८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

इन्डोनेसियामा सुरक्षा व्यवस्था कडा

राजधानी जकार्ताको सुरक्षामा खटिएका इन्डोनेसियाली सुरक्षाकर्मी। तस्बिरः एजेन्सी

जकार्ता – अप्रिल १७ मा भएको राष्ट्रपतीय निर्वाचनमा धाँधली भएको भन्ने विषयमा अपिल गर्ने म्याद सकिने दिन बिहीबार निर्वाचनजन्य हिंसा भड्किने डरले इन्डोनेसियामा सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ। राजधानी जकार्तामा बिहीबार १०औं हजारको संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको सुरक्षा अधिकारीलाई उद्धृत गर्दै फ्रान्सेली समाचार एजेन्सी एएफपीले उल्लेख गरेको छ।

गत मंगलबार इन्डोनेसियामा राष्ट्रपतिको निर्वाचनको परिणाम सार्वजनिक भएलगत्तै सुरु भएको प्रदर्शनमा सुरक्षा अधिकारी र प्रदर्शनकारीबीच कैयौं झडप भएका थिए। विशेषगरी राजधानी जकार्तामा भएको झडपमा परी छ जना व्यक्तिको मृत्यु हुनुको साथै दुई सयभन्दा बढी व्यक्ति घाइते भएका थिए।

निर्वाचन परिणाम सार्वजनिक भएलगत्तै राष्ट्रपतिमा विजयी भएका जोको विडोडोको विरोध गर्दै प्रदर्शन भएका हुन्। विपक्षीले निर्वाचनमा धाँधली भएको भन्दै सडक प्रदर्शन थालेका हुन्। प्रदर्शनका क्रममा मारिएका ती व्यक्तिमा उच्च माध्यमिक विद्यालयका एक १७ वर्षीय छात्र पनि परेका छन्।

मंगलबार रातिबाट सुरु भएको प्रदर्शनकारी र सुरक्षाकर्मीबीचको झडप पाँच घण्टासम्म जारी रहेको थियो। विश्वको तेस्रो ठूलो प्रजातान्त्रिक देश इन्डोनेसियामा जोको विडोडो मंगलबार पुनःराष्ट्रपति पदमा निर्वाचित भएको देशको निर्वाचन आयोगले घोषणा गरेको थियो।

राजधानी जकार्तामा कडा सुरक्षाबीच मंगलबार अप्रत्यासित रूपमा निर्वाचन परिणाम घोषणा भएपछि राष्ट्रपति विडोडोका निकटतम प्रतिद्वन्द्वी पूर्वसैनिक जनरल प्रबोवो सुविआन्तोका समर्थकले निर्वाचनमा धाँधली भएको दाबी गर्न थालेका थिए। 

सत्तासिन राष्ट्रपति विडोडोले ५५.५ प्रतिशत मत प्राप्तगरी पुनःराष्ट्रपति पदमा विजयी भएको देशको निर्वाचन आयोगले जनाएपछि उनको विरोधमा प्रर्दशनकारीले प्रर्दशन सुरु गरेका थिए। निकटतम प्रतिद्वन्द्वी पूर्वसैनिक जनरल प्रबोवो सुविआन्तोले ४४.५ प्रतिशत मत प्राप्त गरेका थिए। उनले निर्वाचन स्वच्छ र स्वस्थ रूपमा हुन नसकेको आरोप लगाएका छन्।

निर्वाचन आयोगले मतगणना गरिसकेपछि स्थानीय समयानुसार मंगलबार बिहान एक बजेर ४६ मिनेटमा विडोडोलाई पुनःराष्ट्रपतिमा विजयी भएको घोषणा गरेको थियो। इन्डोनेसियाका ३४ वटा प्रान्तका एक सय ३० सहरमा मतगणना गरिएको आयोगले जनाएको छ। सन् २०१४ मा पनि विडोडोले ५३.१५ प्रतिशत मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी प्रबिवो सुबिआन्तोले ४६.८६ प्रतिशत प्राप्त गरेका थिए।

निर्वाचनको परिणाम बाहिरिएपछि प्रबोवोले निर्वाचन आयोगको औपचारिक कागजातमा हस्ताक्षर गर्न मानेका छैनन्। उनले पाँच वटा प्रान्तमा पुनः  निर्वाचन गराउनुपर्ने अडान लिएका छन्। ती पाँच प्रान्तमा धाँधली भएको पाबोवोको दाबी छ तर राष्ट्रपति विडोडोको दलले भने निर्वाचनमा धाँधली भएको भन्ने समाचारको खण्डन गरेको छ।

प्रकाशित: १० जेष्ठ २०७६ ०१:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App