गणतन्त्रमा सौन्दर्यचेत

शुक्रबार, १० जेठ २०७६, १२ : ०० डा.सरोज धिताल

पृथ्वीका सबै प्राणीलाई उछिनेर मानवजाति यहाँसम्म आइपुग्नुमा सामूहिक कल्पनाशीलताको भूमिका देख्छन् युवाल हरारे। यही सामूहिक कल्पनाशीलताको उपज हो ईश्वर, धर्म, राज्य, कला, नैतिकता र मानिसको जीवनको सार्थकताका निम्ति सर्वाधिक महŒवका सबै सबै कुरा। मानिसको सौन्दर्यचेत पनि यही कल्पनाशीलताको एउटा पक्ष हो जो कला सिर्जनाका ‘औपचारिक’ संस्करणहरूमा मात्रै हैन, मानिसका व्यवहार, विचार, कौतुहल अनेकरूपमा प्रकट भइरहेको हुन्छ। मानव जीवनका सर्वाधिक महŒवपूर्ण पक्षहरू त्यही सौन्दर्यचेतको जगमा उभिएका हुन्छन्।

राज्यसत्ताको इतिहासमा जहाँ पनि जहिले पनि सौन्दर्यचेतले महŒवपूर्ण भूमिका निभाउँदै आएको छ। आफ्नो शासनको स्थिरताका निम्ति शासकहरूले जहिले पनि मानिसको यही सौन्दर्यचेत उपयोग गर्ने र प्रभावित गर्ने गरेका छन्। आफ्नो शासकीय स्वार्थअनुरूपको कला प्रवर्धन गर्ने गरेका छन्। अर्कोतिर जनताका हितअनुकूल हुन छाडेका बेला अलोकप्रिय, आततायी, अन्यायी राज्यसत्तालाई चुनौती दिन जनताले पनि आफ्नो सौन्दर्यचेतलाई नै कलाका विभिन्न रूपमा अभिव्यक्त गर्ने गरेका छन्। विश्वका जुनसुकै देशमा, जुनसुकै कालखण्डमा भएका क्रान्ति, विप्लव, विद्रोहमा कलाको भूमिका हुन्छ नै। केही दशकयता नेपालमै भएका परिवर्तनमा साहित्य, संगीत र कलाको महŒवपूर्ण भूमिका थियो। अहिले यति नै बेला पनि साहित्य र विभिन्न कलाका साधकहरू प्रत्यक्ष÷अप्रत्यक्षरूपमा लोकतन्त्रको रक्षा र सम्बर्धनका निम्ति लागिपरेकै छन्।

‘भक्तजन’ ले मानिसभन्दा गह्रौँ माला लगाइदिने भद्दा, मूर्खतापूर्ण, असभ्य चलनमा किन रमाउँछन् लोकतान्त्रिक गणतन्त्रका ‘नेताहरू ?

सौन्दर्यचेतको अर्को प्रकटीकरण शौर्य, अभय, त्याग, बलिदान आदि जस्ता मानवीय गुणमा हुने गर्छ। कुनैबेला यसले सिर्जनशीलतालाई हुर्काउँछ र सभ्यतालाई अर्को उचाइसम्म उठाउँछ, कुनै बेला भने विनाशको गहिरो अन्धकार खाडलमा खसाउँछ। सौन्दर्यचेत शाश्वत हैन, सापेक्ष हुन्छ– व्यक्ति, समुदाय, युग, परिस्थितिसापेक्ष हुने हुनाले कसैको सौन्दर्यचेत मानव जातिको बृहत्तर हितका पक्षमा हुन सक्छ कसैको ‘सौन्दर्यचेत’ले भने विनाश नै निम्त्याउन पनि सक्छ।              

हरेक युगमा सुन्दरताको परिभाषा फेरिइरहन्छ। हिजो सुन्दर ठानिएका कुरा आज हामीलाई असुन्दर वा हाँसोउठ्दा लाग्न सक्छन्। आजको कुनै मानिस २ सय वर्षमात्रै अघिको नेपालमा कुनै ‘टाइम मसिन’को सहयोगले फर्केर जान सम्भव हुँदो हो त उसले लगाएका लुगा त्योबेलाका मानिसलाई अनौठो र हाँस्यास्पद लाग्दो हो, अस्वीकार्य हुँदो हो। उसको बोलोचाली सुन्दा ती त्यस्तै छक्क पर्दा हुन्। आजझैँं टेबुलमा बसेर जुत्ता लगाएर खाएको देखेर जिब्रो टोक्दा हुन्। आजको गीत÷संगीत उनीहरूलाई अनौठो हल्ला लाग्दो हो। तर हामी त्यो युगमा फर्केर जान सक्दैनौंँ। हामीलाई पनि हिजोका धेरै कुरा त्यत्तिकै अपाच्य लाग्छन्। धेरै कुरा अनुपयोगी, असुन्दर र हानिकारक नै बनिसकेको ठान्छौंँ। तर यिनै ‘थोत्रा, ‘निरर्थक’ र हामीले हानिकारक नै ठान्न थालिसकेका कुरामध्ये धेरैजसो भने आजकै समाजमा पनि जीवित वा अर्धजीवित रहिरहेका छन्। हामीलाई बानी परिसकेको छ, तिनको अस्तित्व अझै पनि स्वीकार गरिरहेकैछौंँ।

