७ वैशाख २०८१ शुक्रबार
समाज

सात दिन, सातै थरी खाजा

रामदेवी महर्जन
आजकल अधिकाशं बालबालिकामा एउटै समस्या पाइन्छ–कब्जियत। अस्वस्थ खाना खाएमा कब्जियत हुन्छ। खानामा असावधानी, महँगो विज्ञापनको पछि लाग्नाले, रंगीन खोलमा लोभिनाले र जंकफुड तथा प्याकेटमा सजाइएका खाजाको प्रयोगले कब्जियत लगायत मुटु रोग, हड्डी कमजोर हुने आदि समस्या आउँछ। पकाउन सजिलो, समयको बचत र स्वादले गर्दा पनि यस्ता खानाको धेरै प्रयोग गरिन्छ। तर यसरी आफू र नानीहरूलाई दिइएका यस्ता खानाले स्वास्थ्यमा कति असर परेको छ भन्ने बारेमा अभिभावक अनभिज्ञ छन्। यस्ता खानाले शरीरमा भारीपन ल्याई अल्छी गराउनुका साथै विभिन्न किसिमका रोग निम्त्याउँछ।

बालबालिका टिभीमा देखिने रंगीन विज्ञापन, रंगिविरंगी खोलहरू आदि कारणले जंकफुड र फास्टफुडको लतमा लागेका छन्। यस्ता खाना बढी चिल्लोमा तारेको, स्वादका लागि बढी मसला हालेको र रसायन मिसाएको हुने भएकाले स्वास्थ्यका लागि हानिकारक हुन्छ।
भाइबहिनी हो, हामीलाई रोग लाग्नु र नलाग्नु हामीले खाएको खानामा भर पर्छ। शरीर स्वस्थ भए मात्र हामी सबै काम गर्न सक्छौ। पढ्न, लेख्न, खेल्न र विविध क्रियाकलाप गर्न शरीर स्वस्थ र बलियो हुनु पर्छ। त्यसैले हामीले खाने खाना र खाजा स्वस्थकर हुनुपर्छ। तर, आज हामी आफ्नै घरमा भएका स्वास्थवद्र्धक खानालाई बिर्सेर विज्ञापनमा रमाएका छौं।  

रंगीन विज्ञापनको प्रभावमा परेर आजका बालबालिका चाउचाउ, बिस्कुट, केक जस्ता खाजा खाने गर्छन्। फाष्टफुड र जंकफुड स्वास्थ्यवद्र्धक हुँदैनन् तर पनि छिटो, सजिलो र स्वादका लागि अभिभावकले पनि विद्यालयमा त्यस्ता खाजा पठाउने गरेको पाइन्छ। हामीले घरमै खाजा बनाएर खुवाउने र खाजा पठाउने गरेमा बालबालिका स्वस्थ बन्न सक्छन्।

घरकै स्वास्थवद्र्धक खाजाहरू मकै, भटमास, गहुँ, फापर, कोदो आदि जसलाई हामी सस्तो खाजाका रूपमा लिन्छौ त्यसमा हाम्रो शरीरका लागि चाहिने सबै पोषक तŒवका साथै शरीर सफा गर्न चाहिने छोक्राबोक्रा हुन्छ। हामी यी खानेकुरा सस्तोमा बेच्छौं र त्यही खाद्यान्नबाट बनेर चिनी र रसायन मिसाइएर आएका हर्लिक्स, भिवा आदि महँगो पैसा तिरेर खान्छौं। वास्तवमा हामी सभ्य बन्ने नाममा घरमा भएका स्वास्थ्यवद्र्धक खानेकुरा सस्तोमा बेचेर महँगो पैसा तिरेर रोग भित्र्याउँदै छौं।  

