८ वैशाख २०८१ शनिबार
विचार

हावाको खेती, पानीको ओखति

प्रकृतिले मानिसलाई हावा, पानी र माटो सित्तैमा दिएको छ । यिनको प्राप्तिको अवस्था र गुण भने स्थानअनुसार फरक पर्न सक्छ। नेपालमा पनि यी तीनै कुरा उपलब्ध छन् । नेपालको माटो पनि ऊर्वर छ । यस माटोमा सम्पत्ति र ज्ञान दुवै सिर्जना हुन सक्छ। यहां पानीका लागि सामुद्रिक स्रोत भने छैन तर हिमालबाट बगेका ताजा पानीका नदी छन् । यस दृष्टिबाट हेर्दा नेपालको पानी सम्पत्ति र ओखति (औषधि) दुवै हो । भुमिगत स्रोतबाट पनि यहां पानी प्राप्त गर्न सकिन्छ । कतिपय देश र महादेशमा नदी कम हुन्छन् । त्यहां अन्य स्रोतबाट पानी प्राप्त गरिन्छ । पानीको उपयोग स्रोतअनुसार खानेपानीदेखि सिँचाइ, माछापालन, औद्योगिक कार्य तथा ऊर्जा उत्पादनमा प्रयोग र उपयोग गर्न सकिन्छ । ऊर्जा उत्पादनको अर्को स्रोत हावा पनि हो । हालसम्म नेपालमा यी तीनैवटा कुराको उपयोग देशलाई समृद्ध बनाउने उद्देश्यले प्रभावकारीरूपमा गर्न सकिएको छैन । पानी बगेर अनि मानिस गुडेर तथा उडेर बाहिरिँदैछन् । माटो भने बांझिदैछ । हावा प्रदूषितमात्र हुंदैछ । साँच्चै नै देशको विकास गर्ने हो भने जनशक्तिको क्षमता विकाससँगै यी तीन कुराको उच्चतम उपयोगमा राज्यको ध्यान गएमात्र पनि पुग्छ । 

नेपालमा हावाबाट बिजुली निकाल्न सकिन्छ भन्नेबारे बहस नचलेको होइन तर नेपालमा यस्ता चर्चा र बहस संकट आइपरेको बेलामा चल्ने र संकट कम हुनासाथ हराएर जाने प्रवृत्ति छ । वास्तवमा यस्ता कुरा उठान भइसकेपछि यसको सम्भाव्यताबारे आर्थिक, सामाजिक, प्राविधिक, व्यावसायिक, वित्तीय सबै दृष्टिकोणबाट उपयुक्त छ÷छैन भन्ने कुराको निक्र्योल निकाल्न गहन अध्ययन गरिनुपर्ने हो । अध्ययन गरेपछि सम्भाव्य देखियो भने त्यसमा लगानीका लागि नीतिगत तथा भौतिक पूर्वाधारको तयारी एवं परियोजनाहरुको विस्तृत अध्ययन सुरु गर्ने तर अन्यथा भए वा सम्भाव्य नदेखिए आमजनतालाई त्यसको जानकारी दिएर त्यस विषयलाई त्यागेर अन्य विकल्पमा लाग्नुपर्ने हो तर यहां त्यसो भइरहेको छैन।

जहाँसम्म हावालाई शक्तिमा बदल्ने वा हावाको खेती चलाउने कुरा छ विश्वका धेरै देशमा यसको राम्रो उपयोग गरिएको छ । पंक्तिकार यस विषयको ज्ञाता भने होइन तर देशले र आफूले हन्डर÷ठक्कर खाएपछि यस्ता विषयमा पनि चासो जाग्दोरहेछ । एउटा सामान्य व्यक्तिलाई पनि के कुरा थाहा भइसकेको छ भने ऊर्जाको विकास र उचित प्रबन्ध नभई देशको समग्र समुन्नतिको परिकल्पना त सिर्फ कल्पनामा सीमित हुँदोरहेछ । यसै सेरोफेरोमा यसपालि संयुक्त अधिराज्यका विभिन्न स्थानको अवलोकन गर्ने मौका पाइयो । घना बस्ती र शहरी केन्द्रहरु छाडेर बाहिर जानासाथ त्यहाँ खासगरी तीन÷चारवटा कुरा बाक्लैरूपमा हेर्न पाइन्छ । त्यसमध्ये पहिलोमा हावाको खेती, दोस्रोमा गहुँको खेती, तेस्रोमा आलुसमेतका तरकारी खेती र चौथोमा भेडा पालन । यो आलेख मूलतः हावा खेतीमा केन्द्रित छ । चाहे इंगलैन्ड होस् वा स्कटलैन्ड वा वेल्स अथवा उत्तरी आयरलैन्ड, सबै ठाउँमा हावाबाट बिजुली निकाल्ने टावर र तिनका पैडल (ब्लेड) हरु घुमिरहेको देखिन्छ । बस, हवाईजहाज वा रेल जुनसुकै साधनबाट यात्रा गरे पनि यस्ता पंखा देख्न पाइने । लाग्छ, सेतो रंगका रोटेपिङहरु हल्लिरहेका छन् । ती टावरको संख्या कतै बाक्लै देखिन्छ कतै एक दुईवटा मात्र । यी कुरा स्थलमा पनि देख्न पाइने, समुद्रमा किनारबाट १०—१५ किलोमिटरमा पनि देख्न पाइने । स्थलमा रहेकालाई अनसोर परियोजना र समुद्रमा रहेकालाई अफसोर परियोजना भनिँदोरहेछ ।

