coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कारबाहीपछि पनि मिटरमा गुड्दैनन् ट्याक्सी

काठमाडौं-ट्राफिक प्रहरीले यातायात व्यवस्था ऐनविपरीत मिटरमा जान नमान्ने र बढी भाडा असुल्ने ट्याक्सीचालकलाई दिनहुँ कारबाही गरे पनि ट्याक्सीचालकको बढी भाडा असुल्ने प्रवृत्तिमा कमी आएको छैन।

यातायात व्यवस्था ऐन २०४९ को दफा ९६ (३)ले भाडाका सवारीसाधनले तोकिएभन्दा बढी भाडा लिन नपाउने व्यवस्था गरेको छ। नियम उल्लंघन गरे १ हजारदेखि ५ हजार रुपैयाँसम्म दण्डसजाय हुने व्यवस्था पनि ऐनले गरेको छ।

अहिले महानगरीय ट्राफिक प्रहरी महाशाखाले बढी भाडा लिने दर्जनौं ट्याक्सीचालकलाई दैनिक कानुनी कारबाही गरिरहेको छ । कारबाहीमा परेका ट्याक्सीचालकलाई हदैसम्मको कारबाही ५ हजार रुपैयाँ जरिवाना गर्दा पनि उनीहरूले बढी भाडा असुल्न छाडेका छैनन् ।

मनिता नेपालले सोमबार साँझ राजधानीको कोटेश्वरबाट जोरपाटी जान आधा दर्जन ट्याक्सीचालकसँग भनिन्, सबैले ८ सय रुपैयाँ भाडा मागे । ‘इलामबाट १२ सय रुपैयाँ तिरेर काठमाडौं आएँ,’ मनिताले भनिन्, ‘साँझमा अरु सवारीसाधन नपाएपछि ट्याक्सीमा जान खोज्दा ८ सय घटी मान्दै मानेनन् ।’ ट्याक्सीले मागे जति रकम नभएपछि आफू हिँड्न बाध्य भएको उनले सुनाइन् । यस्तोे अवस्था मनिताको मात्रै नभएर उपत्यकावासी सबैको हो । गाडी नपाउँदा, समस्या पर्दा ट्याक्सी चढ्नु परे चर्को भाडा तिर्न यात्रु बाध्य छन् ।

ट्याक्सीले मिटरमा उठे अनुसार भाडा लिनुपर्छ । एक किलोमिटर बराबर ३६ रुपैयाँ भाडा लिन पाउने व्यवस्था छ । मिटरमा नचलाइ ‘हाउ मच’मा यात्रु बोके कानुनअनुसार ट्याक्सीले बढी भाडा असुलेको मानिन्छ । ट्याक्सीले बढी भाडा असुलेको अत्यधिक गुनासा आएपछि महाशाखाले अभियान नै चलाएर मिटरमा नगुडाउने ट्याक्सीचालकमाथि कारबाही थालेको हो ।

वैशाखयता मिटरमा नगुडेका २ हजार ८ सय २ ट्याक्सीचालकलाई हदैसम्मको कारबाही स्वरुप ५ हजार रुपैयाँ जरिवाना गरे पनि स्थिति जस्ताको तस्तै छ । उपत्यकामा ७ हजार ५ सय ट्याक्सी सञ्चालनमा छन् । करिब ३५ प्रतिशत ट्याक्सी मिटरमा नगुडाउँदा कारबाहीमा पर्दा पनि अवस्थामा सुधार आएको छैन।

‘नसुध्रेकै भन्न मिल्दैन । कारबाहीपछि ७० प्रतिशत ट्याक्सी मिटरमा गुड्न थालेका छन्,’ महाशाखाका डिएसपी सविन प्रधानले भने, ‘दसैंका बेला कारबाही केही लचिलो भएसँगै ट्याक्सीको बदमासी बढेकै हो । तर फेरि कारबाही सुरु भैसकेको छ, तसर्थ मिटर नचलाउने ट्याक्सीचालक कारबाहीमा पर्छन् ।’

महाशाखाले सादा पोसाकका प्रहरी खटाएर यात्रु बोकेर गुडिरहेका ट्याक्सी रोकी मिटरमा चले नचलेको जाँच र पार्किङ गरिएका ट्याक्सीलाई यात्रु बनेर चढ्दा मिटर नचलाएको पाए कारबाही गर्छ । कारबाहीमा पर्नेमाथि ५ हजार रुपैयाँ जरिवाना गर्दा पनि कतिपय ट्याक्सीचालक ३ पटकसम्म कारबाहीमा परेका छन्। ६ वटा ट्याक्सी ३ पटक र २२ वटा ट्याक्सी २ पटक कारबाहीमा परेको महाशाखाले जनाएको छ ।

यात्रुले मिटरमा जाउँ भन्दा समेत ट्याक्सी मिटरमा नगुडेको महाशाखाको भनाइ छ । ट्याक्सीमा यात्रु चढेसँगै कति दिने नभनि मिटर चालु गर्नुपर्छ तर मिटरमा जाउँ भन्दा समेत ट्याक्सीचालकले नमान्ने गरेको यात्रुको गुनासो छ । यस्ता ट्याक्सीविरुद्ध उजुरी गर्न महाशाखाले सबैसँग अनुरोध गरेको छ ।

महाशाखाले यस्ता ट्याक्सीचालक विरुद्ध उजुरी गर्न टेलिफोन नम्बर ९८५१२९५१०० को व्यवस्था गरेको छ। यो नम्बरमा यात्रुले ट्याक्सी नम्बरसहित एसएमएस गरेपछि ट्याक्सीचालकलाई कारबाही गरिन्छ । त्यसैगरी आकस्मिक सेवाको लागि १०३ नम्बरमा वा महाशाखाको फेसबुक, ट्विटर र ट्राफिक एप्समा समेत उजुरी गर्न महाशाखाले अनुरोध गरेको छ । उजुरीका आधारमा कारबाही गरेपछि उजुरी गर्ने व्यक्तिलाई फोन गरी कारबाहीबारे जानकारी दिने गरेको महाशाखाले जनायो ।

‘यात्रुको उजुरीलाई प्राथमिकतामा राखी कारबाही गर्छौं,’ महाशाखा प्रमुख डिआइजी प्रकाश अर्यालले भने, ‘मिटरमा नगुडाउने ट्याक्सीचालक कुनै हालतमा कारबाहीबाट उम्कन सक्दैन ।’ उनले कारबाही निरन्तर सञ्चालन गर्ने मात्र नभएर सबै ट्याक्सी मिटरमा गुड्ने बनाएरै छाड्ने दाबी गरे । अर्यालले दुई महिनाभित्र ट्याक्सी मिटरबाहेक नगुड्ने बनाउने दाबी गर्दै भने, ‘हेर्दै जानुस्, अबको २ महिनापछि मिटरबाहेक ट्याक्सी गुड्न मान्ने छैनन् ।’

यातायात व्यवस्था विभागले पनि ट्याक्सीचालकको ठगीबाट आजित उपत्यकावासीले चाँडै राहत पाउने बतायो । ‘मिटरमा नहिँड्दा सर्वसाधारण ठगिइरहेका छन्,’ विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले भने, ‘ट्याक्सी अनिवार्य मिटरमा चलाएर यात्रुलाई बिल दिनुपर्ने व्यवस्था लागू गर्दैछौं ।’ उनका अनुसार प्रिन्टेड बिलमा सबै विवरण हुनेछ । फागुनसम्म बिलिङ प्रणाली लागू गर्न विभाग लागिपरेको श्रेष्ठले जनाए।

प्रकाशित: १० कार्तिक २०७३ ०३:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App