१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

युनिस पुरानै धन्दामा

काठमाडौं - भारतीय जाली नोट तस्करी प्रकरणमा युनिस अन्सारी पुरानो नाम होइन। लामो समय जेल बसेपछि धरौटीमा रिहा भएको दुई वर्षमै उनी पुरानै जाली नोट तस्करी धन्दा गरेको अभियोगमा शुक्रबार प्रहरीको फन्दामा परे।
२०७४ फागुन २ गते सुटुक्क धरौटीमा रिहा भएका अन्सारीले त्यसयता सानो परिमाणमा जाली नोट तस्करी गर्दै आएका भए पनि शुक्रबार भने उनी ७ करोड ६७ लाख ९४ हजार मूल्यबराबरको जाली नोट लिन विमानस्थल पुग्दा गाडीसहित पक्राउ परे।

पक्राउ गरी प्रहरीले पत्रकार सम्मेलन गर्दा पनि उनले अनुहार छोप्न मानेनन्। आफूले अनुहार छोप्नुको कुनै अर्थ नभएको भन्दै जस्ताको तस्तै पानीको बोतल लिएर पत्रकार सम्मेलनमा देखा परे। उनले भारतीय जाली नोट तस्करीमा आफू संलग्न रहेको सहजै स्वीकार गरे। महानगरीय प्रहरी कार्यालयका प्रमुख डिआइजी शैलेश थापाका अनुसार अन्सारीमा गल्ती गरेको भाव देखिएको छैन।

प्रहरीले अन्सारीका साथै अन्य ६ जनालाई पनि पक्राउ गरेको छ। पक्राउ पर्नेमा पाकिस्तानी नागरिकहरु राहदानी नम्बर एआर २४०६४३२ बाहक ६७ वर्षीय नासिर उद्दिन, राहदानी नम्बर एए १३४५४९४ बाहक ४९ वर्षीय मोहमद अख्तर र राहदानी नम्बर सिएन १८२२०३२ बाहक ३९ वर्षीय नादिया अनवर रहेका छन्। उनीहरुले पाकिस्तानी नागरिक सिकन्दर भन्ने व्यक्तिले पठाएको जाली नोट नेपालमा अन्सारीलाई दिन ल्याएका थिए। पाकिस्तानी नागरिक सिकन्दरको नाम जाली नोट प्रकरणमा धेरै पटक मुछिँदै आएको छ। तर प्रहरीले ती व्यक्ति यिनै हुन् भनेर अहिलेसम्म बताउन सकेको छैन।

जेलबाट छुटेका उनी सात करोड ६८ लाखका जाली नोटसहित फेरि पक्राउ परेका छन्।

पक्राउ पर्नेमा अन्सारीसँगै विमानस्थल पुगेका रौतहटका सुयल खान (अन्सारीको साला) र गाडी चालक भक्तपुर सूर्यविनायक नगरपालिका ५ बालकोट बस्ने सुदन रानाभाट रहेका छन्। पक्राउ परेका पाकिस्तानी नागरिक सुरुमा कतार गएका थिए। त्यहाँबाट कतार एयरको फ्लाइट नम्बर क्युआर ६४४ बाट काठमाडौं आएका हुन्। नेपालमा २ हजार दरको नोटमात्रै प्रयोग हुन्छ भन्ने थाहा पाएपछि उनीहरुले सबै २ हजार दरकै जाली नोट दुईवटा सुटकेसमा राखेर ल्याएका थिए।

कसरी समातिए अन्सारी

अन्सारी गत एक वर्षदेखि जाली नोट धन्दामा सक्रिय रहेको बताए पनि प्रमाण फेला नपारेपछि प्रहरीले उनलाई पक्राउ गर्न सकेको थिएन। विमानस्थल सुरक्षा गार्ड प्रमुख रहेका एसएसपी सन्दीप भण्डारीलाई चार दिनअघि ठूलै सामान नेपाल छिर्दै वा बाहिरिँदै छ भन्ने सूचना आयो। त्यसयता उनको टोली निकै सक्रिय थियो तर केही फेला परेको थिएन। शुक्रबार बिहान पनि भण्डारी अघिपछिजस्तै सामान्य अवस्थामै खटिएका थिए तर सादा पोसाकका प्रहरी कर्मचारी भने निकै सक्रिय थिए।

‘हामी एउटा अपरेसनमा छौं, दुई दिन हामीलाई समय दिनुस्,’ उनले आफ्ना हाकिमलाई यही जानकारी गराए, थप कुरा केही बताएनन्। भण्डारीले शुक्रबार बिहान ९ बजे महानगरीय प्रहरी कार्यालय रानीपोखरी र प्रहरी प्रधान कार्यालयमा जाहेरी गरे– अन्सारी जाली नोटसहित फेरि पक्राउ परे। त्यसपछि भन्सार अधिकारीसँगै उनको टोली नोट गन्न लाग्यो र चार बजे सार्वजनिक गरियो।

२०६६ माघ १६ गते युनुस पहिलो पटक भारतीय नक्कली नोटसहित पक्राउ परेका थिए। उनी पक्राउ परेको यो तेस्रो पटक हो। उनी नक्कली नोट कारोबारमा २०७० माघमा पनि पक्राउ परेका थिए।

प्रकाशित: ११ जेष्ठ २०७६ ०१:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App