७ वैशाख २०८१ शुक्रबार
राजनीति

मेयरले कर्मचारी पिटेको विरोधमा काम ठप्प

मेयर चौधरीलाई कारबाहीको माग राखेर प्रमुख प्रशासकीय अधिकृतलाई ज्ञापनपत्र बुझाउँदै आन्दोलित कर्मचारी। तस्बिर : नागरिक

इटहरी - इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीले कर्मचारीमाथि कुटपिट गरेको विरोधमा बिहीबार कर्मचारीले काम ठप्प पारे। मेयर चौधरीलाई कानुनी कारबाही गरिनुपर्ने माग राख्दै कर्मचारीले आन्दोलन थालेपछि काम ठप्प भएको हो।

मेयर चौधरीले वडा नं. १९ का सचिव नायबसुब्बा मनोज दाहाललाई कुटपिट गरेको र घरनक्सा पास गर्दा पैसा मागेको आरोपमा सवइन्जिनियर राम खड्कालाई गलहत्याएको पिरोधमा कर्मचारी आन्दोलनमा उत्रिएका हुन्। कर्मचारीले उपमहानगरपालिकाका सबै वडा कार्यालयको कामकाज पनि ठप्प पारे। कर्मचारीले इटहरी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव बिमलीलाई बुझाएको ज्ञापनपत्रमा मेयरमाथि कारबाहीको माग गरिएको छ।
ज्ञापनपत्रमा कर्मचारीले असुरक्षित महसुस गरेको उल्लेख छ। प्रमुख प्रशासकीय अधिकृत बिमलीले ज्ञापनपत्र बुझाएका कर्मचारीले रजिस्टरमा हाजिर गरी काम ठप्प पारेको बताए।

इटहरी उपमहानगरपालिकामा विद्युतीय हाजिरी छ। तर, उपमहानगरपालिका परिसरमा भेला भएर काम ठप्प पारेका कर्मचारीले हाजिरी पुस्तिका बनाएर उपस्थिति जनाएका हुन्। बिमलीका अनुसार, उपमेयर लक्ष्मी गौतमको पहलमा कर्मचारीलाई काममा फर्काउन पहल भए पनि प्रयास सफल भएन।
कर्मचारी आन्दोलनमा उत्रिएपछि मेयर चौधरी भने बिहीबार दिनभर भेडेटारमा नेकपा नेतासँग घटनालाई कसरी साम्य पार्ने योजनामा जुटेको स्रोतले बतायो। मेयर चौधरीसहितको टोली विहीबार साँझसम्म भेडेटारमै छ।

मेयर चौधरीले कर्मचारीलाई कुटपिट गरेको विषयमा बुधबार समाचार संकलन गर्न पुगेका पत्रकारमाथि दुव्र्यवहार गरेका थिए। कर्मचारी कुटपिट गरेको विषयमा प्रतिक्रिया लिन उपमहानगरपालिका पुगेका कृष्ण बहाव भट्टराई, विकल रेग्मीलगायत पत्रकारलाई मेयर चौधरीले दुव्र्यवहार गरेकोमा नेपाल पत्रकार महासंघ प्रदेश १ कार्यसमिति, नेपाल पत्रकार महासंघ केन्द्रीय समितिलगायतले विरोध गरेका छन्। स्थानीय सरकारका प्रमुख चौधरीले गरेको व्यवहार आपत्तिजनक भएकाले उनले सार्वजनिक रुपमा माफी माग्नुपर्ने पत्रकारको माग छ।

प्रकाशित: १० जेष्ठ २०७६ ०१:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App