coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

डन्डीमा उद्योगमा यो वर्ष २० अर्ब थप लगानी

काठमाडौं - मुलुकमा बनेको स्थिर र दुई तिहाइको बलियो सरकारका कारण पूर्वाधार निर्माणले गति लिने आसमा नयाँ स्टिल (डन्डी) उद्योग सञ्चालनमा आएका छन्। चालु आर्थिक वर्षमा यी उद्योगमा करिब २० अर्ब रुपैयाँ लगानी थपिएको छ। उद्योगी, व्यवसायीका अनुसार नयाँ उद्योग तथा उत्पादन क्षमता बढाउन उद्योगमा २० अर्ब रुपैयाँ लगानी थपिएको हो। ‘स्टिल उद्योगमा अब एक सय अर्ब रुपैयाँ लगानी पुगेको छ,’ नेपाल स्टिल रोलिङ मिल्स एसोसिएसनका अध्यक्ष साहिल अग्रवालले भने, ‘उद्योगले क्षमता बढाउने र नयाँ उद्योग थपिने क्रम जारी छ।’

चालु आर्थिक वर्षमा आरती स्टिल, श्री स्टिल, विजया स्टिल, नारायणी स्पातलगायत नयाँ स्टिल उद्योग सञ्चालनमा आएका छन्। गोदावरी स्टिल र अम्बेको नयाँ प्लान्ट पनि आउने क्रममा छ। अन्य उद्योग निर्माणाधीन छन् र केहीले स्टिल उद्योग खोल्न उद्योग विभागबाट अनुमति लिएका छन्। बजारमा डन्डीको खपत वार्षिक १०–१२ लाख टन भए पनि अहिले सञ्चालनमा रहेका उद्योगको उत्पादन क्षमता वार्षिक २९–३० लाख टन रहेको एसोसिएसनले जनाएको छ। एसोसिएसनका अनुसार बजारको मागभन्दा अहिले सञ्चालनमा रहेको उद्योगको उत्पादन क्षमता दोब्बरभन्दा बढी भए पनि स्टिल उद्योगमा स्वदेशी तथा विदेशी लगानीकर्ताको आकर्षण देखिएको छ।

स्वदेशीमात्र नभएर चीन र भारतका कम्पनीले पनि नेपालको स्टिल उद्योगमा संयुक्त रुपमा लगानी गर्न विभागबाट स्वीकृत लिएका छन्। धादिङको धुनीबेसी नगरपालिका वडा नं ९ मा झोङवाङ स्टिल चाइना कम्पनी प्रालिले २४ करोड ५० लाख रुपैयाँको लागतमा उद्योग सञ्चालनको अनुमति लिएको छ। यो उद्योग पूर्ण चिनियाँ लगानीको हो। विनित अग्रवालले पर्साको वीरगन्ज महानगरपालिका वडा नं २८ मा २४ करोड ९० लाख रुपैयाँको लगानीमा रियस स्टिल्स उद्योग दर्ता गरेका छन्। झापाको विर्तामोड नगरपालिकामा २० करोड रुपैयाँ लगानीमा दीपक डालमियाले दुर्गा स्टिल उद्योग सञ्चालन गर्न अनुमति लिएका छन्।

  अनुपकुमार यादवलाई नवलपरासीको रामग्राममा २४ करोड ७० लाख रुपैयाँ लगानीमा स्टिल खोल्ने अनुमति उद्योग विभागले दिएको छ। त्यसैगरी, भारतको ब्रोन्टेस स्टिल प्रालि र दिनेशराज भण्डारी, देवकान्त पोखरेल, उदयनारायण देवकोटा, प्रकाश सुवेदीसहितले एक अर्ब २८ करोड रुपैयाँ लगानीमा कैलालीको घोडाघोडीमा उग्रतारा स्टिल उद्योग सञ्चालनको अनुमति लिएका छन्। गत वर्ष १३ वटा उद्योगले अनुमति लिएकोमा यो वर्ष पाँचवटा नयाँ स्टिल उद्योगले विभागबाट अनुमति लिएका छन्।

– स्टिल(डन्डी) उद्योगमा करिब एक सय अर्ब रुपैयाँ लगानी पुगेको छ। बजारमा डन्डीको खपत वार्षिक १०–१२ लाख टन भए पनि अहिले सञ्चालनमा रहेका उद्योगको उत्पादन क्षमता वार्षिक २९–३० लाख टन रहेको एसोसिएसनले जनाएको छ।

