८ वैशाख २०८१ शनिबार
कला

नाट्य सप्ताहमा विविध नाटक

काठमाडौं – विद्यालयमा अध्ययनरत बालबालिकाको अभिनय कलामा निखारता ल्याउन काठमाडौं प्रज्ञा कुञ्ज स्कुलले प्रत्येक वर्ष आयोजना गर्ने गरेको नाट्य महोत्सवको नयाँ संस्करण ‘नाट्य सप्ताह– २०७६’ सम्पन्न भएको छ। गत वैशाख ३० गतेदेखी काठमाडौंको नयाँबानेश्वरको थापागाउँस्थित कुञ्ज थिएटरमा सञ्चालित महोत्सव नेपालका लागि ब्राजिलका राजदुत मारिया टेरेसाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

महोत्सवमा काठमाडौं प्रज्ञा कुञ्ज स्कुलका कक्षा चारदेखि १० सम्म अध्यययनरत विद्यार्थीहरूले १० वटा नाटक मञ्चन गरेका थिए। सप्ताहको पहिलो दिन ‘भोला’, ‘पहेँलो बसु’ र ‘जुंगे दाईकी छोरी’, दोस्रो दिन कक्षा पाँचमा अध्यययनरत विद्यार्थीहरूले ‘उज्यालोतिर’, ‘रोल नं. चार’ र ‘तुलसी’, तेस्रो दिन कक्षा सातका विद्यार्थीहरूले ‘ब्युटी इज अ बिस्ट’, कक्षा आठका विद्यार्थीले ‘किताबभित्र किताबबाहिर’ तथा अन्तिम दिन कक्षा ६ का विद्यार्थीहरूले ‘चार्ली एन्ड द चकलेट फ्याक्ट्री’ तथा कक्षा ९ र १० का विद्यार्थीहरूले ‘धु्रवु’ नाटक मञ्चन गरेका थिए।

विद्यालयकी प्राचार्य सुनिता पौडेलले विद्यालय पढाइ लेखाइसँगै अतिरिक्त एवं सह–क्रियाकलापको माध्यमबाट विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा कटिबद्घ रहेको बताइन्। उनले शिशु कक्षाबाट विद्यालय पाठ्यक्रममा लागु गरिएको नाट्य शिक्षाले भाषा अध्ययन, नेतृत्व गर्ने क्षमता, समूहमा कार्य गर्ने सिप र दक्षता प्रदान गर्ने जनाइन्। समापनमा प्रत्येक नाटकबाट उत्कृष्ट अभिनय गर्ने एकजना छात्र तथा एकजना छात्रा कलाकारलाई पुरस्कृत गरिएको थियो।

नेपालका लागि ब्राजिलका राजदुत मारिया टेरेसाले नाटकको विश्वव्यापी लोकप्रियता बढ्दै गएकोले ब्राजिलमा पनि यस्ता महोत्सवहरू आयोजना गर्ने गरिएको बताइन्। उनले प्रज्ञा कुञ्ज स्कुलले नाट्य महोत्सवका आयोजना गरी विद्यार्थीहरूको आन्तरिक क्षमता प्रस्फुटनमा प्रेरित गरेकोमा खुशी व्यक्त गरिन्। महोत्सव रंगकर्मी टंक चौलागाईको निर्देशनमा सञ्चालन भएको थियो।

प्रकाशित: १० जेष्ठ २०७६ ०१:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App