पुराना गहना खोज्दै नयाँ पुस्ता

बुधबार, १० कार्तिक २०७३, १० : २५ सन्तोष न्यौपाने  | @santyneupane

काठमाडौं-बानेश्वर बस्ने चितवनकी दिपा गुरुङले दसैमा नाकमा लगाउने फुली बनाइन्। गुरुङ गरगहनामा धेरै सौखिन त होइनन् तर पछिल्लो समय परम्परागत रुपमा चल्दै आएका गहनाले फेसनको रुपमा लिन थालेपछि नाकको फुली बनाउन रहर चलेको हो उनलाई।

‘साथीहरूले फुली, नौगेडी जस्ता पुराना गहना बनाएका छन्,’ न्युरोडमा भेटिएकी गुरुङले भनिन्, ‘चाडपर्व, मेलामा साथीहरूले पुराना डिजाइनका गहना लगाउन थालेपछि मलाई पनि रहर लाग्यो ।’

गुरुङले भने जस्तै पछिल्लो समय ‘ट्रेडिसनल’ गहनाको फेसन चलेको छ । नाकको फुली, तिलहरी, नौगेडी, जून क्लिप, नेपाली चुरा, जन्तर जस्ता पुराना गहनाले नयाँ पुस्तालाई लोभ्याएको छ । बूढापाका आमा, हजुरआमाले गाउँघरमा लगाएको देखिने यस्ता गहना आजभोलि सहज बजारमा नयाँ पुस्ताले टपक्क टिपेका छन् ।

यसको प्रमाण राजधानीका गहना पसलमा भएका ‘डिमान्ड’ले पनि देखाउँछ । राजधानीमा चलेको रिद्धिसिद्धि गहना पसलमा आउने नयाँ पुस्ताले पुराना डिजाइनका गहना धेरै माग गर्ने यसका प्रबन्धक नरेन्द्र के गुप्ताले बताए । ‘ट्रेडिसनल गहना खोज्ने नयाँ पुस्ता धेरै देखिएका छन्,’ गुप्ताले भने, ‘यसले गर्दा नेपाली गहनाको माग पनि बढेको छ ।’

पछिल्लो तीन वर्षदेखि परम्परागत रुपमा चलेका गरगहनाको माग ह्वात्तै बढेको गुप्ताको भनाइ छ । यसको प्रभाव अझ बढी विदेशमा बस्ने नेपालीमा रहेको छ । विदेशमा बस्ने नेपाली महिलाले नेपाली परम्परा झल्काउने गहनाको माग धेरै गर्छन् । ‘कुनै सभा सम्मेलन हुँदा नेपालीपन झल्काउने गहना लगाउन चाहन्छन् उनीहरू,’ गुप्ताले भने, ‘त्यसैले नेपालबाट यस्ता गहना लिएर जान्छन् ।’

पछिल्लो समय आधुनिक र परम्परागत दुई किसिमका गहनाको माग रहेको बैभव लक्ष्मी गहना पसलका रोजेश शाक्यले बताए । ‘ट्रेडिसनल र आधुनिक दुवै किसिमका गहनाका माग छ अहिले,’ शाक्यले भने, ‘नयाँ पुस्ताले जन्तर, नौगेडी, नेपाली चुरा जस्ता गहना लगाउन थालेका छन् ।’

नयाँ पुस्तालाई भारतीय टेलिभिजन सिरियलको प्रभाव परेको आरके ज्वेलरीका प्रबन्धक राजेन्द्रकुमार शाक्य बताउँछन् । उनका अनुसार भारतीय टेलीसिरियलहरूमा जस्ता गहना र यसका डिजाइन देखिन्छन् त्यस्तै गहना बनाइदिन भन्दै धेरै आउने गरेका छन् । ‘गहनाको डिजाइनमा भारतीय टेलिभिजनको प्रभाव छ,’ शाक्यले भने, ‘सिरियलमा नायिकाले जस्तो लगाउँछन् त्यस्तै खोज्छन् यहाँ पनि।’

पोहोर साल भूकम्पले गर्दा चाडपर्वमा गरहनाको व्यवसाय राम्रो हुन सकेन । विस्तारै बजार आफ्नै लयमा फर्किसकेको छ । यसपालि सुनचाँदीमा राम्रो व्यापार भएको व्यवसायी बताउँछन् । दसैंमा पहिले जस्तै व्यवसाय राम्रो गरेको व्यवसायी तिहारमा पनि त्यस्तै हुने अपेक्षा गरेका छन् । यस दसैंमा सुनको भाउ घटेर पनि व्यापार राम्रो भएको हो । ‘तिहारमा अझ राम्रो हुने अपेक्षा गर्न सकिन्छ,’ २९ वर्षदेखि गहना व्यापार गर्दै आएका आरके शाक्यले भने । रिद्धिसिद्धिका गुप्ताका अनुसार पछिल्लो समय ३५ देखि ४० लाखको सुनको कारोबार भइरहेको छ।   