यस्तो देखेपछि मैले पनि जिज्ञासा राखेर पढ्ने, बुझ्ने, सोध्ने, अवलोकन गर्ने कार्यलाई अलि घनिभूत पारेंं । यसबाट के जानकारी भयो भने संयुक्त अधिराज्यका लागि हावाबाट निकाल्ने बिजुली ऊर्जाको महत्वपूर्ण स्रोत बन्दै गएको रहेछ । सन् २०१५ को अन्तसम्ममा त्यहाँको कुल ऊर्जामध्ये १७ प्रतिशत बिजुली यसैबाट प्राप्त भएको पाइयो । यसका लागि त्यहाँ करिब ७ हजार टर्वाइन सञ्चालनमा छन् । यिनको पूर्ण क्षमता करिब १४ हजार मेघावाट बराबर छ । तीमध्ये ६४ प्रतिशत आनसोर र बाँकी अफसोर परियोजनाबाट उत्पादन हुँदोरहेछ । विश्वमा हावाबाट शक्ति निकाल्नेमा चीन, अमेरिका, जर्मनी, भारत र इटलीपछि संयुक्त अधिराज्यको नाम आउँछ । अध्ययनबाट के देखिएको छ  भने ग्यास र  आणविक केन्द्रबाट निकालिने ऊर्जा परियोजनाको स्थापना लागत दरभन्दा हावाबाट निकालिने ऊर्जाको लागत दर बढी पर्छ । त्यसमा पनि अनसोरको तुलनामा अफसोर परियोजनाको लागत दर झन्डै पचास प्रतिशतले बढी हुँदोरहेछ ।

संयुक्त अधिराज्यमै पनि हावाबाट बिजुली निकाल्ने कार्यमा स्कटलैन्ड अगाडि देखिन्छ । संयुक्त अधिराज्यको करिब ४० प्रतिशत हावाबाट निस्कने बिजुली स्कटलैन्डमै उत्पादन भएको छ । त्यहाँ उत्तरको आवर्दिनसायरदेखि उत्तर पश्चिमको इन्भरनेस, मध्यको डण्डी अनि दक्षिणको एडिनवर्ग तथा पश्चिमको ग्लास्गो वरपरका सबै क्षेत्रमा हावाबाट बिजुली निकाल्ने काम हुन्छ । वेल्समा पनि नयाँ परियोजना सुरु भएका छन् । वेल्सको उत्तर सागरमा बनाइएको गिन्टी मोर नामक परियोजनाबाट मात्र ५७६ मेघावाट शक्ति प्राप्त हुन्छ । ब्रिटेनमा सफा ऊर्जाको नामले जानिने यस किसिमको ऊर्जा परियोजनालाई उत्पादनको अनुपातमा अनुदानसमेत उपलब्ध गराइन्छ । अनुदान उपलब्ध गराउनमा युरोपियन युनियनले पनि सहयोग गर्ने रहेछ । यसको प्राविधिक पक्ष ट्रान्स युरोपियन ट्रान्सपोर्ट नेटवर्कले हेर्ने गरेको पाइयो । कतिपय गैरसरकारी संस्थाले पनि राजमर्ग छेउमा यस्ता ऊर्जा उत्पादन केन्द्र स्थापना गरी बिजुलीबाट चल्ने मोटरका लागि निःशुल्क बैट्री चार्ज गरिदिने व्यव्स्था गरेका छन् । राजमार्गछेउका सेवा केन्द्रमा रिचार्ज उपकरण पनि राखिदिएका छन् । रिचार्ज गर्ने तरिका त्यसैमा दिइएको छ । कार चालकहरु तेल पम्पमा तेल हालेझैं यहाँ आएर रिचार्ज गर्छन् । 

