गणतन्त्रका तानाशाह

शुक्रबार, १० जेठ २०७६, ११ : ५५ युवराज गौतम

‘जनताका शत्रु’ भन्ने शब्द फ्रेन्च राज्यक्रान्तिका बेला ‘थेगो’ बन्यो। ‘वर्गशत्रु’ भन्ने आरोपमा कम्युनिस्ट तानाशाहहरूले विभिन्न देशमा लाखौं मानिसको हत्या गरे। उता ब्रिटेनको संसद्मा गणतन्त्रवादीलाई लक्षित गरेर कतिपय सांसदले गुन्डा, मुसा, मूर्ख, राष्ट्रघाती, खराब मान्छेहरू आदि शब्द प्रयोग गर्दा राजतन्त्रवादी राजनेताहरूले त्यस्ता शब्द ब्रिटेनको संसद्मा प्रयोग गर्न नपाइने नियम बनाए। राजनीतिमा मात्र होइन, ब्रिटेनको सभ्यतालाई नै अशोभनीय भन्दै ‘असंसदीय’ (अनपार्लियामेन्ट्री) शब्दहरू सार्वजनिक ठाउँमा प्रयोग नगर्ने ठहर गरियो। यसमा बकिङ्घम् राजदरबारले महŒवपूर्ण भूमिका खेलेको देखिन्छ। दरबार सभ्यताको प्रतीक भएकाले संसद्, मन्त्रिपरिषद्लगायत कुनै पनि ठाउँमा असंसदीय, अराजनीतिक र अमर्यादित शब्द प्रयोग गर्न हुन्न भन्ने दरबारको धारणा थियो।

राजतन्त्रात्मक जापान, ब्रिटेन, लक्जेमबर्ग, नर्वे, स्विडेन, डेनमार्क, बेल्जियम आदि राष्ट्रको राजनीति र सामाजिक व्यवहार गणतन्त्रात्मक पद्धति भएका अधिकांश राष्ट्रभन्दा पृथक् पाइन्छ। इतिहास र राजनीतिशास्त्रका पुस्तक अध्ययन गर्दा अत्यन्त अप्रिय, अमानवीय, त्रासदीपूर्ण, क्रुर र मानवताविरोधी शासकहरू धेरै भेटिन्छन्। नियति, संयोग अथवा समयको लीला के हो, सबैजसो तानशाह गणतन्त्रले नै पैदा गरेको पाइन्छ र उनीहरूले आफूलाई कम्युनिस्ट नै भन्नेमा गर्व गरेका छन्। माओ, लेनिन, स्टालिन, पोलपोट, अनबर होजा, इदि अमिन, फर्डिनान्ड मार्कोस, निकिता ख्रुश्चेभ, हिटलर, आर्तर गोर्गेइ, एमिलियो अक्विनाल्डो, जोसेफ चोलोपिकी, वाल्टर बालब्रिच, आयातोल्ला रोहल्ला खोमेनी आदि सबै गणतन्त्रवादी तानाशाह हुन्। तीमध्ये खोमेनी र हिटलरबाहेक सबै कम्युनिस्ट नै हुन्।

नियति, संयोग अथवा समयको लीला के हो, सबैजसो तानशाह गणतन्त्रले नै पैदा गरेको पाइन्छ र उनीहरूले आफूलाई कम्युनिस्ट नै भन्नेमा गर्व गरेका छन्।

