coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

अमेरिकी राष्ट्रपति निर्वाचन, अझै पनि समान ज्याला मुद्दा

बस्टन (अमेरिका)-संयुक्त राज्य अमेरिकालाई बाहिरबाट हेर्नेले समान अवसर र समानताको देश भनेर बुझ्छन्। तर नोभेम्बर ८ मा हुने अमेरिकी राष्ट्रपतिको चुनावी मुद्दाहरूले यो बुझाइलाई खण्डित गर्छन्। चुनावी एउटा मुद्दा छ– समान कामका लागि महिला र पुरुष दुवैलाई समान ज्याला उपलब्ध गराउने।

राष्ट्रपति चुनावमा व्यापारी डोनाल्ड ट्रम्पसँग प्रतिस्पर्धा गरिरहेकी अमेरिकी पूर्व विदेशमन्त्री हिलारी क्लिन्टनले समान कामका लागि समना ज्यालाको नारा चुनावी सभा र कार्यक्रममा दोहोर¥याइरहेकी छन् ।

यहाँको महिला नीति अध्ययन प्रतिष्ठान  इन्स्टिच्युट फर विमेन्स पोलेसी रिसर्च) का अनुसार, अमेरिकी पुरुषको तुलनामा महिलाले औसतमा २० प्रतिशत कम आम्दानी गर्छन् ।

बस्टनस्थित इमर्सन कलेजको सञ्चार विभाग प्रमुख  ग्रेगरी पेनका अनुसार, कामदारको युनियन स्थापित हुन नसकेका उत्पादन उद्योगमा असमान ज्यालाको समस्या छ र क्लिन्टनले त्यही समस्यालाई आफ्नो चुनावी मुद्दा बनाएर सम्बोधन गर्न खोजेकी हुन् ।

प्रचार अभियानको सुरुदेखि नै यो मुद्दा उठाउँदै आएकी क्लिन्टनले सोमबार न्यूह्यामसायरको म्यानचेस्टरमा आयोजीत चुनावी सभामा पनि यो मुद्दालाई जोडतोडका साथ उठाइन् । आफू राष्ट्रपति भए समान ज्याला सुनिश्चित गर्ने उनको दाबी थियो । ‘हामी अर्थतन्त्रले प्रत्येक जनताका लागि काम गरोस् भन्ने चाहन्छौं, माथिल्लो तहमा रहेकाहरूका लागि मात्र होइन’, क्लिन्टनले चुनावी सभालाई सम्बोधन गर्दै भनिन् ।

‘हामी राम्रो बेतनका लागि कामदारहरू संगठित हुनुपर्छ भन्ने विश्वास गर्छौं’, डेमोक्रेटिक पार्टीकी सिनेटर एलिजाबेथ वारेनले सोही सभालाई सम्बोधन गर्दै भनिन्, ‘कामदारको युनियनका कारण अमेरिका यहाँसम्म आएको हो र यसको पुनः उत्थान पनि तिनै युनियनले गर्नेछन् ।’

समान ज्यालाको मुद्दासँगै क्लिन्टनको चुनावी अभियानले कामदारको न्यूनतम पारिश्रमिक वृद्धि र सामाजिक सुरक्षाको दायरा फराकिलो बनाउने मुद्दाहरू पनि उठाइरहेको छ ।

‘एउटा अमेरिकीको रुपमा यहाँ असमान ज्याला विद्यमान रहेको तथ्य मेरा लागि लज्जाको विषय हो’, बस्टनस्थित इमर्सन कलेजमा पोलिटिकल कम्युनिकेसन पढिरहेका कैयल नील भन्छन्, ‘न्यू्यामह्सायरको सभामा क्लिन्टनले समान ज्यालाको विषयमा कुरा गरेको सुन्दा मलाई निकै खुसी लागेको छ ।

‘अमेरिकाले विश्वभर समानता र स्वतन्त्रताका मूल्यमान्यताका पक्षमा आफूलाई प्रस्तुत गर्छ तर आफ्नै घरमा ती कुराको सुनिश्चितता अझै पूर्णरुपमा गर्न सकेको छैन’, कैयलले तर्क गरे, ‘आमजनताको कमाइका विषयमा लैंगिक विभेदसँगै यहाँ जातीय विभेदका खाडल पनि छन् । औसतमा, एउटा काला जातिको परिवारले एउटा गोरा परिवारको भन्दा दशांश कम आम्दानी गर्छ ।’ कैयलले थपे, ‘अमेरिकाले समानताको मजेत्रो ओड्नुअघि घरभित्रै गर्नुपर्ने काम धेरै नै छन्।’

प्रकाशित: १० कार्तिक २०७३ ०२:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App