दिन मेरो कार्यालयमा आइपुगेका आमा छोरीलाई त्यो बेलाको मानसिकता सम्झाउने पुरानो लेख पढ्न दिँदा कुसुम आमाले भनेका भन्दा धेरै विवरण पाएर आश्चर्यमा पर्छिन। आफ्नो भोगाइलाई कुनै न कुनै रूपमा अभिलेख गर्नु पर्ने रहेछ। आजको सुखमा हिजोको असजिलो अवस्था आधार बन्छ। दुर्गा–कृष्ण केसीको अहिलेको जीवन मात्र होइन मुलुकको अहिलेको अवस्था हिजोका यस्तै पीडाहरूबाट सिर्जित भएको हो। भोलिको उज्यालो पाउने आशामा मानिस संघर्ष गर्छन्। परिवर्तनका निम्ति विद्रोह गर्नेहरूले त्यही भोलिको उज्यालोको परिकल्पना गरेका हुन्छन्। भोलिको आशा नहुने हो भने आज कसैले विद्रोह गर्दैन।

वृत्तचित्र हेरेर हामी बाहिर निस्किन्छौं। पाइलाहरू सर्न मानिरहेका छैनन्। मन भावुक भएको छ। कृष्ण र हिमालको बीचमा बसेर वृत्तचित्र हेरिहेका पुष्पकमल दाहाल झन् भावुक भएका छन्। अहिलेको परिवर्तन त्यतिकै सम्भव भएको होइन भन्ने उनको प्रतिक्रिया पनि रह्यो। कुमारी सिनेमा घरको आँगनमा झरेपछि सबैमा त्यो भावुकता देखिन्थ्यो। दुर्गाले फेरि हिजोका दुःख सम्झिइँन। दुर्गा यस्ती गुणग्राही गृहिणी हुन् जसले हिजो हामीले खेलेको सानो भूमिकालाई सम्झिरहन्छिन्। उनी राजनीतिक व्यक्ति भएको भए सायदै त्यसरी सोच्दी हुन्।

कुमारीको आँगनमा हामी सबैले तस्बिर खिचायौं। हिमाल शर्माले भने, ‘त्यो समाचार नआएको भए हामी पनि मारिने थियौं।’ समाचार आएपछि त्यो बेला भैरवनाथ गणका सबै सैनिक परिवर्तन भएको पनि हिमालले सुनाए। सबैले त्यो बेला पत्रकारिताका माध्यमबाट खेलेको भूमिका निम्ति पनि धन्यवाद दिए। ‘त्यो बेला तपाईंहरूले प्रशंसनीय भूमिका खेल्नु भएको रहेछ,’ कसैले आएर प्रतिक्रिया दियो।

समय कति बलवान् हुन्छ भने अहिले सामाजिक सञ्जालबाट प्रेसलाई गाली गर्नु साह्रै सजिलो छ। अहिलेको प्रेसका धेरै मानिसले आफूलाई खुकुरीको धारमा राखेर हिजोको अप्ठ्यारो अवस्थामा काम गरेका छन्। सरकार र विद्रोही दुवैको तारो पनि भएका छन्। तर, आज आफ्नो राजनीतिक नेतृत्वलाई प्रतिरक्षा गर्ने नाममा प्रेसका विरुद्धमा अभिव्यक्ति दिनु अनौठो छैन।

‘त्यो बेला तपाईंहरूले प्रशंसनीय भूमिका खेल्नु भएछ,’ भनेका बेला मैले उनलाई भनें, ‘त्यो बेलामा राजाका शासन हुँदा पनि हामीले त्यो बेलाको सत्ता विरुद्धका मानिसलाई पनि आवाज दिन सकेका रहेछौं। तर, अब समय त्यस्तो नरहन सक्छ। अहिले जसरी प्रेसलाई सीमित गर्न कानुन बन्दै छन्, त्यसले हामीलाई ‘आवाजविहीनको आवाज बन्न दिने छैन।’

सरकारले अहिले बनाउँदै गरेका कानुनले अब हाम्रो बाटो छेक्ने छ। निर्वाचित भएर आएपछि सरकारले जसो गर्न पनि हुन्छ भन्ने धारणाले अहिले घर गरिरहेको छ। ‘तिमी पत्रकार कानुन माथि ?’ अचेल यस्तै प्रश्न गर्ने गरिन्छ।

हिजो कृष्ण केसीहरूलाई भैरवनाथ गणमा राखिएको खबर लेख्नु अहिले बन्न लागेका कानुनका हिसाबले ठूलो अपराध थियो। राज्यको गोपनीयता भङ्ग गरेको भन्दै कारवाही गर्न पनि सकिने थियो। पत्रकारविरुद्ध तयार पारिएको फौज्दारी संहिता, संसदमा लगिदै गरेका मिडिया काउन्सिल लगायतका अन्य विधेयकले अब पत्रकारलाई काम गर्न अवश्य रोक्ने छ।