तानाशाहहरू, जसले सर्वशक्तिमान बन्न प्रेसको घाँटी निमोठे। स्वतन्त्रताको पक्ष लिने लाखौं जनता मारे। लाखौंलाई जेलमा हाले। यस्ता तानाशाहका कुकृत्यपूर्ण इतिहास, चलचित्र, लेख आदि पढ्न र हेर्न सकिन्छ। गणतन्त्र भनेकै प्रजातन्त्र हो भन्ने र यसले स्वतन्त्रता, मानवअधिकार, नागरिक हक र सभ्यताको रक्षा गर्छ भन्दै वकालत गर्नेहरूका गालामा चड्याम्म चड्कन दिएको छ इतिहासले। टिराना सहर (अल्बानियाको राजधानी) बाट नेपाल घुम्न आएका वृद्ध दम्पतीसँग म्याग्दीमा भेट भएथ्यो, केही वर्षअघि। उनीहरूले आफ्नो देशको साम्यवादी शासनको कथा सुनाए। बोल्दाबोल्दै बूढीआमा रुन थालिन्। उनी भन्दै थिइन्, ‘हाम्रो परिवारका मात्र सातजना मारे, कम्युनिस्ट शासकले। चालीस वर्ष शासन ग¥यो, अनबर होजाले। उसले लाखौं बुद्धिजीवी मा¥यो। पत्रकार, लेखक, वकिल, राजनीतिज्ञ, मानव अधिकारवादीलगायत सचेत समुदायको तर्क सुन्नै चाहँदैनन्, कम्युनिस्ट शासकहरू। उनीहरू आफ्नो प्रशंसा मात्र रुचाउँछन्।’

नेकपाका अध्यक्ष पुष्पकमल दाहालले इच्छा गरेझंै ‘ड्यामड्याम निर्णय गर्ने’ वातावरण बनाउन प्रधानमन्त्री केपी ओली बेचैन छन्। उनले प्रचलित ऐन, नियम, कानुन, संविधान र अन्तर्राष्ट्रिय प्रचलनको समेत बेवास्ता गरिरहेको आरोप लागेको छ। उनलाई लाग्दो हो, आलोचक, विरोधी र असन्तुष्टहरू सबैलाई नियन्त्रण गर्न पाए कति राम्रो हुन्थ्यो !

नेपालको कम्युनिस्ट सरकार आज अधिनायकवादको बाटो हिँडिरहेको धेरैको टिप्पणी छ र त्यो आधारहीन पनि होइन। राष्ट्रिय मानवअधिकार आयोग, अन्य संवैधानिक आयोग, न्यायपालिका, प्रेस जगत् सबैलाई फलामे साङ्लोले बाँध्न खोज्दै छ सरकार। सरकारले परराष्ट्र नीतिबारे अध्ययन गर्न बनाएको बुद्धिजीवी समूह (थिंकट्यांक) का संयोजक चैतन्य मिश्रले समेत वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिएका छन्। बुद्धिजीवीहरू विस्तारै टाढिँदै गएका छन्। सत्तारुढ दलका कैयन् नेतासमेत अध्यक्ष तथा प्रधानमन्त्रीले कसैसँग सल्लाह नगरी एकतन्त्रीढंगले काम गरेको भन्दै गुनासो गरिरहेका छन्। यो पनि सरकारका निम्ति शुभसंकेत होइन।

नेकपाका अध्यक्ष पुष्पकमल दाहालले इच्छा गरेझंै ‘ड्यामड्याम निर्णय गर्ने’ वातावरण बनाउन प्रधानमन्त्री केपी ओली बेचैन छन्। उनले प्रचलित ऐन, नियम, कानुन, संविधान र अन्तर्राष्ट्रिय प्रचलनको समेत बेवास्ता गरिरहेको आरोप लागेको छ। उनलाई लाग्दो हो, आलोचक, विरोधी र असन्तुष्टहरू सबैलाई नियन्त्रण गर्न पाए कति राम्रो हुन्थ्यो ! उनका ‘सर्वज्ञ’ मन्त्री, ‘विद्वान’ सल्लाहकार र ‘ठोक्नुपर्छ हजुर’ भनेर उकास्ने समर्थकहरूले दिएको सल्लाहले ओली र गोली उस्तै हुन् भन्ने सन्देश फैलाएको छ। पत्रकार उमेश चौहानले हालै एउटा लेखमार्फत सरकारप्रति कडा प्रहार गरेका छन्। उनी लेख्छन्, ‘प्रेसबाट सशंकित हुने, त्रसित हुने, चाबुक सिरानी हालेर मात्र निदाउन सक्ने केपी ओली दुनियाँका पहिलो र एकमात्र शासक होइनन्।’ उनकै शब्दमा ‘पत्रकारलाई तर्साउन, हुर्मत लिन र घुँडा टेकाउन सरकारले मिडिया काउन्सिल र आमसञ्चार प्राधिकरण नामका समानान्तर अदालत खडा गर्न खोजेको छ।’ यो दुराशय बुझेपछि पत्रकारहरूले आन्दोलन गरिरहेका छन्। अब प्रश्न उठ्छ, निरंकुशता, अधिनायकवाद वा स्वतन्त्रताविरोधी गतिविधि भएका बेला एकै थलोमा भेला हुन सक्ने पत्रकारहरू संगठित, सशक्त र अभेद्य शक्ति भएर उभिन चाहन्छन् भने किन दलको दलदलमा फसेका छन् ? हामी कुनै दलका पुच्छर बन्दैनौं भन्न किन सक्दैनन् उनीहरू ?

