७ वैशाख २०८१ शुक्रबार
समाज

विद्यालय बन्द गरी यार्सा खोज्दै शिक्षक

नेपालगन्ज - अभिभावकसँगै विद्यार्थी र शिक्षक बहुमूल्य यार्सा टिप्न पाटन जान थालेपछि उच्च हिमाली क्षेत्रका विद्यालय बन्द भएका छन् । रुकुमपूर्व, डोल्पा र बझाङका विद्यालय बन्द भएका हुन् । यहाँका विद्यालय यार्सा सिजनमा बर्सेनी बन्द हुने गरेका छन् । बझाङमा वैशाख पहिलो सातादेखि नै विद्यालय बन्द भए । विद्यालय बन्द हुनुमा शिक्षकले विद्यार्थी र विद्यार्थीले शिक्षकलाई दोष लगाउँदै आएका छन् । ‘शिक्षकहरू यार्सा टिप्न पाटन जानुहुन्छ,’ बझाङका अनिल रोकायले भने, ‘अनि पढाइ नहुने भएपछि हामी पनि पाटन जान्छौं ।’ असारे बिदामा यो बिदा मिलान गर्ने गरेको शिक्षकहरू बताउँछन् । तर यार्सा टिप्न पाटन नजाने विद्यार्थीले भने पढाइबाट वञ्चित हुनुपरेको छ ।

 बझाङमा वैशाख पहिलो सातादेखि नै विद्यालयहरू बन्द भए । असारे बिदामा यो बिदा मिलान गर्ने गरेको शिक्षकहरू बताउँछन् ।

कक्षा ५ देखिका विद्यार्थी यार्सा टिप्न जान्छन् । यार्सा यहाँका बासिन्दाको मुख्य आयस्रोत हो । सिजनमा यार्सा संकलकले दुईदेखि १० लाखसम्म आम्दानी गर्ने गरेको बताउँछन् । सो आम्दानीले वर्षभरि टार्ने गरेको साइपाल–१ धलौनका जनक बोहोराले बताए । ‘यो समयमा सबै परिवार पाटन जान्छौं,’ उनले भने, ‘उता नगए घरपरिवार पाल्न समस्या हुन्छ ।’ अहिले साइपालका पाँच, सुर्माका १४, दुर्गाथलीका पाँच, छब्बिसपाथिभराका तीन, बुंगल नगरका नौ र जयपृथ्वीका दुईवटा विद्यालय बन्द छन् । तलकोट गाउँपालिकाका पनि १८ वटा विद्यालय बन्द भएका छन् । यहाँ वैशाखको तेस्रो सातादेखि नै विद्यालय बन्द भएका हुन् । त्यस्तै रुकुमपूर्वका केही विद्यालय जेठको पहिलो सातादेखि बन्द भए । पृथा उत्तरगंगा गाउँपालिका–१ का वडाध्यक्ष मकरबहादुर गुरुङका अनुसार यहाँका विद्यालय करिब दुई महिनासम्म बन्द रहन्छन् ।

त्यस्तै डोल्पामा जेठको दोस्रो सातादेखि यार्सा टिप्न पाटन क्षेत्र खुला गरिएको छ । बिहीबारदेखि यहाँका पनि धेरैजसो विद्यालय बन्द भएका छन् । यार्सा टिप्न यहाँका अधिकांश सर्वसाधारण पाटनतिर जान थालेका छन् । छाँगे, ग्यालडाँडा, कुनास, तरपरेलगायत क्षेत्रमा यार्सा पाइन्छ । मुगु, जुम्ला, रुकुम, जाजरकोट, सल्यान, रोल्पा, सिन्धुपाल्चोक, काभ्रेलगायत जिल्लाबाट यहाँ यार्सा संकलक आइसकेका छन् । आगामी १३ गतेदेखि यार्सा टिप्ने टिकट खुला गरिएको छ । गाउँपालिकाले नै विद्यालय बन्द गर्ने निर्णय गरेपछि आफूहरूले विद्यालय बन्द गर्नुपरेको मुडकेचुला गाउँपालिका–६, नर्कुस्थित मालिका माविका शिक्षक ज्ञानेन्द्रबहादुर शाहीले बताए । गाउँपालिकाले १५ दिनसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको उनले टेलिफोनमार्फत जानकारी दिए । तर यहाँका विद्यालय असारको पहिलो सातामा मात्र खुल्ने उनको भनाइ छ ।

प्रकाशित: १० जेष्ठ २०७६ ००:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App