८ वैशाख २०८१ शनिबार
समाज

बाँदर नियन्त्रण गर्न बजेट दिने घोषणा

पोखरा– बाँदरले अन्नबाली नोक्सान गरेपछि हैरान भएका अन्नपूर्ण गाउँपालिकाका बासिन्दालाई गण्डकी प्रदेशका सदस्य राजीव पहारीले बाँदर धपाउने गरी बजेट व्यवस्थापन गरिदिने आश्वासन दिएका छन्। अहिले बाँदरले गाउँपालिकावासीको अन्नबाली नोक्सान गरिदिँदा किसानलाई मार परेको पहारीले बताए।

गण्डकी प्रदेश सरकारले सांसद विकास कोषका लागि रकम विनियोजन गर्ने तयारी गरेको र त्यो रकम विनियोजन भएमा १० लाख रुपैयाँ बाँदर धपाउनका लागि आवश्यक पूर्वाधार बनाउन दिने पहारीले आश्वासन दिएका छन्। ‘बाँदरले किसानलाई निकै दुःख दिएको छ। अन्नबाली नोक्सान गरेर हैरानी खेपेका छन्,’ पहारीले भने, ‘बाँदर नियन्त्रणका लागि आवश्यक खोर बनाउन बजेट दिन्छु, त्यसले बाँदरलाई नियन्त्रणमा सघाउनेछ।’

गण्डकी प्रदेश सरकारले संघीय सरकारले दिने बजेटको आधा रकम प्रदेश सदस्यलाई दिने बताएको छ। सांसद विकास कोषको व्यवस्था नभएको खण्डमा आफ्नो तलब–भत्ताको रकमले भए पनि बाँदर नियन्त्रणका लागि रकम दिने पहारीले बताए। उनका अनुसार अन्नपूर्ण गाउँपालिका–१, २, ३ मा बाँदरले बढी दुःख दिएको छ। बालीनाली खाइदिने र नोक्सान गरिदिँदा किसान मर्कामा रहेको उनले बताए।

पहारीका अनुसार स्याङ्जामा बाँदर नियन्त्रण गर्न खोर बनाएको र त्यो निकै नै प्रभावकारी भएकाले अन्नपूर्ण गाउँपालिकामा पनि खोर बनाएर बाँदर नियन्त्रण गर्न सकिने उनले बताए। ‘म जनताको प्रतिनिधि हुँँ, प्रदेश सरकारले सांसद विकास कोषको रकम दिएन भने पनि कुनै न कुनै रूपमा आफ्नो आम्दानी दिएर भए पनि बाँदर नियन्त्रणमा सघाउनेछु,’ उनले भने।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले अन्नपूर्ण गाउँपालिकामा गरेको ‘शिक्षा, स्वास्थ्य तथा खाद्य अधिकार’ विषयक ‘सार्वजनिक सुनुवाइ’ कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा त्यहाँ किसानहरूले बााँदरबाट आजित भएको गुनासो गरेका थिए। सोही कार्यक्रममा सदस्य पहारीले बाँदर नियन्त्रणका लागि सबैको सहयोग जरुरी भएको बताए। ‘यो क्षेत्र कृषिका निम्ति सम्भावना बोकेको क्षेत्र हो, किसानका समस्यालाई समाधानका लागि सदैव तयार छु,’ उनले भने।

कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोग पोखराका निर्देशक दीपकजंगध्वज कार्कीले गाउँपालिका सबै वडाको प्रोफाइल तयार गर्न आग्रह गरे। उनले कृषिमा विषादी प्रयोगको मात्रा बढी हुने गरेको पाइएकाले अनुगमनको खाँचो औंल्याए। इन्सेक गण्डकी प्रदेश संयोजक शिव खकुरेलले स्थानीयका समस्या समाधानका लागि सबैको सहकार्य जरुरी रहेको बताए।

प्रकाशित: १० जेष्ठ २०७६ ०८:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App