जुनसुकै दललाई मत दिऊन् तर लेखक, पत्रकार, प्राध्यापक, वकिल, इन्जिनियर, डाक्टर, विद्यार्थी, शिक्षक वा बौद्धिक समुदायका कोही पनि दलका दास भएनन् भने दलभित्रका अगुवाहरू स्वतः सतर्क बन्छन्। स्वतन्त्रताका कुरा गर्ने र साँझ–बिहान भ्रष्ट, लोभी, नाताशाह, घुस्याहा र फटाहा नेताका चरण स्पर्श गर्दा सुखानुभूति भएको ठान्ने ‘बौद्धिक वर्ग’ कति स्वतन्त्र छ ? यो पीडादायक प्रश्नका बारेमा पत्रकार महासंघ मात्र घोत्लिए पनि पुग्छ।

लेनिनको जन्म–शतवार्षिकीको अवसर पारेर सन् १९७० मा कम्युनिस्टहरूले ‘अन्तर्राष्ट्रिय मञ्च’ खोले। पूर्वी युरोपका हंगेरी, बुल्गेरिया, पोल्यान्ड, सोभियत संघ, पूर्व जर्मनी, चेकोस्लोभाकिया, रुमेनिया, अल्बानिया, चीन, भियतनाम, उत्तर कोरिया, लाओस्, क्युवा आदिले एउटै पथमा एकढिक्का भएर हिँड्ने कुरा पनि गरे। सोभियत संघको पतनपछि पूर्वी यरोपका जनताले साम्यवाद भनेको विषवृक्ष रहेछ भन्दै कम्युनिस्टहरूलाई तिरष्कार गरे। विभिन्न कम्युनिस्टहरू विभाजित हुँदै गए। तिनीहरूमध्ये कतिलाई अमेरिकी गुप्तचर संस्थालगायतले नराम्रोसँग प्रयोग गरे।

पिङपङ डिप्लोमेसीका नाममा रिचर्ड निक्सन र हेनरी किसिन्जरले चीनसँग निकट बनेर सोभियत संघलाई अठ्याङ पारेको कुरा कम्युनिस्टहरूले धेरै वर्षपछि मात्र बुझे। एकजना कविले भनेका छन्, ‘बाँच्ने कला सिक्दासिक्दै आयु बितेछ।’ सन् १९१७ देखि लाखौंको हत्या गरेर टिकाएको सोभियत संंघको कम्युनिस्ट शासन सन् १९९१ तिर पेरेस्त्रोइका र ग्लास्तनोस्तले मात्र चिप्लिएको होइन। ‘शासकले जे गरे पनि हुन्छ’ भन्ने अभिमानले पतीत भएका छन् धेरै देशका शासकहरू। गहिरोसँग कुरा नबुझ्नेहरू धनबहादुर नामका सबैलाई धनी ठान्छन्। रूप नाम भएका सबैलाई रूपवान् ठान्छन्।

