८ वैशाख २०८१ शनिबार
अन्य

खसीको मासुका अनेक परिकार

खसीको मासु खान रुचाउने पारखीको पहिलो रोजाइमा पर्छ, ‘बाजेको सेकुवा घर’। राजधानीका ग्राहकको मन जित्न सफल बाजेको सेकुवा घरले न्युयोर्कमा समेत खुलेको छ। विदेशमा यसका शाखा खोल्ने योजनामा रहेको बताउँछन्, अपरेटर म्यानेजर सञ्जिव तिमिल्सिना। उनका अनुसार नेपालमा ११ ठाउँमा बाजेको सेकुवा घर सञ्चालन गरिएको छ। ‘नेपालमा पनि अन्य ठाउँमा पनि बाजेको सेकुवा राख्ने योजनामा छौ,’ उनले भने।

बाजेको सेकुवाले खानाका परिकारको गुणस्तरमा सम्झौता नगर्ने उनले बताए। त्यसकारण सरसफाइमा मात्र होइन, स्वादमा पनि चासो दिने गरेको उनको भनाइ छ। बाजेको सेकुवामा ल्याइने खसीको तौल, खसीलाई तयार गरिने विधि, पकाउँदा लाग्ने समय, प्रयोग गरिने मर–मसलादेखि आगोको तापक्रममा समेत विशेष ध्यान दिने उनी बताउँछन्। उनी भन्छन्, ‘हाम्रोमा हरेक परिकार बनाउने विशेष टेक्निक छ, बाजेको सेकुवामा पाइने स्वाद हरेक ठाउँमा एउटै हुनुको कारण पनि यही हो।’

सेकुवा पोल्नको लागि प्रयोग गरिने कोइला सरकारद्वारा अनुमतिप्राप्त सामुदायिक वनबाट आयात गर्ने उनी बताउँछन्। ‘कोइला पोल्दा कार्बनले मानिसको स्वास्थ्यमा असर गर्छ भनी विशेष तरिका अपनाउँछौं,’ उनले भने। खसीको मासुमा हुने बोसो कम गरी खान सकिने बनाएको उनले बताए। खसी ल्याएपछि खसीको प्रत्येक शरीरको भागको खानाको परिकार बनाएर ग्राहकमाझ सेवा दिइरहेको उनले बताए।

बाजेको सेकुवाका विशेष परिकार
झाँनेको सेकुवाः यहाँका परिकारमध्ये झानेको सेकुवा खाजा सेट निकै रुचाइएको परिकार हो। बाजेको सेकुवामा बटरमा झानेको सेकुवा र मौसमी तरकारी फ्राई गरी बाजेको मसलाको प्रयोग गरी तयार गरिने सेफ मोहनप्रसाद रिजाल बताउँछन्। झानेको सेकुवा सेटमा साँधेको भटमास, तारेको आलु, टमाटर अचार, खसीको सुप, सलादसँगै चिउरा अथवा खाना राखिएको हुन्छ। यसलाई दिउँसोको खाजाका रूपमा खान सकिन्छ। सेकुवा झानेर तयार पारिने भएकाले अन्य सेकुवाभन्दा फरक स्वाद हुने सेफ रिजाल बताउँछन्। यस्तै, साझँको खानाको रूपमा भात, तरकारीका परिकार, ग्रेभी मासुको परिकार राखिने उनी बताउँछन्। ग्राहकको स्वाद र रोजाइ अनुसार झानेको सेकुवा खान सकिन्छ।

मट्का बिरयानीः मट्का अर्थात् माटोको भाडामा पकाइन्छ, मट्का बिर्यानी। सानो आँचमा मट्कामा पकाइएको बिरयानीको स्वाद अन्यभन्दा फरक रहेको सेफ मोहन प्रसाद रिजाल बताउँछन्। बिरयानी बनाउन प्रयोग गरिने चामललाई फ्राई गरेर, विभिन्न मसला प्रयोग गरी बनाइने उनी बताउँछन्। मट्का बिरयानीमा तह–तह गरेर बिरयानी तयार गरिन्छ। माटोको भाडामा पकाइने भएकाले मट्का बिरयानीको स्वाद निकै फरक हुने उनी बताउँछन्।

आँखा, जिब्रो, कानको परिकारः बाजेको सेकुवामा खसीको आँखा, जिब्रो र कानको विभिन्न परिकार खान सकिन्छ। खसीको आँखा, जिब्रो, कान फ्राइड्, ब्वाइल, पोलेको स्वादमा खान सकिन्छ। ग्राहकको स्वाद र रोजाइ अनुसार पोलेको, फ्राइ गरेको वा ब्वाइल गरेको खसीको आँखा, जिब्रो, कान खान सकिन्छ। आँखा, जिब्रो, कानको परिकारसँग बाजेको सेकुवा स्पेसल छोपसँग खान सकिने उनले बताए।