‘बानी’ भन्ने कुरा असाध्यै ज्याद्रो हुन्छ, हत्पती हराउँदैन। बानी व्यक्तिगत मात्रै पनि हुन्छ, सामूहिक पनि। सामूहिक बानीको कवचभित्र लुकेर सुरक्षित रहन्छन् थोत्रा, अनुपयोगी, असुन्दर र हानिकारक बनिसकेका प्रचलन। तर मानिसको विकासक्रममा प्राप्त कालजयी उपलब्धि भने स्याहार नपाएर मिल्किएका हुन्छन्। यही सामूहिक बानीले जन्माएको असुरक्षाभावका कारण कुनै पनि परिवर्तनको प्रयासले जहिले पनि प्रारम्भिक अवरोध सामना गर्नैपर्छ।   त्यसैले अहिलेको गणतन्त्र नेपालमा अझै पनि थरीथरीका पुराना बानी छ्याप्छ्याप्ती व्याप्त हुनु केही अनौठो हैन। अझै कलिलै भएकाले हाम्रो गणतन्त्रको नयाँ सौन्दर्यचेत निर्माण गर्ने सम्भावना प्रशस्त छ। तर सामन्तवादी सोचाइले धेरै लामो समय मिचेको मिच्यै गरेकाले र सामन्ती बानी बेहोराले लामो समयसम्म जरा गाड्न पाएकाले युगसापेक्ष नयाँ बानी बेहोरा हामीले विकास गर्न सकेका छैनौंँ, पुराना संस्कारजन्य बानी बेहोराबाट छुटकारा पाउन सकेका छैनौँ।

हाम्रा राष्ट्रप्रमुख र सरकार प्रमुख किन ‘संसारकै गरिब राष्ट्रपति’ होसे मुहिका वा हो चि मिन्ह जस्ता असल मान्छेबाट सिक्न चाहँदैनन् ? किन किम इल सुङ वा सेसेस्कुलाई पछ्याउन खोज्छन् ?

हाम्रा राष्ट्रप्रमुख र सरकार प्रमुख किन ‘संसारकै गरिब राष्ट्रपति’ होसे मुहिका वा हो चि मिन्ह जस्ता असल मान्छेबाट सिक्न चाहँदैनन् ? किन दशकौँको यत्नपछि हटाएको राजतन्त्रका भावभङ्गिमामा उल्टै रमाउन चाहन्छन् वा किम इल सुङ वा सेसेस्कुलाई पछ्याउन खोज्छन् ? सामाजिक अन्याय र असमानताविरुद्ध लडेर आएका कुनै जमानाका क्रान्तिकारी योद्धाहरू आफैँ किन ‘अरुभन्दा समान’ भएर हैकम देखाउन चाहन्छन् ? प्रशस्त सम्भावना हुँदाहुँदै पनि किन जनताको न्यानो हृदयमा भन्दा बढी खोक्रो शान शौकतमा रमाउन चाहन्छन् ?

बेलाबेलामा मिडिया छपक्कै ढाकिन्छ राष्ट्रपति र प्रधानमन्त्रीको सवारीका बेला घन्टौँं सडक थुनिएका कुराले, घन्टौंसम्म आकाश नै निषेधित भएका कुराले। किन जनताका भावनाबारे बेखबर भएझैँं गरी परिवर्तन हुँदैनन् जिम्मेवारहरू ? ‘भक्तजन’ ले मानिसभन्दा गह्रौँ माला लगाइदिने भद्दा, मूर्खतापूर्ण, असभ्य चलनमा किन रमाउँछन् लोकतान्त्रिक गणतन्त्रका ‘नेताहरू ? ‘जागिर पाएका’ सरकारप्रमुखका आसेपासेको तुजुक किन यतिबिघ्न धानिनसक्नु हुँदै गएको? भ्रष्ट भनेर दुर्नाम कमाएका मानिसको सत्ता सामीप्य किन झन् झन् बढिरहेको?

हामी ‘सामूहिक बानी’को दास भएकै कारण हो यो सब। अझै पनि यसरी ‘लागेको बानी’को दास नै भइरहने हो भने जनताको बलिदानले आएको परिवर्तनको सार्थकता हराउन सक्छ, मानिसमा असनतुष्टिको थाक लाग्दै जान सक्छ र एकदिन त्यो बिष्फोट हुन पनि सक्छ। जनआक्रोश, हिंसा, अराजकताको अर्को सिलसिला निम्तन सक्छ। र, यो सबै नै राष्ट्रका निम्ति, जनताका निम्ति, स्वयम् सत्ताधारीका निम्ति एकदमै महङ्गो हुन सक्छ। अरु केही पुस्ताले फेरि पनि दुःख पाइरहनेछन्।  

