coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
भिडियो

'मेरो अर्को खुट्टा भन्नु नै साइकल हो'

काठमाडौं–२०६९ सालमा काठमाडौबाट धादिङतर्फ जाँदै गरेको बस दुर्घटनामा पर्छ। आफ्नै बाबुसँग दशैं मनाउन घर हिँडेका १३ वर्षे युवक लामाको बसले थिचेर दायाँ खुट्टा काट्नु पर्ने हुन्छ। अस्पतालबाट निस्किएपछि युवक पुन धादिङ तर्फ लाग्छन्। गाउँठाउँको अग्लो होचो बाटोमा व्हीलचेयरको साहारामा हिँड्न मुस्किल पर्छ उनलाई। त्यतिबेला धादिङको बिर्ताडाँडामा कक्षा ६ मा पढ्दै गरेका लामाको असहज स्थिति देखेर उनका दिदी भिनाजुले उनलाई काठमाडौंस्थित खगेन्द्र नवजीवन केन्द्रमा भर्ना गरिदिन्छन्।

९ कक्षा सम्म लामा जेनतेन स्कुल बसमै आवतजावत गर्थे तर आफू भन्दा अग्रज दाइहरु एसएलसी दिएर गएपछि उनलाई लिन स्कुल बस आएन। सार्वजनिक यातायात पनि नझेलेका होइनन् उनले। सार्वजनिक यातायातले नरोकिदिने, पैसा तिर्दैन होला भनेर सहचालकले धम्काउने र भएको अपाङ्ग सीट पनि आफूले नपाउने कारण उनी पीडित बन्छन्। साइकल चलाउन सके यो समस्याबाट मुक्ति पाउन सकिने उनको दिमागले सोच्छ। साइकल त चलाउने तर एक खुट्टा छैन, यो कसरी सम्भवन हुन्छ? उनको मनमा प्रश्न खेल्छ।

तर पनि उनले साइकल चलाउने अठोट लिन्छन्। आफ्नो शारीरिक अवस्थाले साइकल कुदाउन निकै आफ्ठ्यारो भयो उनलाई। आफू सीटमा बसेर हेन्डल मात्र गर्थे र साथीले साइकल डो-याइदिन्थे। त्यही दौरान उनको एक खुट्टाबाट साइकल चलाउने यमलाल रसाईलीसँग भेट भयो। रसाइलीकै प्रेरणाबाट उनले एक खुट्टाबाट साइकल चलाउन सिके।

लामा एक दिन भान्जाको साइकल लिएर हिँड्दा अर्जुन राणासँग भेट भयो। राणाले उनलाई साइकल राइडमा निमन्त्रणा दिए। सोही भेटघाटमा राणाले उनलाई हार्टबिट भन्ने संस्थासँग परिचय गराए र, उनलाई त्यो संस्थाले एउटा साइकल प्रदान ग¥यो। अहिले गीता माता विद्यालयमा कक्षा ११ को परीक्षा दिएर युवक लामा प्याङ्ग बाइकमा आवद्ध छन्।

साइकल नै चढेर उनी देशका विभिन्न स्थानहरु पुगिसकेका छन्। उनले काठमाडौंबाट हेटौँडा,नेपालगन्ज, कोशी टप्पु, गाईघाट र अन्य विभिन्न स्थान घुमिसकेका छन्। यस्तो अवस्थामा साइकल कुदाउन उनले आफ्नो शारीरिक अवस्था अनुकुल साइकलको स्वरुप पनि परिवर्तन गरेका छन। यसका लागि चाहिने स्पीडी र जुत्ता प्रयोग गर्छन उनी।

उनले साइकल कुदाएको देखेर बाटोमा धेरै मानिसहरुले अनौठो प्रतिक्रिया दिन्छन्। कसैले त भएको अर्को खुट्टा पनि भाँचिएला भन्ने टिप्पणी दिएको सुन्दा उनलाई राम्रो लाग्दैन। दृढ इच्छाशक्ति भएका उनमा केही गर्ने इच्छा छ। साइकललाई अर्को खुट्टा मान्ने युवक साइकल राइडकै माध्यमबाट धेरै साथीहरु चिनेकोमा खुसी छन्। आजकल उनको हँसिलो व्यवाहार र दृढ इच्छाशक्तिका कारण हरेक राइडमा उनको खोजी हुन्छ।

लामा काठमाडौंको प्याङ्ग बाइकमा दिउँसो डाटा इन्ट्रीको काम पनि गर्छन। युवकलाई आफुले पाउने पर्ने अपाङ्ग भत्ता नपाएकोमा चाँही गुनासो रहेको छ। आगामी दिनमा युवक पारा ओलम्पिकमा भाग लिएर देशको नाम राख्न चाहन्छन् र त्यही अनुसारको तयारी पनि गरिरहेकै छन्। तर, सहभागितामा लाग्ने खर्च देखेर झस्किन्छन्।

 दृढ इच्छाशक्ति र आत्मविश्वास राखे कुनै काम पनि असम्भव छैन भन्ने जीवन्त उदाहरण हुन् युवक लामा। आफ्नो जोश र लगनशीलताले उनी धेरैका लागि युवक लामा प्रेरणाका स्रोत भएका छन्।

प्रकाशित: १० जेष्ठ २०७६ ११:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App