टाउकोको परिकारः यो निकै रुचाइएको परिकार हो। टाउको पोलेको, टाउको फ्राईसँगै गिदी फ्राई, कान फ्राई खान सकिन्छ। टाउकोको परिकारमा टाउको साँधेको पनि धेरैको रोजाइमा पर्ने सेफ बताउँछन्। बाजेको सेकुवाको रुचाइएको परिकारमध्य टाउकोको परिकारको निकै माग हुने उनी बताउँछन्। ‘स्वाद फेर्न चाहने, विशेष गरी टाउकोको परिकार नै खाने भनी प्लान गरेर आउने गर्छन्,’ अप्रेसन म्यानेजर सञ्जिव तिमिल्सिनाले भने।

खसीको भुटनः बाजेको सेकुवामा आउने अधिकांश ग्राहकको रोजाइमा पर्छ, खसीको भुटन। भुटन खान आउनेको संख्या पनि अत्याधिक रहेको सञ्जिव बताउँछन्। खसीको भुटन र चिउरा, भुजालाई खाजाको रूपमा खाइने उनले बताए। बाजेको मसलाको प्रयोग गरी तयार पारिएको भुटनका पारखी स्वदेशी मात्र नभएर विदेशी पनि रहेको उनको भनाइ छ।
फिला परिकारः  यसअन्तर्गत फिला बोइल, फिला साँधेको, फिल्ला फ्राई गरेको परिकार पर्छन्। खसीको फिलाको स्वाद लिनेमा विदेशी पनि रहेको उनले बताए। खसीको फिलाको मासुलाई छुट्टयाएर, मजाले बोइल गरी तयार गरिन्छ, फिला बोइल। फिला बोइललाई विशेष छोपसँग खान सकिन्छ। चिल्लो खान मन नभएकाको लागि स्वाद फेर्न राम्रो विकल्प रहेको रिजालले बताए। बाजेको मसलाको स्वादसँगै हरियो सलादसँग फिला बोइलको स्वादमा रमाउन सकिन्छ।
ह्याकुला परिकारः ह्याकुलाको परिकार ग्राहकको विशेष रोजाइमा पर्ने सञ्जिव बताउँछन्। ह्याकुलाको मासु नेपालीले रुचाउँछन्। खसीको मासुमा ह्याकुला हरेकको रोजाइमा पर्ने उनी बताउँछन्। बाजेको सेकुवामा ह्याकुलाको विशेष परिकार पाइन्छन्। ह्याकुला डामेको, तारेको र बोइल गरी तीन परिकारमा पाइने उनी बताउँछन्। ह्याकुलको परिकार विशेष खाजाको रूपमा भुजा, चिउरासँग खानेहरू धेरै रहेको उनी बताउँछन्। ह्याकुला फ्राइलाई जिराको छोपसँग पनि खान सकिन्छ।
रिब्स कवाबः खसीको करङको कवाब पनि बाजेको सेकुवाका ग्राहकले रूचाइएको परिकार हो। यो नेपालीको विशेष भाडा कसौडीमा तयार गरिने सेफ बताउँछन्। रिब्स कवाबसँग चिउरा, भुटेको भटमास, मुलाको अचार र सलादसँग सर्भ गरिने उनले बताए। कसौडीमा बाजेको मसला राखी रिब्स कवाब पकाइने भएकाले यो निकै स्वादिलो हुने उनले बताए। रिब्स कवाब खाजाको रूपमा धेरैको रोजाइमा पर्ने उनले बताए।
गर्मीमा वाटर मेलन जुस, भर्जिन मोजितो, मिन्ट म्यांगो, म्यांगो मोजितोको मकटेलको स्वाद लिन सकिने उनी बताउँछन्।
बाजेको सेकुवा विशेष गरी खसीको सेकुवाको लागि चिरपरिचित छ। खसीको सेकुवा सेट, चिकेन सेकुवा, झानेको सेकुवा, प्लेन सेकुवा, भेज सेकुवाको स्वाद पनि खान सकिन्छ। नेपालीमा बाहिर गएर खाने कल्चर बिस्तारै बढेको अनुभव सञ्जिव सुनाउँछन्। उनी भन्छन्, ‘ग्राहकले बाजेको सेकुवाको सिग्नेचर खानाको परिकार मेन्यु हेरेपछि मात्र मगाउँछन्, धेरैले नयाँ स्वाद चाख्न खोज्छन्।’ बाजेको सेकुवामा फोक्सो फ्राई, मटन छोइला, मटन सुकुटी फ्राई, सुकुटी साँधेकोलगायत परिकार ग्राहकको रोजाइमा पर्ने सञ्जिव बताउँछन्।
उनका अनुसार बाजेको सेकुवामा खसीको मासु चिल्लो हुन्छ। त्यसकारण यसलाई ब्यालेन्स गर्न मुलाको अचार, बिटरुटको सलाद राख्ने सञ्जिव बताउँछन्। उनी भन्छन्, ‘हामीकहाँ पाइने परिकार ग्रिल गरेर तयार पार्छौ, यसले फ्याट पग्लिएर जान्छ र खास असर गर्दैन।’

प्रकाशित: ११ जेष्ठ २०७६ ०३:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App