राज्य र अन्य संगठित समूहले गर्ने सही वा गलत कार्यको सहज सूचना प्रवाह नहुने हो भने त्यसले विकृति ल्याउनेछ। सबै खाले अधिकार र परिवर्तनका लागि लडिसकेपछि राज्यले अब प्रेसलाई कस्न खोज्दै छ। भविश्यका कृष्ण केसीहरू, अब हिजोजस्तै बेपत्ता पारिँदा फेला पर्ने बाटो बन्द हुनेछ।
अहिले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री निवास बालुवाटारमा भूमिगत जीवन परित्याग गर्दै सार्वजनिक भएको क्षणका हामी साक्षी हौं। त्यो बेला उनले प्रेसकै कारण आफूहरू यहाँसम्म आइपुगेको बताएका पनि हुन्।

आफू कमजोर भएका बेला प्रेसको प्रशंसा गर्नु र शक्तिमा भएका बेला फेरि त्यसैका विरुद्धमा लाग्नु स्वाभाविक हो। तर, हामी प्रेसमा काम गर्नेहरू भने एभ्लिन बेट्रिस हलका भनाइलाई दोहो¥याउँछौं, ‘तपाईँले भनेको कुरामा म सहमत छैन तर तपाईंको बोल्ने अधिकारका निम्ति अन्तिम साससम्म प्रतिरक्षा गर्छु।’ सायद, हामीलाई यस्तै भावनाले तानिरहन्छ। सत्ताका निम्ति हामी जुत्ताभित्रका बिझाउने ढुंगाजस्ता हुने रहेछौं। त्यही भएर तिनले हामीलाई सत्तामा पुगेपछि नचाहिने वस्तु ठान्छन्। प्रेसले आवाज नभएका दुर्गाहरूलाई आवाज दिन पाए पुग्छ। त्यसका निम्ति सबै आवाजप्रेमीहरू एक हौं।

 






यसमा तपाईको मत

अन्य समाचार

हराएको कुकुर नाकको प्रिन्टबाट भेटाउने एप

हराएको कुकुर नाकको प्रिन्टबाट भेटाउने एप

हरेक मानिसको फिंगरप्रिन्ट बेग्ला बेग्लै भएजस्तै कुकुरको पनि नाकको छाप बेग्ला बेग्लै हुनेगर्दछ । ...

ईक्यानको शैक्षिक मेला ६० हजारद्वारा अवलोकन (भिडियो)

ईक्यानको शैक्षिक मेला ६० हजारद्वारा अवलोकन (भिडियो)

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को आयोजनामा शैक्षिक मेला सम्पन्न भएको छ। इक्यान शैक्षिक मेलाको १३ औ संस्करणलाई साठी...

म्याक ल्युब्रिकेन्टस्को डिलर मिट सम्पन्न

म्याक ल्युब्रिकेन्टस्को डिलर मिट सम्पन्न

सिप्रदी ट्रेडिङ्ग प्रा. लि तथा भारत पेट्रोलियमले काठमाडौंको हायात होटलमा म्याक ल्युब्रिकेन्टस्को डिलर मिट २०१९ कार्यक्रम सम्पन्न गरेको छ। ...

तीन वटा देशबाट मेगा बैंकको ‘मेगा रेमीट’ सेवा

तीन वटा देशबाट मेगा बैंकको ‘मेगा रेमीट’ सेवा

हङकङ, युएई र जोर्डनमा मेगा रेमीटको सञ्जाल विस्तार गरिएको हो। ...

ज्योति लाईफ इन्स्योरेन्सको “ज्योति केयर्स”

ज्योति लाईफ इन्स्योरेन्सको “ज्योति केयर्स”

जीवन बीमा सेवाको अतिरिक्त अन्य सेवासुविधा विस्तार गरी ग्राहकसेवा केन्द्रित योजना संचालन गर्ने क्रममा ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लि. ले...

सिटी एक्सप्रेस फाउन्डेशनद्वारा मानव सेवा आश्रमलाई रु एक लाख  हस्तान्तरण

सिटी एक्सप्रेस फाउन्डेशनद्वारा मानव सेवा आश्रमलाई रु एक लाख हस्तान्तरण

सिटी एक्सप्रेस मनी ट्रान्सफरको १३ औं वार्षिकोत्सवको उपलक्ष्यमा मानव सेवा आश्रमलाई सिटी एक्सप्रेस फाउन्डेशन द्वारा रु एक लाख हस्तान्तरण। ...

एभरेस्ट एडद्वारा वृद्धाश्रमलाई सहयोग

एभरेस्ट एडद्वारा वृद्धाश्रमलाई सहयोग

एभरेस्ट एड एन्ड इभेन्ट म्यानेजमेन्टले कम्पनीको तेस्रो वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरेको छ। ...

बेस्ट फाइनान्सका अध्यक्षको शपथग्रहण

बेस्ट फाइनान्सका अध्यक्षको शपथग्रहण

बेस्ट फाइनान्सका नवनिर्वाचित अध्यक्ष अमिरध्वज प्रधानले नेपाल राष्ट्र बैंकबाट पद तथा गोपनीयताको शपथ लिएका छन् । ...