ठुस्स परिरहनेको नाम पनि ‘मुस्कान’ हुन सक्छ। डरपोक ‘वीरबहादुर’ हुन सक्छ। कम्युनिस्ट भनेका जनहितैषी, देशभक्त र इमानदार मात्र हुन्छन् भन्ने त्यस्तै प्रचार गरियो नेपालमा। भ्रष्ट, पत्रु, तस्कर, राष्ट्रघाती, विदेशीका गुप्तचर, हत्यारा, डाँका सबै कम्युनिस्ट पार्टीमा अटाएका छन्, कसरी ? किन शुद्धीकरण गर्न खोजेनन्, अगुवाले आफ्नो पानीलाई ? गणतन्त्र भएपछि ‘सेरोफेरो सबै मेरो’ ठान्दै विपक्षी र आलोचकलाई कुल्चिन खोज्ने निरंकुश सोच कहाँबाट आयो ? जनतालाई हेप्ने दुर्बुद्धि कसरी पलायो ?

महाकाली सन्धि गर्दा नेपाललाई ‘अर्बाैं रुपियाँ फाइदा पुग्छ’ भन्ने केपी ओलीलगायतका नेताले आज पनि हजार सपना बेचिरहेका छन्। तर, प्रत्येक दिन झन्डै पन्ध्र सय युवकयुवती रोजगारी खोज्दै बिदेसिएका छन्। पचास÷साठी लाख नेपालीका आमा–बा, दिदीबहिनी, छोराछोरी, आफन्त आदिले रुँदैरुँदै बिदा गर्दा झरेका आँसु भेला पार्ने हो भने आँसुको ताल नै बन्छ। जवानी विदेशमै बिताएर बुढ्यौली लाग्दा फर्किन्छन् लाखौं नेपाली। थोरै पैसाका लागि हर्ष, खुसी, मिलन, प्रेम, रमाइलो र स–साना नानीहरूको मुस्कानको हत्या भइरहेको छ, घरघरमा। हरेक दिन देशको सिमाना मिचिएको छ। सरकार मौन होइन, निष्प्राण देखिएको छ। निम्छरो कूटनीतिका कारण कहिले भारतले हप्काउँछ त कहिले चीनले। कहिले अमेरिकाले तर्साउँछ त कहिले युरोपेली शक्तिले। के नेपाल स्वाधीन राष्ट्र होइन ? यदि हो भने, नेपाल जीवित र स्वतन्त्र छ भन्ने प्रमाण दिन किन सक्दैनौ, ए सरकार !

बुद्धिजीवीलाई तर्साएर, पत्रकारलाई थर्काएर, सबैलाई सेवक बनाउन खोजेर चल्दैन, सरकार। आफ्ना कमीकमजोरी, भूल र असफलता ढाक्न नखोज। ‘सबै नेपाली कम्युनिस्ट र सबै कम्युनिस्ट नेपाली’ नठान। सत्तारुढ दलमै धेरैलाई एेंठन भएको देखिन्छ, सरकारको व्यवहारले। पाँच वर्षका लागि प्राप्त गरेको ‘जनादेश’ पाखण्डपूर्ण प्रचार, आत्मरति, आत्मप्रशंसा र तानाशाह बन्ने ‘मेनिया’ देखाएर खर्च नगर। कस्ताकस्ता नाताशाह ढलेका छन्, इतिहासबाट केही त सिक। त्यसैले, जनहितमा सिन्को नभाँच्ने तर केन्द्रदेखि वडासम्म ‘लुट् कान्छा लुट्’ शैली नत्याग्ने हो भने लाखांै जनता एकैदिन सडकमा आउन बेर छैन। त्यसबेला कहाँ लुक्न जान्छौ ?
साम्यवादी तानाशाहीका बारेमा ८५६ पृष्ठको बहुचर्चित पुस्तक लेखे– स्टेफनी कर्टोइस, निकोलस वेर्थ, जीँ–लुई पानी, एन्ड्रेजेज पाक्ज्कोस्की, कारेल बार्तोसेक र जीं–लुइ–मार्गोलिनले। मार्क क्रामर र जोनाथन मर्फीले फ्रेन्च भाषाबाट अंग्रेजीमा अनुवाद गरेपछि फ्रेन्च नबुझ्ने करोडांैं पाठकले पनि पढे– ‘द ब्ल्याक बुक अफ कम्युनिज्म ः क्राइम, टेरर, रिप्रेसन।’

