८ वैशाख २०८१ शनिबार
राजनीति

कार्यकर्ताको जोड संगठनमा, नेताको ध्यान महाधिवेशनमा

काठमाडौं - नेपाली कांग्रेसका नेताहरु पार्टीले सञ्चालन गरेको राष्ट्रिय जागरण अभियानलाई १४औं महाधिवेशन पूर्व तयारीका रुपमा उपयोग गर्न सक्रिय भएका छन्। तल्लो तहका नेता तथा कार्यकर्ता अभियान संगठन सुदृढीकरणमा प्रयोग गर्नुपर्ने पक्षमा देखिए पनि नेताहरुको ध्यान भने महाधिवेशन केन्द्रित बन्न पुगेको हो। विधानको वैधानिक व्यवस्थाअनुसार महाधिवेशन आउन अझै एक वर्ष समय बाँकी रहे पनि शीर्ष नेताहरु एकअर्कालाई कमजोर देखाएर नेतृत्वमा पुग्ने र टिक्ने दाउमा सक्रिय रहँदा जागरण अभियान संगठन सुधारमा भन्दा गुटगत स्वार्थमा केन्द्रित देखिएको छ।

पहिलो पटक केन्द्रदेखि वडा तहसम्मका संगठन एकैसाथ परिचालन गर्नेगरी तीन चरणको अभियान सुरु गरे पनि नेताहरुको ध्यान महाधिवेशन केन्द्रित बन्न पुगेको हो। वैशाख २५ गते सुरु जागरण अभियानकै ब्यानरमा नेताहरुले भेटघाट र कार्यक्रमलाई तीव्र बनाए पनि गुटगत स्वार्थलाई केन्द्रमा राखेका छन्। पार्टीका शीर्ष नेतामात्र होइन, केन्द्रीय सदस्यसमेत आगामी महाधिवेशनमा आफ्नो पक्षमा वातावरण बनाउन जागरण अभियानलाई उपयोग गर्न लागि परेका छन्।

प्रतिनिधि र प्रदेशसभा निर्वाचनपछि पार्टीभित्र बढ्दै गएको दूरी घटाउन अभियानले सकारात्मक भूमिका खेलेको बताउँदै धादिङ कांग्रेस नेता झंकनारायण श्रेष्ठले भने, ‘१४औं महाधिवेशनमा सबैको ध्यान केन्द्रित हुँदा सोचेअनुसार संगठन सुधारको कार्यक्रमले गति लिन सकेको छैन।’ अभियान पार्टी संगठन सुधारमा प्रयोग गर्नुपर्ने धारणा राख्दै उनले भने, ‘अहिले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा होइन, सरकारविरुद्ध पार्टी संगठन परिचालन गर्ने बेला हो।’

शीर्ष नेताहरु एकअर्कालाई कमजोर देखाएर नेतृत्वमा पुग्ने र टिक्ने दाउमा सक्रिय रहँदा जागरण अभियान संगठन सुधारमा भन्दा गुटगत स्वार्थमा केन्द्रित देखिएको छ।

केपी ओली नेतृत्व सरकारका गलत कामबारे जनतालाई जानकारी गराउने र संगठन सुधार गर्ने लक्ष्यसहित सुरु गरिएको अभियानमा पार्टीका शीर्ष र प्रभावशाली नेताहरुबीच जारी आरोप–प्रत्यारोप अस्वाभाविक रहेको काठमाडौं क्षेत्र नम्बर २ का सभापति उपेन्द्र कार्कीले तर्क गरे। ओली नेतृत्वको सरकार संवैधानिक व्यवस्थाविपरीत अघि बढिरहेको सुनाउँदै कार्कीले भने, ‘अहिले पार्टीभित्रको आन्तरिक विवाद थाती राखेर अघि बढ्ने बेला हो।’ संगठन सञ्चालनका क्रममा रहेका विमति आन्तरिक छलफलबाट टुंगोमा पु¥याउनुपर्ने धारणा राख्दै उनले भने, ‘सार्वजनीकरुपमा एकअर्काप्रतिको टीकाटिप्पणीले संगठनलाई राम्रो गर्दैन।’ पार्टीका सबै संरचना र निकायले पूर्णता नपाउँदा जागरण अभियानले अपेक्षा गरेअनुसार उत्साह दिन नसकेको सुनाउँदै कार्कीले थपे, ‘सबै तहका नेता तथा कार्यकर्ता आआफ्नो ठाउँमा परिचालित छन्। त्यसले संगठनमा केही ऊर्जा संगठनमा थपेको छ।’

सभापति शेरबहादुर देउवा र असन्तुष्ट पक्षबीच सहमति जुट्न नसक्दा कार्यसम्पादन समिति, संसदीय समितिका साथै विभाग गठन हुन सकेको छैन। दुई पक्षबीच सहमति जुट्न नसक्दा विभाग, कार्यसम्पादन समिति गठन हुन सकेको छैन भने नयाँ संविधानअनुसार संघ, प्रदेश र स्थानीय तहका संरचना परिवर्तन भइसकेका छन। तर त्यसअनुसार कांग्रेसको नयाँ संरचना निर्माण हुन सकेको छैन।

संविधान जारी भएपछि नै १३औं महाधिवेशन गरे पनि कांग्रेस सांगठनिक स्वरूप पुरानै संरचनाअनुसार छन्। जसले प्रदेश कार्यसमितिदेखि वडा तहसम्मका समिति गठन हुन सकेका छैनन्। पार्टीको प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघ माघ २ गतेदेखि नेतृत्वविहीन छ भने नेपाल तरुण दलको केन्द्रीय समितिले अझै पूर्णता पाउन सकेको छैन। तरुण दलमा अध्यक्षसहित चारजना मात्र पदाधिकारी छन् भने नेपाल दलित संघ, किसान संघसहितको संगठनका समितिले आफ्नो अवधि गुजारी सकेका छन्। आन्तरिक विवाद र गुटगत स्वार्थबाट पार्टीका नेताहरु अझै मुक्त हुन नसकेको सुनाउँदै ओखलढुंगा कांग्रेस नेता रामहरि खतिवडाले भने, ‘आन्तरिक विवादबाट हामी माथि उठ्न सकेका छैनौं।’

प्रकाशित: १० जेष्ठ २०७६ ०२:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App