coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्य

प्रदेश सरकारले सहकार्य गरेनः व्यवसायी

पोखरामा आन्तरिक पर्यटनबारे छलफल। तस्बिरः सन्तोष पोखरेल/नागरिक

पोखरा– गण्डकी प्रदेश सरकारले आन्तरिक पर्यटक भ्रमण वर्ष २०१९ घोषणा गरेको पाँच महिना गुज्रिन थाले पनि सरकारले प्रवर्द्धनमा तदारुकता नदेखाएको भन्दै यहाँका पर्यटन व्यवसायीले प्रदेश सरकारको आलोचना गरेका छन्। आन्तरिक पर्यटक भ्रमण वर्ष घोषणा गरे पनि त्यसअनुरूप प्रदेश सरकारले सक्रियता नदेखाएको उनीहरूले बताए।

आन्तरिक भ्रमण वर्षका चुनौती र सम्भावनाबारे पोखरा पर्यटन परिषद् (पिटिसी)ले आयोजना गरेको कार्यक्रममा व्यवसायीले सरकारको सुस्तताप्रति चिन्ता जनाए। प्रदेश सरकारले व्यवसायीसँग सहकार्य गर्न नखोजेको पनि व्यवसायीले आरोप लगाएका थिए।

परिषद्का उपाध्यक्ष गोपीबहादुर भट्टराईले सरकारले आन्तरिक भ्रमण वर्ष भने पनि त्यसबाट सकारात्मक संकेत नदेखिएको बताए। ‘हिजो आन्तरिक पर्यटकलाई महत्त्व नदिने व्यवसायी अहिले आन्तरिक भनेपछि हुरुक्क हुन्छन्,’ भट्टराईले भने, ‘तर आन्तरिक पर्यटक भित्र्याउन सरकारको सक्रियता नै बढ्न सकेन। आन्तरिक पर्यटन वर्ष मात्र भनिएको छ। तर, गतिविधि केही भएको छैन।’

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा)का पश्चिमाञ्चल च्याप्टरका अध्यक्ष सन्तोष पोखरेलले व्यवसायीको साथ लिन प्रदेश सरकार चुकेको बताए। उनले व्यवसायीको सहभागिताबिना प्रदेश सरकारले मात्र पर्यटन प्रवद्र्धनका गतिविधि गर्न नसक्ने बताए। ‘देखिने गरी काम गरौं भन्ने हामी व्यवसायीको चाहना हो। तर, यहाँ त्यो अनुसार प्रदेश सरकारले साथ लिन सकेको छैन,’ उनले भने, ‘व्यवसायीलाई साथ लिन नसक्दा प्रदेश सरकारले घोषणा गरेको कार्यक्रम पनि खल्लो हुन पुगेको छ।’

गण्डकी प्रदेश सदस्य राजीव पहारीले समेत प्रदेश सरकारले व्यवसायीलाई समेट्न नसकेको बताए। उनले आन्तरिक पर्यटन वर्ष घोषणा गर्दा पोखराका व्यवसायी नै बेखबर भएको बताए। ‘पोखरालाई पर्यटकीय सहरको राजधानी बनाउने योजना बनिरहँदा प्रदेश सरकार यहाँका व्यवसायीसँग सहकार्य गर्न चुकिरहेको छ,’ पहारीले भने, ‘आन्तरिक पर्यटकबाट प्रदेश सरकारले निकै नै राहतको महसुस गरेको छ। आन्तरिक पर्यटक नआउने हो भने यतिबेला पोखराको पर्यटन पत्तासाफ हुन्छ। तर, यसैमा प्रदेश सरकारले सहकार्य बढाउन सकेको छैन।’

परिषद् अध्यक्ष चिरञ्जीवी पोखरेलले आन्तरिक पर्यटक भिœयाउनका लागि प्रदेश सरकारले सहकार्य गर्नुपर्ने बताए। उनले अहिलेसम्म प्रदेश सरकारले पर्यटन वर्षका लागि केही योजना बनाए पनि ती योजनालाई तीव्रता दिन नसकेको बताए। ‘अब ढिला भइसकेको छ। अरू प्रदेशले घोषणा गरेको पर्यटन वर्षलाई व्यापकरूपमा प्रचार गरिरहेका छन्। तर, गण्डकी प्रदेश सरकारले अलि ढिला गरिरहेको छ,’ परिषद्का अध्यक्ष पोखरेलले भने, ‘प्रदेश सरकार अब गतिशील हुनुपर्छ।’

