७ वैशाख २०८१ शुक्रबार
अन्य

अहेब र ओभरसियरबाट जबरजस्ती काम

एक जना पनि वडा सचिव नभएको भोजपुरको आमचोक गाउँपालिका कार्यालय। र गाउँपालिकाका अध्यक्ष अशोक राई।तस्बिरः रोहित राई/नागरिक

आमचोक(भोजपुर)– ‘घर–घरमा सिंहदरबारको अधिकार पुग्ने’ नारा दिएर स्थानीय तहको निर्वाचनपश्चात् जनप्रतिनिधि चुनिएको २ वर्ष पुग्नै लाग्यो। तर, १ नं प्रदेशको भोजपुर जिल्लाको दक्षिणी र पश्चिमी भेगका जनताले अझै पनि सहजरुपमा सेवा पाउन सकेका छैनन्।

भोजपुरको दक्षिण र पश्चिममा अवस्थित हतुवागढी गाउँपालिका, आमचोक गाउँपालिका र टेम्केमैयुङ गाउँपालिकामा कर्मचारीको चरम अभाव छ। ती गाउँपालिकाहरूका वडामा वडा सचिव छैनन्। जसले गर्दा वडाबाट जनतालाई प्रत्यक्ष प्रवाह हुनुपर्ने सेवा प्रभावित छ। भोजपुरको दक्षिण भेगमा रहेको आमचोक गाउँपालिका १ नं प्रदेशका मुख्यमन्त्री शेरधन राईको आफ्नै गाउँ हो। तर, यो गाउँपालिकामा अहिले एक जना पनि वडा सचिव छैनन्। वडा कार्यालयमा स्वास्थ्यका अहेबलाई नै दोहोरो जिम्मेवारी दिएर वडा सचिवको पनि काममा खटाउन बाध्य भएको गाउँपालिका अध्यक्ष अशोक राईले बताए।

अध्यक्ष राईका अनुसार करिब डेढ महिनादेखि सिंगो गाउँपालिका वडा सचिवविहीन भएको हो। यो समस्याबारे केन्द्र सरकारसम्म पहल भइरहे पनि अहिलेसम्म सम्बोधन हुन सकेको छैन। ‘सायद एक जना पनि वडा सचिव नभएको गाउँपालिका यही आमचोक मात्र होला,’अध्यक्ष राईले भने,‘सचिव नहुँदा जनताको काम प्रभावित हुने भएकोले एकदमै समस्या छ। वडामा जनताको पञ्जीकरणको काम, बसाइँसराइको काम गरिदिनुपर्ने भएकोले विकल्प खोज्नैप-यो, नमान्दा नमान्दै पनि अहेबहरूलाई वडामा पनि काजमा खटाएका छौं।’

गाउँपालिकामा सुरुदेखि नै कर्मचारी अभाव थियो। सुरुमा ६ जना वडा सचिव भए पनि ४ जनाले सरुवा मिलाएर गए। बाँकी रहेको २ जना सचिवले पनि समायोजन भएर गएपछि डेढ महिनादेखि सिंगो गाउँपालिकामा वडासचिव छैनन्। ‘एक जना व्यक्ति नै वडा कार्यालयमा पनि काम गर्नुपर्ने, स्वास्थ्यमा पनि पुग्नुपर्ने हुँदा धेरै नै समस्या हुँदो रहेछ। यसले जनतालाई पनि असहज हुन्छ,’ अध्यक्ष राईले भने।

वडा सचिव अभावको पीडा आमचोक गाउँपालिकालाई मात्र होइन, छिमेकी हतुवागढी गाउँपालिकामा पनि उस्तै छ। यहाँ ९ वटा वडा कार्यालयमा ९ जना सचिव आवश्यक छ। तर, सिंगो गाउँपालिकामा जम्मा २ जना मात्र वडा सचिव छन्। गाउँपालिकाका प्रवक्ता एवं वडा नं १ का अध्यक्ष कुमार विष्टका अनुसार वडा नं १ र २ मा एकै जनाले वडा सचिवको काम गरिरहेका छन् भने वडा नं ७ र ८ मा अहेबलाई वडा सचिवको पनि जिम्मेवारी दिइएको छ। ‘स्वास्थ्यको अहेब, सब ओभरसियरहरूलाई वडा सचिवको पनि काम गराइरहेका छौं। एक जनाले २, ३ वटा वडा हेर्नुपर्ने हुँदा जनतालाई पनि आफ्नो काम गराउन निकै समस्या छ,’ प्रवक्ता विष्टले भने।

भोजपुरकै पश्चिमी भोगमा रहेको टेम्केमैयुङ गाउँपालिकाको ९ वटा वडामध्येमा एउटा मात्र वडा सचिव छन्। वडा नं ७ बाहेकको वडाहरूमा स्वास्थ्य र कृषिको कर्मचारीलाई दोहोरो जिम्मेवारी दिएर वडा कार्यालयमा सचिवको पनि काम गराइरहेको अध्यक्ष धु्रव राईले बताए। ‘धेरै नै समस्या छ, स्वास्थ्य र कृषिका कर्मचारीले वडाको काम गर्न जान्दैनन्। तर हामीसँग अरु विकल्प पनि भएन,’उनले भने,‘पहाडी जिल्लामा यो धेरैतिर समस्या छ। सामान्य प्रशासनमन्त्रीसमक्ष कुरा पु-याइरहेकै छौं।’

कर्मचारी  सुगममा केन्द्रित
आमचोक गाउँपालिकामा सुरुमा ६ जना वडा सचिव थिए। उनीहरूले पहुँचको आधारमा आफ्नो सरुवा गराएर गाउँपालिका छोडे। बाँकी रहेको २ जनाले पनि समायोजनमा अन्तै रोजेर हिडेपछि गाउँपालिका वडा सचिवविहीन छ। कर्मचारी समायोजन हुँदा कसैले पनि आमचोक गाउँपालिका रोजेनन्।

आमचोक गाउँपालिका अध्यक्ष अशोक राई कर्मचारी समायोजनपश्चात रोजेको ठाउँमा जान पाउने नीतिगत व्यवस्थाको कारण यो अवस्था आएको  बताउँछन्। ‘अब खालि भएको ठाउँमा व्यवस्थापन गर्ने भनेर सरकारले भनेको छ, तर त्यो भइराखेको छैन,’ उनले भने। टेम्केमैयुङका अध्यक्ष ध्रुव राईका अनुसार उनको गाउँपालिकामा पनि मात्र १ जना सचिवले समायोजन हुँदा रोजेका छन्। उनी पनि हाल कार्यरत ठाउँबाट आइसकेका छैनन्। ‘कर्मचारीहरूले सुगमता हेरे, त्यही भएर नै पहाडी जिल्लामा कर्मचारीको चरम अभाव छ,’ उनले भने, ‘समायोजनमा कसैले पनि गाउँपालिकालाई रोजेनन्।’

प्रकाशित: १० जेष्ठ २०७६ ०७:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App