नेपाली गहना स्वदेश र विदेश दुवैतिर उत्तिकै माग भए पनि त्यसको फाइदा लिन नसकेको व्यवसायी बताउँछन् । भारतमा नेपाली गहनाको जति माग छ त्यसको एक प्रतिशत मात्र निर्यात गर्न सके नेपाली सुनचाँदी व्यवसायले फड्को मार्ने व्यवसायी बताउँछन् । तर त्यस अनुसारको सुविधा, नीति–नियम र व्यवस्था नभएको व्यवसायीको गुनासो छ।

विदेशमा नेपाली गहनाको माग धेरै भए पनि यताबाट पठाउन राम्रो व्यवस्था नभएको गुप्ताको भनाइ छ । ‘विदेशमा नेपाली गहनाको माग बढ्दो छ,’ गुप्ताले भने, ‘तर यहाँबाट पठाउने राम्रो व्यवस्था छैन ।’ सरकारले निर्यातको व्यवस्था नगरिदिँदा व्यक्तिले हात–हातमा मात्र लगिरहेकोका छन् । उताबाट माग भए बमोजिम कुरियरको राम्रो सुविधा हुने हो भने नेपाली सुनचाँदी व्यवसाय फस्टाउन सक्ने उनको भनाइ छ। सरकारले निर्यातको राम्रो व्यवस्था नगरिदिँदा यताबाट जानेसँग गहना पठाउने गरेको व्यवसायी बताउँछन् ।

नेपाली गहनाको माग सबैभन्दा धेरै भारत, बेलायत, अमेरिकामा रहेको व्यवसायी बताउँछन् । बेलायतमा बस्ने ब्रिटिस गोर्खा नेपालीले नेपाली गरगहना धेरै माग गर्ने गरेका छन् । नेपाली समाज भएको हङकङ, सिंगापुरमा पनि नेपाली गरगहनाका माग छ । विदेशमा ठूलो संख्यामा रहेका नेपालीलाई उनीहरूको माग अनुसार पठाउन नसक्दा भारतबाट यस्ता गहना निर्यात हुन थालेको व्यवसायी बताउँछन् । 

गुप्ताले चीनमा नेपाली गणेशको मागको उदाहरण दिए । चीनमा नेपाली गणेशको धेरै माग छ । तर, नेपालबाट माग अनुसार पठाउन नसक्दा  भारतबाट निर्यात भइरहेको छ । यसले नेपाली  व्यवसायमा प्रत्यक्ष घाटा भइरहेको व्यवसायी बताउँछन् । 

त्यस्तै, नेपाली गहनालाई उत्कृष्ट बनाउनको लागि कालिगढलाई राम्रो तालिमको व्यवस्था हुनुपर्ने व्यवसायी बताउँछन् । नयाँ पुस्ताले नयाँ, पुराना डिजाइनका गहना माग गर्छन् । उनीहरूको माग अनुसारका उत्कृष्ट डिजाइन दिन सके देशमा मात्र नभएरर विदेशमा पनि धेरै मात्रामा निर्यात गर्न सकिने गुप्ताको भनाइ छ ।

व्यवसायीले चाहिए जति सुन नपाउनु अहिलेको समस्या रहेरको रोजेश शाक्य बताउँछन् । सुनचाँदी व्यवसायी संघमार्फत बैंकबाट सुन कुरेर लिनुपर्ने स्थिति भएको उनको भनाइ छ । त्यो सुनले नपुगेपछि ग्राहकबाट बेच्न ल्याएको सुनमा भर पर्नुपरेको उनले बताए । ‘अहिले ग्राहकबाट पुराना सुन लिएर माग पूरा गरिरहेका छौं,’ शाक्यले भने, ‘सरकारले चाहिए जति सुन दिन सकेको छैन ।’ सरकारले राम्रो नीति–नियम बनाउन नसकेको व्यवसायीको आरोप छ ।