यी कुराको जानकारीपछि मलाई लाग्यो, नेपालमा यसको सम्भाव्यता कति होला भन्ने । जुन किसिमको टावर तथा पैडलहरु देखियो, नेपालका पहाड तथा हिमालका धेरै क्षेत्रमा यसलाई चाहिने हावा प्राप्त होला जस्तो लाग्छ । हावाको गति जति बढी हुन्छ त्यति नै बढी बिजुली उत्पादन हुन्छ । पहाडी र हिमाली क्षेत्रका डाँडामा उच्च वेगले हावा चल्छ नै । तर अन्य कुराका लागि भने विशेष आँट र व्यवस्थापन खाँचो छ । यसमा मुख्य कुरो यसको टावर निर्माण र त्यसमा ब्लेड जडानको विषय रहेछ । उदाहरणका लागि हावाबाट १.५ मेघावाट विद्युत् उत्पादन गर्न कुनै कम्पनीको टावर र ब्लेड हाल्दा घटीमा ११६ फिट र बढीमा १४३ फिटको  ब्लेड तथा घटीमा २१२ फिट र बढीमा २५६ फिटको टावर प्रयोग हुँदोरहेछ ।

ब्लेड र टावरलाई तीन टुक्रासम्म बनाउन सकिने जानकारी भयो । ब्लेड र टावरको कुल उचाइ ३३० फिटदेखि ४०० फिटसम्म पर्दोरहेछ । यी पंखा घुम्दा डेढ एकडसम्म जग्गा ओगट्दोरहेछ । बिजुली उत्पादन गर्ने सबै भागलाई छोप्ने नासलको वजनमात्र पनि ६० र टावरको वजन ७० टनभन्दा बढी हुने रहेछ । यीबाहेक हब र ट्रान्सफर्मर पनि चाहिन्छ नै । त्यत्तिकै बलियो जग पनि हाल्नैप¥यो । यति लामा र वजन भएका सामग्री पु¥याउनु एउटा चुनौतीपूर्ण कार्य हो ।  यसका लागि त्यही किसिमका फराकिला, बढी वजन धान्न सक्ने क्षमता भएका र घुम्ती कम भएका सडक आवश्यक पर्छ । नेपालमा यो कुराको व्यवस्थापन गर्नु चानचुने विषय भने होइन । त्यहाँ भने यस्ता कुरा ढुवानी गर्न पायक पर्ने ठाउँ र अफसोर परियोजनाका लागि भने सामुद्रिक मार्ग प्रयोग गरिँदोरहेछ । अनि कतिपय अवस्थामा उच्च क्षमता भएका हेलिकप्टर पनि प्रयोग गरिने कुरा जानकारीमा आयो । समुद्री मार्ग हामीसँग छैन । उच्च क्षमताका सडक मार्ग पनि नेपालमा छैनन् । भूबनोट हाम्रो अप्ठेरो छ । संयुक्त अधिराज्यको भुबनोट हाम्रो जस्तो कठिन छैन । प्रविधिको पनि उच्च विकास भएको छ । त्यसैले यी सबै कुराका विषयमा अध्ययन गरोैं, सम्भव भएका ठाउँमा त्यस्ता सडक लैजाऔँ । बाँकी प्राविधिक कुरा सम्बन्धित पक्षले विस्तृत अध्ययनपछि भन्ला ।

त्यसैले नेपालको विदेशी तेलमाथिको निर्भरता कम गर्न सबभन्दा बढी उपयोगी कुरा भनेको जलसम्बन्धी परियोजनाहरु व्यापकरूपमा विकास गरी पानीको उपयोग शक्ति र ओखतिका रूपमा गर्नुका अतिरिक्त बिजुली निकाल्नका लागि सम्भव भएसम्म खेती गर्नु नै नेपालका लागि नगरी नहुने काम हो । त्यसो गर्न सकेमात्र अर्थशास्त्रका चलहरुले काम गर्न थाल्छ र अर्थतन्त्रले गति लिन्छ भन्न सकिन्छ । 

 

 

 

प्रकाशित: १० कार्तिक २०७३ ०४:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App