गत बिहीबार ओखलढुङ्गामा राष्ट्रपति आउने भनेर रातारात कालोपत्रे सडक बनाउनु प¥यो रे। तत्कालै पानीले बगाइदिएछ। त्यो सानो सडक खण्डलाई यसरी हतपत लतपत गरेर त्यत्रो खर्च गरेर कालोपत्र गर्नुपर्ने कारण के थियो? जनताकी छोरी हुन् नि आजकी राष्ट्रपति त ! ओखलढुङ्गाको यथार्थ जस्ताको त्यस्तै तिनले हेर्नु र आत्मसात गर्दा झनै राम्रो हुने थिएन र? उहिले राजाको सवारीमा जस्तै सबै कुरा छोपछाप पार्नुपर्ने कुनै आवश्यकता थियो र? यो कस्तो गणतान्त्रिक सौन्दर्य चेत हो यतिबेला वामपन्थी शक्तिको, कम्युनिस्ट नाम भएको पार्टीको बहुमतको सरकार छ। सहयोगी पार्टीका मूलीहरूको पनि वामपन्थी विगत छ। यिनले आज जति चुनौती झेल्नुपरेको छ, त्योभन्दा कता हो कता, धेरै अवसर छ इतिहास रच्ने। यिनले गर्ने कामको प्रकृतिले देशभित्र आफ्नो श्रेष्ठता कायम राख्न वा आफैँ समाप्त हुने कुरामात्र हैन, संसारभरका ‘सजातीय’ वाम शक्तिको अस्तित्वमा समेत कुनै न कुनै किसिमले प्रभाव पार्छ, पारिरहेको छ। तर यिनको व्यवहार र अभिव्यक्ति हेर्दा लाग्छ, यति ठूलो ऐतिहासिक जिम्मेवारीप्रति यी बिल्कुल बेखबर छन्। राजसी ठाँट देखाउन, जिब्रो पड्काउन, तत्कालको अल्पकालीन निहित स्वार्थ पूरा गर्न, आफ्नै ‘अहम्’को भ्रान्तीमा रमाउन यति अभ्यस्त हुँदैछन् कि सर्कसका यी खेलाडीलाई भन्दा दर्शकलाई बढी डर लाग्न थालिसक्यो।      

आफूलाई माक्र्सवादी भन्छन् यी। कुनैबेला समकालीन विज्ञानको सुदृढ जमिनमा टेकेको गज्जबको वैकल्पि सोच थियो माक्र्सवाद। समानताको पक्षपाती थियो। त्यसबेलासम्मका सोच र व्यवहारभित्र लुकेका पाखण्डविरुद्धको विद्रोह थियो। भर्खरै आउन थालेको बृहत्तर सामाजिक न्यायचेतले कुत्कुत्याएको आकांक्षाको अभिव्यक्ति पनि थियो। त्यसैले त्यो जीवनप्रेमी थियो। तर यतिबेला  सैद्धान्तिक तोडमरोड र व्यावहारिक भ्रष्टताका कारण क्षतविक्षत र विरूप देखिन थालेको छ। र, यो क्षयमा सबभन्दा बढी भूमिका ‘माक्र्सवादी’ हरूकै छ– हामीकहाँ सत्तामा भएजस्तै माक्र्सवादीहरूको।

सत्तासंँग आउने शक्ति र सुविधाबाट प्रभावित हुनु र त्यसैमा राग उत्पन्न हुनु, व्यावहारिक गोप्यता र आन्तरिक लोकतन्त्रको अभ्यासका बीच असन्तुलन हुनु, निहित स्वार्थका निम्ति यथास्थितिप्रति जनताको असन्तुष्टिको व्यापक दोहन हुनु, राज्यबिहीन उन्नत समाज निर्माणको बाटोमा संक्रमणकालीन आवश्यकता ठानिएको ‘सर्वहाराको अधिनायकत्व’ व्यवहारमा भने नयाँ शासक जमातको अधिनायकत्वमा परिणत हुनु ... आदि  ‘व्यावहारिक माक्र्सवाद’को अभ्यासका क्रममा देखिएका आत्मगत कमजोरी रहे। यी कमजोरीबाट मुक्त हुने प्रशस्त अवसर भए पनि हाम्रा कामरेडले यो अवसर देख्दै देखेनन्। अहिले आएर ‘सैद्धान्तिक माक्र्सवाद’का केही आधारभूत सिद्धान्तमै समेत पुनर्विचार गर्नुपर्ने जुन नयाँ आवश्यकता देखापरेको छ, त्यो त यिनका निम्ति अझै कता हो कता टाढाको कुरा भयो।

अझै पनि सबै बिग्रिसकेको छैन। ‘रिट्रोफिटिङ’ गर्न अझै सम्भव छ तर त्यसका निम्ति पहिलो सर्त हो– समस्या छन् भन्ने स्वीकार गर्नु। र, दोस्रो सर्त हो– अधिकांश समस्या आफैँसिर्जना गरेको हो भन्ने कुरा स्वीकार्नु। यसका लागि तयार छन् त कामरेडहरू ? हाम्रो गणतन्त्र सुहाउँदो सौन्दर्यचेतका निम्ति हृदय खुला होला त यिनको?








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad