६ वैशाख २०८१ बिहीबार
खेल

एक दिनअघि प्रतियोगितास्थल परिवर्तन

काठमाडौं – पटकपटक आयोजना मिति सारेको राखेपले प्रतियोगिता सुरु हुने एक दिनअघि तेस्रो प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको प्रतियोगितास्थल नै परिवर्तन गरेको छ। गत शनिबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा नेपालय इन्टरनेसलको व्यवस्थापनमा हुने यस प्रतियोगिताका लागि आयोजित प्रायोजक तथा खेलतालिका सार्वजनिक कार्यक्रममा प्रतियोगिताको उद्घाटन खेल मूलपानी क्रिकेट मैदानको तल्लो मैदानमा हुने घोषणा गरिएको थियो।

जेठ ८ बाट प्रतियोगिता सुरु हुने भनिए तापनि मूलपानी मैदानको पिच पूर्ण रूपमा तयार नभएकाले दुई दिन पछि सारिएको राखेपले जनाएको थियो। आयोजकले सार्वजनिक गरेको खेलतालिकाअनुसार शुक्रबार प्रदेश २ र त्रिभुवन आर्मी क्लबबीचको उद्घाटन खेलसँगै मूलपानी क्रिकेट मैदानको तल्लो मैदान औपचारिक रूपमा सुरु हुने कार्यक्रम थियो। तर राखेपले प्रतियोगिता सुरु हुनु एक दिनअघि बिहीबार उद्घाटन खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सारेपछि मूलपानी मैदानको तल्लो मैदानले औपचारिकता पाउन केही दिन थप पर्खनुपर्ने भएको छ। मूलपानी मैदानमा उद्घाटन खेलसहित कुल ९ खेल आयोजना गर्ने कार्यक्रम थियो।

यसअघि प्रतियोगिता जेठ १ गते सुरु हुने भनिए पनि तयारी पूरा नभएको भन्दै जेठ ८ का लागि सारिएको थियो। राखेप सदस्यसचिव केशवकुमार विष्टले प्रतियोगिताको उद्घाटन खेल मूलपानी क्रिकेट मैदानको तल्लो मैदानमा गर्न लागिएको र मैदानको पिच १० गतेसम्म तयार हुने प्राविधिकले जनाएपछि प्रतियोगिताको मिति २ दिन पछि सारिएको जानकारी दिएका थिए।

‘हामीले प्राविधिकको सल्लाहमा प्रतियोगिताको मिति दुई दिनपछि सारेका हाैं। मूलपानी क्रिकेट मैदानको प्रचारका लागि पनि हामीले तल्लो मैदानमा प्रतियोगिता आयोजना गर्न लागेका हाैं। माथिल्लो मैदान यसअघि नै सञ्चालनमा आइसकेको छ र विभिन्न प्रतियोगिता भइरहेका छन्। नेपाल क्रिकेट संघ (क्यान) अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) को निलम्बनमा  परेपछि हामीले क्रिकेट खेलमा अविभावकको भूमिका निर्वाह गर्दै आएका छौं,’ राखेपले अन्तर्राष्ट्रिय स्तरको मूलपानी क्रिकेट मैदानले पूर्णता नपाउँदै किन राष्ट्रिय स्तरको प्रतियोगिता गर्न लागेको भन्ने प्रश्नको जबाफ दिँदै सदस्यसचिव विष्टले शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा भनेका थिए।

विष्टले मूलपानीमा प्रतियोगिता आयोजना हुने घोषणा गरेको साता दिन नबित्दै प्रतियोगिताको उद्घाटनस्थल सरेको हो।
‘मूलपानी क्रिकेट मैदानको पिच लगायतका कुराहरू तयार भए पनि ट्रायल गर्दा एयर लिएकाले उद्घाटन खेल कीर्तिपुरमा सारिएको हो,’ राखेपका खेलकुद विभाग प्रमुख मीनकुमार शर्माले भने, ‘प्राविधिक कारणले मूलपानीमा १० गते खेल सञ्चालन गर्न सकिएन। त्यसैले त्यहाँ १२ गतेबाट मात्र खेल हुनेछ। उद्घाटन खेल कीर्तिपुरमा हुने गरी व्यवस्था मिलाइएको छ।’

जेठ १० देखि जेठ २५ सम्म चल्ने प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय गरी १० टोलीको सहभागिता रहनेछ। जसअन्तर्गत समूह ‘ए’ मा साबिक विजेता एपिएफ, प्रदेश ५, प्रदेश ३, सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेश तथा समूह ‘बी’ मा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, प्रदेश २, प्रदेश १ र कर्णाली प्रदेश  छन्। दुवै समूहका शीर्ष २ टोली सेमिफाइनल प्रवेश गर्नेछन्। प्रतियोगिताको विजेताले नगद २० लाख, उपविजेताले १० लाख हात पार्नेछन् भने सर्वोत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल प्राप्त गर्नेछ। त्यस्तै उत्कृष्ट ब्याट्सम्यान र बलरले जनही नगद ५० हजार प्राप्त गर्नेछन्।

प्रतियोगिताको दोस्रो संस्करणबाट नेपालयले प्रतियोगिताको व्यस्थापनको जिम्मेवारी पाएको थियो। प्रतियोगिताको पहिलो संस्करणको व्यवस्थापन काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टरले गरेको थियो। राखेप सदस्यसचिव केशवकुमा विष्टले मूलपानीमा प्रतियोगिता आयोजना हुने घोषणा गरेको साता दिन नबित्दै प्रतियोगिताको उद्घाटनस्थल सरेको हो।

प्रकाशित: १० जेष्ठ २०७६ ००:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App