प्रविधिमा आएको परिवर्तन र बढ्दो प्रतिस्पर्धासँगै उद्योगीले नयाँ लगानी थपेर उत्पादन बढाइरहेका छन्। डन्डीमा मुलुक आत्मनिर्भर छ। बजारको आवश्यकता भन्दा धेरै नयाँ उद्योग स्थापना भएको भन्दै व्यवसायी भने चिन्तित छन्। नेपाल स्टिल रोलिङ मिल्स एसोसिएसनका उपाध्यक्ष किरण साखःले डन्डी उद्योगमा अन्धाधुन्द लगानी भइरहेको बताउँछन्। बजारमा डन्डीको खपत १०–१२ लाख टन भए पनि उत्पादन क्षमता २९–३० लाख टन पुग्दा पनि नयाँ उद्योग आइरहेको देखेर आश्चर्यचकित भएको उनले बताए। ‘अहिले सञ्चालनमा रहेका उद्योगले आधा क्षमतामा पनि उत्पादन गरेका छैनन्,’ उनले भने, ‘के देखेर नयाँ उद्योग आइरहेका छन् आश्चर्यमा छौं।’

डन्डी बिक्री नभएपछि नोक्सानीमै बिक्री गरिरहेको उनले बताए। ‘६ महिना क्रेडिटमा सामान दिनुपर्ने अवस्था छ,’ साखःले भने। उद्योगको क्षमता अनुसार पूर्ण रुपमा उत्पादन गर्न नसक्दा उद्योग घाटामा जान सक्ने अवस्थामा पुगेको उद्योगी बताउँछन्। लगानीकर्तामात्र नभएर सरकारले पनि सोच्नुपर्ने बेला आएको उपाध्यक्ष साखः बताउँछन्। ‘रक्सी उद्योगको आवश्यक छैन भनेर रोके जस्तै नयाँ स्टिल उद्योग पनि आवश्यक छैन,’ उनले भने, ‘अध्ययनबिना अनुमति दिने हो भने भएका स्टिल उद्योग पनि धराशयी हुन्छन्।’ उनका अनुसार स्टिल उद्योग सञ्चालन गर्न अहिले करिब तीन अर्ब रुपैयाँ लाग्छ। 

स्थिर सरकारसँगै ठूला परियोजना सुरु भएर पूर्वाधार निर्माणले तीव्रता पाएपछि डन्डीको माग बढ्ने आसमा बसेका उद्योगी अपेक्षित रुपमा विकास अघि नबढ्दा निराश छन्। पुँजीगत खर्च वृद्धि गर्न नसक्नु, घरजग्गा कारोबारमा कडाइ लगायत कारण पनि डन्डीको खपत वृद्धि हुन नसकेको उद्योगी बताउँछन्। ‘सरकारले पुँजीगत खर्च बढाउन सकेको छैन,’ उनले भने, ‘निर्माणका योजना अघि नबढ्दा डन्डीको माग बढेन।’

लोडसेडिङ हटेर डन्डी उद्योगलाई राहत भए पनि उत्पादित डन्डी बिक्री नहुँदा समस्या भएको छ। डन्डीमा प्रयोग हुने कच्चा पदार्थ भने विदेशबाटै आयात गर्नुपर्छ। पछिल्लो समय हाउजिङका नयाँ परियोजना पनि आएका छैनन्। यी विविध कारणले डन्डीको माग बढ्न नसकेको हो।

प्रतिस्पर्धा बढेसँगै डन्डी उद्योगले गुणस्तर पनि बढाएका छन्। भूकम्पपछि प्रयोगकर्ता सचेत भएर गुणस्तरमा ध्यान दिएकाले उत्पादकले पनि मापदण्ड अनुसार गुणस्तरीय सामान उत्पादन गरिरहेका छन्। नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीका अनुसार अहिले डन्डी उद्योगले ५००, एफई ५००, ५५० डी ग्रेडका रड उत्पादन गरिरहेका छन्। ‘उद्योगले क्षमता बढाउँदै गुणस्तरमा पनि सुधार गर्दै आएका छन्,’ उनले भने, ‘नयाँ उद्योग आउने क्रम पनि जारी छ।’

नेपाल गुणस्तर परिषद्को सिफारिसअनुसार तय भएको मापदण्ड तोकिएको छ। फलामे छडको बलियोपन, लचकता, कच्चा पदार्थको प्रयोग लगायतमा मापदण्ड तय गरेको छ। रडको रासायनिक गुण अन्तर्गत फलामे छडमा प्रयोग हुने रसायन, रसायनको मिश्रण, तापक्रम, बयिलोपन, लचकताका आधारमा मापदण्ड तय भएको नेपाल गुणस्तर तथा नापतौल विभागले जनाएको छ। ठूला आयोजना, घर, भवन, पुल लगायत संरचनाको डिजाइन राम्रो भए पनि प्रयोग गरिएका सामग्री कमसल भए जुनसुकै बेला दुर्घटना हुन सक्ने भएकाले गुणस्तरीय डन्डी प्रयोग गर्नुपर्ने विज्ञ बताउँछन्।

प्रकाशित: १० जेष्ठ २०७६ ०२:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App