गुणस्तरमा पनि सुधार हुँदै गएको व्यवसायी दाबी गर्छन् । ‘प्रतिस्पर्धा बढ्दै जाँदा गुणस्तरीय गहना दिनुपर्ने स्थिति छ,’ गुप्ताले भने, ‘अहिले ग्राहक पनि धेरै सचेत भएका छन् ।’ सरकारले सुन तथा सुनमिश्रित धातु, गरगहना सामानको शुद्धता, विशिष्टता परीक्षण गर्ने भनेर हलमार्क पद्धति लागू गर्ने भनेको धेरै भइसक्यो । सुन चाँदीका गहनाको हालसम्म कुनै जाँच तथा परीक्षण हुने गरेको छैन ।

हलमार्क पद्धतिका लागि भने व्यवसायी पनि सकारात्मक देखिएका छन् । व्यवसायीले यो नियम तुरुन्त लागू गर्न आग्रह गरिरहेका छन् । अर्डर अनुसारको गरगहना बनाएर, प्रक्रिया पु¥याएर व्यवसाय गरेमा व्यवसायीप्रति उपभोक्ताको विश्वास अझै सबल बन्ने व्यवसायीको भनाइ छ । अहिले उपभोक्ताले विश्वासको भरमा मात्र सुन खरिद गरेका छन् । हलमार्किङ पद्धति भएपछि सुनमा शुद्धता कति छ, सुनको मात्रा, फलामको मात्रा कति छ भनेर जान्न सजिलो हुन्छ । अहिले भइरहेको मेसिनले जाँच गर्दा भने सुनको मापन गर्न गाह्रो हुने व्यवसायीको भनाइ छ ।

व्यवसायीका अनुसार हलमार्किङ पद्धति भए गहना निर्यात गर्न समेत सहज हुनेछ । अन्तर्राष्ट्रिय मापदण्डमा आधारित भएर निर्यात गर्दा नेपाली गहनाका ब्रान्ड स्थापित हुन सक्छ । विभिन्न मुलुकबाट आउने पर्यटकले समेत सुनका गरगहना खरिद गर्ने गरेकाले हलमार्किङ प्राप्त गरेपछि अर्डर गरेका सुनका गहनाको विदेशमा पनि माग हुने व्यवसायीको विश्वास छ ।

सुन र बहुमूल्य गहनाको गुणस्तर कायम राख्न र उपभोक्तालाई ठगिनबाट जोगाउन सरकार र व्यवसायीबीच सुन गुणस्तर मापदण्ड ल्याउने सहमति भए पनि हालसम्म आउन सकेको छैन ।

हलमार्किङ व्यवसायीको लागि बाध्यात्मक नियम भने होइन । व्यवसायीले ग्राहकको लागि सुविधा र विश्वासको लागि यो सुविधा लिन सक्छन् । हलमार्किङ व्यवस्थित र प्रभावकारी रुपमा लागू भएमा यो बाध्यात्मक नियम नै बनाउन सकिने गुणस्तर तथा नापतौल विभागले जनाएको छ ।

हलमार्किङको व्यवस्था भएका आधुनिक शैलीमा फस्टाउँदै गएको नेपाली गरगहनाको बजार अझ विस्तार हुने थियो।








यसमा तपाईको मत

अन्य समाचार

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

लामो समयदेखि कपडा व्यवसायमा संलग्न रुपेश पाण्डेले पछिल्लो समय ब्रान्डेड कपडा ल्याएर बिक्री गर्दै आएका छन् । ...

भन्सार छलीको चिनी नियन्त्रणमा

भन्सार छलीको चिनी नियन्त्रणमा

भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल ल्याएको करिब डेढ लाखको चिनी प्रहरीले बरामद गरेको छ । ...

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

राष्ट्रिय बिमा कम्पनीले थप नयाँ दुई बिमालेख बजारमा ल्याउने भएको छ । ...

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ...

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा चन्द्रशेखर खड्का नियुक्त भएका छन् । ...

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपोले आफ्नो रेनो सिरिज अन्तर्गतको रेनोटू एफ नेपाली बजारमा सार्वजनिक गर्ने मिति घोषणा गरेको छ। ...

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्ट सरफेस डुवो र माइक्रोसफ्ट सरफेस नियो सार्वजनिक गरेर प्रविधिको जगतलाई आश्चर्य चकित पारेको छ ...

एप्पलले सोचेभन्दा धेरै आइफोन ११ को माग

एप्पलले सोचेभन्दा धेरै आइफोन ११ को माग

एप्पलको नयाँ आइफोन - आइफोन ११ को माग निकै उच्च रहेको छ ! ...

Ncell Footer Ad