हामीले खाने अधिकांश खाना जस्तै चामल, चिनी र मैदा सेतै हुन्छ। सेतोमा हाम्रो पाचन प्रणालीलाई चाहिने रेसा हुँदैन। जसको सेवनले कब्जियत गराउँछ र शरीरमा समस्या आउँछ। बजारमा पाइने अधिकांश खानेकुरा पनि सेतो मैदाबाट बनेका र रासायनिक प्रयोग भएका हुन्छन् जस्तैः केक, मम, बिस्कुट, पाउरोटी, चाउचाउ, सेल, दुनोट, मिठाई र जंकफुड आदि। हाम्रो भान्छामा पनि प्रायः सेतो चामल नै प्रयोग हुन्छ। यी खानेकुरा पूरा प्रशोधित र रसायन मिसाइएकाले स्वास्थ्यकर हुँदैन। साथै यस्ता खानामा शरीरलाई चाहिने रेसा छोक्राबोक्रा पनि हुँदैनन्। यस्तो खानाले कब्जियत गराउँछ र मोटोपन लगायत अरू समस्या निम्त्याउँछन्।  

त्यसैले भान्छामा सेतोभन्दा खैरो खाद्यान्नले बनेका खाना प्रयोग गर्नु राम्रो हुन्छ। सेतो चामलको सट्टा खैरो चामल, मैदाको सट्टा आँटा, ब्राउन पाउरोटी, जंकफुडको सट्टामा घरमै पाइने मकै, गहुँ, रोटी आदिका साथै हरिया सागसब्जी र फलफूलको प्रयोग गर्दा स्वास्थ्यलाई राम्रो गर्छ। हरिया सागसब्जी र फलफूलले शरीरलाई हलुको बनाउँछ। त्यसैले खाना तथा खाजा खुवाउँदा र पठाउँदा सँगै मौसम अनुसारको फलफूल पनि अनिवार्य खुवाउने र पठाउने गर्नु पर्छ।

बालबालिकालाई खानामा र स्कुलमा खाजा पठाउँदा धेरै कुरामा ध्यान दिनु पर्छ। किनकि स्वस्थ खानाले मात्र हामी स्वस्थ हुन्छौं। स्वस्थ भएपछि पढ्नमा जाँगर बढ्छ।  अहिले रंगीन विज्ञापनको प्रभावमा परेर अभिभावकले चाउचाउ, बिस्कुट, केक जस्ता खाना बालबालिकालाई पठाउँछन्। फाष्टफुड र जंकफुड स्वास्थ्यवद्र्धक हुँदैनन् भन्ने जान्दाजान्दै पनि छिटो, सजिलो र स्वादका लागि त्यस्ता खाना पठाउने गरिएको पाइन्छ।
हामीले घरमै स्वस्थ्यकर खाजा बनाएर खुवाउन र पठाउन सक्छौं। बालबालिकालाई यस्ता खानाबाट हुने फाइदा सुनाएर फकाईफकाई खुवाउनु पर्छ। बानी पार्नु पर्छ। ललितपुरको सातदोबाटोमा रहेको निरोग धामले यस्तै स्वास्थवद्र्धक खानाको सेट बनाएको छ। बालकदेखि वृद्ध सबैले फेरिफेरि हप्ताको सातै दिन सातै थरीका परिकार खान र विद्यालयमा खाजा पठाउन सक्छन्।

भाइबहिनी हो, एकछिन स्वादको पछि लाग्दा जंकफुडले शरीरमा धेरै खाले समस्या ल्याउँछ। त्यसैले सधैं स्वस्थ खाना खानु पर्छ। स्वस्थ खानाले दिमाग तेजिलो बनाउँछ। पढ्न जाँगरिलो बनाउँछ। स्वस्थ रहन खानासँग पानीको पनि उचित प्रयोग हुनुपर्छ। प्रत्येक घण्टामा एकएक गिलास पानी पिउनु पर्छ। अर्को कुरा अभिभावक र शिक्षकले पनि आफ्ना विद्यार्थीलाई स्वास्थ्यवद्र्धक खाना र खाजा खान प्रेरित गर्नु पर्छ। विद्यालयमा जंकफुड र फास्टफुड निषेध गर्नु पर्छ। स्वस्थ खाना खाऔं सदा स्वस्थ रहौं। (महर्जन प्रकृतिप्रेमी समूहकी कोषाध्यक्ष हुन्।)

प्रकाशित: ११ जेष्ठ २०७६ ०४:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App