संसदीय प्रणालीको ज्याकेट लगाएर प्रजातन्त्रलाई निरंकुशताको धुरी चढ्ने सिँढी बनाइरहेको छ, वर्तमान सरकार। अधिकांश वुद्धिजीवीप्रति शत्रुतापूर्ण व्यवहार गर्दा त्यसको परिणति के हुन्छ, संसारलाई हेरे पुग्छ। चौतारामा बसेर तास खेल्नेहरूले ठट्टा गरेझैं सबैलाई ठट्टामा उडाउन नखोज। जनविद्रोहको ज्वाला सल्किँदै छ, घरघरमा। त्यसले ठूलो उथलपुथल गराउन सक्छ। त्यो परिवर्तनको संवाहक नभएर गृहयुद्धको कारक तŒव पनि हुन सक्छ। विदेशीले खेल्ने अर्को मैदान पनि बन्न सक्छ।







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।


अन्य समाचार

यस्ता छन् सबैभन्दा कमजोर पासवर्डहरू

यस्ता छन् सबैभन्दा कमजोर पासवर्डहरू

यदि तपाईंले प्रयोग गर्ने पासवर्ड पनि यही सूचीमा भेटाउनु भयो भने चाडैं नै आफ्नो पासवर्ड परिवर्तन गर्नुहोस् ...

टिभिएसले ५ दिवसीय “सुपर सिजन फाइनान्स फेयर“ आयोजना गर्ने

टिभिएसले ५ दिवसीय “सुपर सिजन फाइनान्स फेयर“ आयोजना गर्ने

यही असार ४ गतेदेखि ८ गतेसम्म ५ दिनको लागि भृकुटीमण्डप, काठमाडौंमा संचालन हुने यो अत्यन्त आकर्षक मेलामा ग्राहकहरुले उत्कृष्ट फाइनान्स...

बर्जरको वेदरकोट लङ्गलाइफ

बर्जरको वेदरकोट लङ्गलाइफ

पियू र सिलिकन प्रविधि प्रयोग गरिएको यसले घामपानी छेक्ने १० वर्ष टिक्ने कम्पनीको दाबी रहेको छ । ...

मोबाइल मेलामा १ लाखको जीवन बीमा अफर

मोबाइल मेलामा १ लाखको जीवन बीमा अफर

हरेक मोबाइलको खरिदमा १ लाख रुपैंयासम्मको जीवन बीमा ...

Nepal Lok Star को मुख्य प्रायोजकमा IME

Nepal Lok Star को मुख्य प्रायोजकमा IME

विश्वव्यापीकरणको यस युगमा लोक संगीत युवा पुस्ताको समेत रुची भइरहेको आभास लोक संगीतका स्रष्टा आफैले गर्ने गरेका छन् । ...

टिभीमा पनि भाइरस ?

टिभीमा पनि भाइरस ?

सामसंगले हालै आफ्नो ट्वीटर अकाउन्टमा सामसंग टिभीमा भाइरस लाग्न नदिन के के गर्ने भन्ने कुराको जानकारी प्रदान गरेपछि टिभीमा पनि...

हुण्डाई मनसुन योजना

हुण्डाई मनसुन योजना

हुण्डाई मोटर्सकालागि नेपालको आधिकारिक विक्रेतालक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले मनसुन लक्षित आकर्षक योजनाहुण्डाई मनसुन डिलाइट सार्वजनिक गरेको छ । ...

प्रतिबन्धका कारण हुवावेलाई अर्बौ डलर घाटा

प्रतिबन्धका कारण हुवावेलाई अर्बौ डलर घाटा

प्रतिबन्ध पछि हुवावेको आम्दानी ३० अर्ब अमेरिकी डलर कम हुने ...