coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्य

कर्मनासाको ७ रोपनी जग्गा भूमाफियाको कब्जामा

सार्वजनिक जमिन खोसिए पनि साँघुरिएको कर्मनासा खोला। तस्बिर: शिवहरि/काष्ठमण्डप

ललितपुरको हात्तिवनस्थित सिलौटेमा पर्ने कर्मनासा आसपासको ७ रोपनी जमिन भूमाफिया कब्जामा परेको छ। जग्गा व्यवसायीले खोलाको जग्गा मिचेर प्लटिङ गरेर जग्गा बिक्री वितरण गर्न थालेसँगै खोलाको वहाबक्षेत्र साँघुरिनुका साथै खेतीयोग्य जमिन टुक्रा–टुक्रामा खण्डीकरण भएको छ।

२०२२ सालको नापी–नक्सा अनुसार खोला र खोला आसपासको सार्वजनिक जग्गा करिब ७ रोपनी रहेकामा पछिल्लो २०७० को नक्सा अनुसार त्यही जग्गा मुस्किलले ६ आना पनि छैन। जग्गा व्यवसायीले खोला र आसपासको जग्गा मिचेपछि खोलाको क्षेत्रफल खुम्चिएको छ भने अन्य सार्वजनिक जग्गा पनि व्यक्तिको नाममा दर्ता भएको छ। २०२२ सालको नक्सा अनुसार सिलौटको कित्ता नम्बर २८४, २८३ र १७० को बायाँ साइटमा ७ रोपनी सार्वजनिक जग्गा छ। तर, पछिल्लो २०७० सालको नक्सा अनुसार युरो हाउजिङ डेभ्लोपर्सले उक्त जग्गामा आफ्नो नाममा गराएको छ।

जिल्ला नापी कार्यालय, मालपोत कार्यालय र कम्पनीका सञ्चालकको मिलोमत्तोमा सार्वजनिक जग्गा कब्जामा परेको प्रमाण भेटिएको छ। सार्वजनिक जग्गालाई व्यक्ति र कम्पनीका नाममा गर्नका निम्ति कर्मचारीको दाहिते हात रहेको स्थानीयवासीको आरोप छ। ‘खोला किनारको जग्गामा व्यवसायीको मनलाग्दी छ, मालपोत र नापी कार्यालयसँग मिलेर सार्वजनिक र खोलाको खोलाको मुख्य भाग खोसिएको छ,’ हात्तीवनका एक स्थनीयवासीले भने, ‘तर, प्रशासनिक निकायले यसबारे कुनै चासो देखाएको छैन, जग्गा कारोबारमा केही सरकारी संस्थाले सघाएका कारण कर्मनासा क्षेत्रको जग्गा मिचिएको हो।’ 

युरो हाउजिङ डेभ्लोपर्स कम्पनीले सार्वजनिक जग्गा आफ्नो नाममा हडप्दै लालपूर्जा बनाइसकेको स्थानीय धु्रव श्रेष्ठले जानकारी दिए। उनका अनुसार कम्पनीले उक्त सार्वजनिक जग्गा आफ्नो नाममा बनाएर हाल बिक्री गर्न खोजिरहेको छ। ०७० सालको नक्सामा खोला क्षेत्रको जग्गालाई ‘व्यक्तिको जग्गा थपेर खोला बचाइएको’ भनेर लेखिएको छ। तर, पुरानो नक्सा अनुसार खोला र आसपासको जमिन ७ रोपनीभन्दा बढी रहेको किटान गरिएको छ।

‘सार्वजनिक जग्गा लगभग व्यक्तिका नाममा दर्ता भएको छ, ‘नागबेली लय’मा बगेको खोलालाई सिधा पारेका जग्गाको कारोबार गर्न थालिएको छ,’ श्रेष्ठले भने, ‘अहिले युरो हाउजिङले सार्वजनिक जग्गा आफ्नो नाममा बनाएर बिक्री गर्न खोजिरहेको छ।’ यसबारे प्रमुख जिल्ला अधिकारी पदमराज जोशी, मेयर चिरिबावु महर्जन, भूमिसुधार कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय लगायतमा ध्यानाकर्षण गराइसकेको उनको भनाई छ।  

२०२२ को नक्सा अनुसार कर्मनसा खोला रहेको क्षेत्रमा ७ रोपनीभन्दा बढी सार्वजनिक जग्गा रहेपनि पछिल्लो २०७० को नक्सा अनुसार त्यही जग्गा मुस्किलले ६ आना पनि छैन। जग्गा व्यवसायीले खोला र आसपासको जग्गा मिचेपछि खोलाको क्षेत्रफल खुम्चिएको छ। अन्य सार्वजनिक जग्गा पनि व्यक्तिको नाममा दर्ता भइसकेको छ।

हात्तीवनका स्थानीय विकास महर्जनका अनुसार पुरानो नक्सामा खोलाको मात्रै वहाव क्षेत्र २ सय २० फिट छ। पुरानो नक्सालाई दाज्दा खोलाको वहाव क्षेत्र निकै साँघुरिएको छ। ‘यस क्षेत्रको जग्गामा पहिलेदेखि नै जग्गा व्यवसायीको चलखेल भइरहेको छ, हामीले खोला आसपासको जमिन पुरानो नक्सासँग दाज्दा कसैगरी मेल खाँदैन। मुस्किलले २० फिट मात्रै पुग्छ,’ उनले भने।