गण्डकी प्रदेशका पर्यटनमन्त्री विकास लम्सालले अबको केही महिनापछि पोखरामा छ्याप्छ्याप्ती आन्तरिक पाहुना देखिने दाबी गरे। आन्तरिक पाहुना भिœयाउन प्रदेश सरकारले गर्ने प्रवद्र्धनको ठोस तयारीबारे नबताए पनि पर्यटनका लागि अब घिस्रेर नभई फड्केर अघि बढ्ने बताए। ‘आन्तरिक पर्यटक भ्रमण वर्ष अब घिस्रेर होइन, फड्केर अघि बढ्छ,’ उनले भने, ‘त्यसका लागि हामीले आन्तरिक तयारी गरेका छौं। बाहिर नदेखिएको मात्र हो।’

पर्यटन मन्त्रालयले अहिलेसम्म आन्तरिक पर्यटन वर्षको वर्ष घोषणा गर्दा नै प्रदेश सरकारदेखि स्थानीय तहसम्मका लागि भिन्दै समिति गठन गर्ने भनिएको थियो। तर, अहिलेसम्म ती समिति नै बनेका छैनन्। पर्यटन मन्त्रीको संयोजकत्वमा मूल समिति बन्ने भनिए पनि अहिलेसम्म मूल समिति नै नबन्दा व्यवसायीले आलोचना गर्दै आएका थिए। तर, पर्यटनमन्त्री लम्सालले अबको केही दिनभित्र एक सय ११ सदस्यीय मूल समिति बनाएर प्रचारप्रसार गर्ने बताए। उनले कस्तो मूल समिति बनाउने भनेर गृहकार्य भइरहेको पनि जानकारी दिए।

‘हामीले हल्लाभन्दा पनि व्यवस्थित रूपमा आन्तरिक भ्रमण वर्षलाई मनाउन चाहेका हौं। त्यहीअनुसार योजना पनि बनेका हुन्,’ उनले भने, ‘कतिपय काम भनेको बेला हुन सकेको छैन। त्यसमा ढिलाइ भएकै हो। तर, बाहिर भनेजस्तो केही कामै नभएको भने होइन। प्रदेश सरकारले प्रदेशका ११ जिल्लाका मुख्य पर्यटकीय क्षेत्र पहिचान गर्दै प्रचारात्मक पुस्तक प्रकाशन गरेको उनले बताए। तीबाहेक प्रचारप्रसारका अरू सामग्री पनि तयारी अवस्थामा राखेको मन्त्री लम्सालले जानकारी दिए।

प्रदेश सरकारले यो वर्ष (२०१९) मा प्रदेशभित्र १५ लाख आन्तरिक पर्यटक भिœयाउने लक्ष्य राखेको छ। अहिले पनि प्रदेशका महŒवपूर्ण गन्तव्यमा आउने आन्तरिक पर्यटकको संख्या लाखौं भए पनि ती सबैबाट प्रदेशले लाभ पाउन नसकेकाले खर्च गर्न सक्ने क्षमताका १५ लाख पर्यटक भित्र्याउन चाहेको मन्त्री लम्सालले बताए। ‘अब पर्यटक आएर मात्र हुँदैन, पर्यटकको त्यो संख्या आम्दानीमा पनि बदलिनुपर्छ,’ उनले भने, ‘अब प्रदेश सरकारले तीव्रगतिमा गतिविधि गरेर पोखरामा पाहुना छ्यालब्याल बनाउँछ।’

दीर्घकालीन कामलाई प्राथमिकतामा राखेर काम गरेकाले नै अहिले तत्कालै परिणाम नदेखिएको उनले बताए। प्रदेश सरकारले अब पर्यटन नीति, पर्यटन ऐन, पर्यटन कार्ययोजना बनाइरहेको र आगामी संसद्मा लैजाने तयारी भएको पनि उनले बताए।

प्रकाशित: १० जेष्ठ २०७६ ०८:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App