८ वैशाख २०८१ शनिबार
अन्य

बेगनासमा फिस फेस्टिवल हुने

पोखरा–सात तालको बगैंचा सहर लेखनाथमा जेठको दोस्रो सातादेखि फिस फेस्टिवल तथा कृषि व्यापार मेला हुने भएको छ। यसअघि फिस फेस्टिवलको रूपमा हुँदै आएको महोत्सवलाई यस वर्ष कृषिसँग जोडेर फिस फेष्टिवल तथा कृषि व्यापार मेला गर्न लागिएको हो।

होटल तथा रेस्टुरेन्ट एशोसिएसन लेखनाथ र जिल्ला मत्स्य व्यवसायी समिति कास्कीको संयुक्त आयोजनामा हुने पाँचौं संस्करणको महोत्सव यही जेठ १३ गतेदेखि २० गतेसम्म हुने लेखनाथको बेगनासतालमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो।

भेस्टिवलमा वेगनासताल, फेवाताल, रूपाताल, दिपाङ, मैदी र खास्टे ताल तथा स्थानीय पोखरी र जलाधार क्षेत्रमा रहेका माछा विक्री तथा वितरणमा राखिने फेष्टीवल संयोजक दामोदरभक्त थापाले जानकारी दिए। फेस्टिवलमा २३ प्रकारका माछाहरू बिक्रीका लागि राखिनेछ भने माछाको झोल, माछा फ्राई, माछा सुकुटी, माछा पोलेको लगायतका परिकारको स्वाद लिन पाइने उनले बताए।

त्यस्तै, माछाको बारेमा जानकारी लिन चाहनेहरूको लागि मत्स्य अनुसन्धान केन्द्रबाट परामर्श दिने व्यव्स्था, बिरामी माछाको जाँच तथा औषधीसमेत गर्ने व्यवस्था मिलाइने संयोजक थापाले बताए।

बेगनाससहित सात ताल नजिकका क्षेत्रको पर्यटकीय स्थलहरूको प्रचार प्रसार गर्नु, आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्नु, त्यहाँ उत्पादित माछा, मह, कफी, जडीबुटीको प्रचारप्रसार, स्थानीय माछाको संरक्षणसहित ताल संरक्षण गर्ने उद्देश्यले फेस्टिवल आयोजना गरिएको एसोसिएसन लेखनाथका अध्यक्ष कृष्णप्रसाद तिमिल्सिनाले जानकारी दिए। उनले सात ताल, जैविक विविधता, मनोरम हिमशृंखला, विभिन्न जातका चराचुरुंगी, जंगली जीवजन्तुलगायतको संरक्षण गर्न पनि महोत्सवले सहयोग पुग्ने बताए। पर्यटनमा अफ सिजन मानिने यो बेला गरिएको महोत्सवले सुस्ताएको आर्थिक क्षेत्रलाई चलायमान गराउने अपेक्षा गरिएको उनले बताए।

फेस्टिवलको अवसरमा मोटरबोटमा ताल सयर तथा वराह मन्दिर दर्शन गर्ने व्यवस्था, विभिन्न घरायसी सामान एकै थलोमा उपलब्ध हुने, माछा, मह तथा कफी प्रदर्शनी तथा बिक्री, जडीबुटी प्रदर्शनी गरिने भएको छ। फेस्टिवलको अवसरमा लेखनाथको अग्लो स्थानमा रहेको सुन्दरीडाँडा भ्यु टावरको अवलोकन तथा लेखनाथको पचभैयामा निर्माणाधीन पोखरा जुलोजिकल पार्क अवलोकन गराइने लेखनाथ होटल तथा रेस्टुरेन्ट एसोसियसनका पूर्वअध्यक्ष दुर्गा अधिकारीले जानकारी दिए।

महोत्सवको अवसरमा बेगनास तालमा महिला तथा पुरुष खुला डुंगा दौड प्रतियोगिता, खुला पौडी प्रतियोगितालगायतका कार्यक्रम पनि हुने उनले बताए। महोत्सवमा पप कन्सर्ट, लोकदोहोरी, बाल उद्यानलगायतका कार्यक्रम मुख्य आकर्षणको रूपमा रहने आयोजकले जनाएको छ।

महोत्सवमा पहिलोपटक गण्डकी प्रदेशस्तरीय दोहोरी गीत प्रतियोगिता आयोजना गरिने अधिकारीले बताए। महोत्सवको अवसरमा गरिने डुंगा दौड तथा बोटिङलाई सुरक्षित बनाउन सशस्त्र प्रहरीको गोताखोर टोलीलाई तैनाथ अवस्थामा राखिने इलाका प्रशासन कार्यालय लेखनाथका प्रमुख चित्रांगद बरालले बताए।

फेस्टिवलमा करिब ४० हजार दर्शकले अवलोकन र करिब १ करोडको कारोबार हुने आयोजकको अपेक्षा छ। महोत्सवबाट २८ लाख आम्दानी गरेर २५ लाख खर्चिएर ३ लाख बचत गर्ने लक्ष्य राखिएको महोत्सव संयोजक दामोदरभक्त थापाले जानकारी दिए। उनका अनुसार बचत रकम माछा संरक्षण तथा पर्यटन प्रवर्धनमा खर्च गरिनेछ।

प्रकाशित: १० जेष्ठ २०७६ ०९:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App