उनले खोलाको धारै परिवर्तन गरेर जग्गा व्यवसायीले प्लटिङ गरेको बताए। पाँच वर्ष अघिसम्म २ सय २० फिट क्षेत्रफल भएर बग्ने खोला अहिले २० फिटमा झारिएको उनको भनाइ छ। कर्मनासा क्षेत्रको जमिन कृषि उत्पादनको लागि उर्वर जमिन मानिन्छ। विगतका यही खोलाको पानी प्रयोग गरेर खेती गर्थे। अहिले खोलाको पानी धमिलो भएको छ।

कृषियोग्य जग्गालाई टुक्राएर किनबेच गर्न थालिएको छ। कर्मनासा खोला आसपासको करिब दुई सय रोपनी उत्पादनमुखी खेतबारी पनि टुक्रे जग्गामा परिणत भएको छ। यसले यहाँको जग्गाको मूल्य पनि बढाएको स्थानीय स्थानीय राजेश मालीले बताए। उनले इँटाभट्टा र प्लटिङले पछिल्लो समय खेतीयोग्य उर्वर माटो रुखो र कडा बनाएको बताए। ‘यहाँ खोलाको पानी पनि आउँथ्यो, उत्पादन पनि रामै्र हुन्थ्यो। तर, जग्गा किनबेच हुन थाले पनि सार्वजनिक जग्गा समेत बाकीँ रहन दिइएन,’ उनले भने।

यस क्षेत्रमा जग्गा व्यवसायीले खोला आसपासको जग्गा मिच्दै पर्खाल उठाएपछि कर्मनासा साघुँरिएको छ। अहिले पनि खोला आसपासमा जमिन भएका व्यक्तिले खोलाको जग्गा पर्खाल उठाएर छुट्याइदिएको छ। खोलाको जग्गासँग आफ्नो जग्गा छुट्याउँदा केही जग्गा मिचिएको छ। ‘वरपर सबैले प्लटिङ र पर्खाल लगाएर आफ्नो जग्गा छुट्याइसके, हामीले पनि आफ्नो जग्गा प्लटिङ गरेर छुट्याउँदै छौं,’ स्थानीय हरि थापाले भने। उनका अनुसार सबैले आ–आफ्नो जग्गा सुरक्षित गर्ने बेलामा पनि खोलाको जग्गा मिचेर पर्खाल उठाइरहेका छन्।

पुरानो धार अनुसार कर्मनसा खोला (हातिवन सिलौटै)बाट करिब २ सय मिटर वरको साइट हुँदै बग्नुपर्ने हो। यसलाई हेर्दा खोला बग्ने क्षेत्र सिलौटे–हात्तिवन पर्छ। तर, अहिले त्यहाँ पुगेर खोलाको अवस्था हेर्दा अचम्म लाग्छ। जग्गा व्यवसायीले खोला डाइभर्सन गरेरै धापाखेलपट्टि फर्काइदिएका छन्। यो खोला सानागाउँ, टीकाथली, इमाडोल हुँदै बग्ने गोदावरी खोलामा मिसिन्छ। सिलौटे–हात्तीवनदेखि इमाडोलसम्म नै यो खोलाको बहाव क्षेत्र साँघुरो पारिएको छ। हरिसिद्धिका स्थानीयवासीका अनुसार पाँच वर्षअघिसम्म खोलाको बहाव क्षेत्र फराकिलो थियो।

जिल्ला मालपोत कार्यालयका ललितपुरका प्रमुख भीमकान्त पौडेलले यसबारे कार्यालयले कागजात संकलन र विरवरण खोजी गरेको बताए। ‘यसबारे मलाई खासै जानकारी छैन, युुरो हाउजिङले डेभ्लोपर्स कम्पनीले नै खोलामा क्षेत्रको जग्गा आफ्नो नाममा गराएको थाहा पाएको छु, मैले यसबारे प्रमुख जिल्ला अधिकारीज्यूलाई पनि जानकारी गराएँ,’ उनले भने, ‘अहिले तत्काललाई उक्त क्षेत्रको जग्गा बिक्री वितरणमा रोक लगाएका छौं।’

उनले नापी कार्यालयबाट नै सार्वजनिक जग्गामाथि चलखेल भएको हुनसक्ने बताए। ललितपुर महानगरपालिकाका मेयर चिरिबावु महर्जनले यसबारे महानगरको ध्यानाकर्षण भएको जानकारी दिए। उनले पुरानो र नयाँ नक्सा दाँजेर खोलाको क्षेत्र र सार्वजनिक जग्गा संरक्षण गरिने बताए।

ललितपुर महानगरपालिका–१५ का वडाध्यक्ष शुदर्शन मिश्रले जनप्रतिनिधि आएपछि त्यसतर्फ निगरानी बढाएको जानकारी दिए। ‘यस क्षेत्रबाट बालकुमारीसम्म जोडिने करिडोर खोल्ने योजना अघि बढेकोले खोला आसपासका घरहरु भत्काउँछौं,’ उनले भने, ‘यहाँ धेरै पहिलेदेखि मनपरी रुपमा घर बनाएर बस्दै आएका केही समुदाय छन्। करिडोरको काम सुरु भएसँगै ती सबै हटाउँछौ।’ २०२२ सालको नक्सा अनुसार कर्मनासा क्षेत्रको सार्वजनिक जग्गा र खोलाको क्षेत्रफल।

प्रकाशित: ११ जेष्ठ २०७६ ०२:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App