coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

ज्वालादेवी मन्दिर निर्माणमा पाँच करोड लगानी

दुलेगौँडा(तनहुँ)– तनहुँको कोत्रे बजारमा ५ करोड रुपैयाँको लागतमा ज्वालादेवी मन्दिर निर्माण सुरु गरिएको छ। ज्वालादेवीको पुजाअर्चना गरेमा आगलागीका घटना नहुने जनविश्वास छ। पर्यटनको केन्द्र गण्डकी प्रदेशको राजधानी पोखरासँग जोडिएको कोत्रे बजारलाई पर्यटकीय क्षेत्रका रुपमा विकास  गर्न जुवादी आलमकोटमा पुजाअर्चना हुँदै आएको ज्वालादेवीको कलात्मक शैलीमा नयाँ  मन्दिर बनाउन सुरु गरिएको हो।  

दैनिक पोखरा ओहोरदोहोर गर्ने पर्यटकलाई आकर्षित गर्न ज्वालादेवी धार्मिक तथा पर्यटन प्रबर्द्धन संस्था गठन गरी गुरुयोजनासहित मन्दिरको निर्माण सुरु गरिएको हो। गुरुयोजना अनुसार कोत्रेदेखि ९४ मिटरमाथि थुम्कामा रहेको ज्वालादेवी मन्दिरसम्म पुग्ने पदमार्ग र पदमार्गका मध्यभागमा हरियालीपार्क बन्ने पर्यटन प्रबर्द्धन समितिका अध्यक्ष तीर्थराज खनालले बताए। हाल ज्वालादेवीको पुजा अर्चना हुँदै आएको जुवादी आलमकोटको थुम्कामा कलात्मक शैलीको मन्दिर, परिसरमा सूचना केन्द्र, हनुमानको मूर्तीसहितको पार्क, पिकनिक स्पट, आश्रम कुण्ड निर्माण हुने उनले जानकारी दिए।

गत बर्षको मंसिर २२ देखि २९ गतेसम्म सिद्धेश्वर मन्दिरको विकास एवम ज्वालादेवी मन्दिरको निर्माणार्थ श्रीमद् भागवत धनधान्याञ्चल महायज्ञ आयोजना गरिएको थियो। विराट ज्ञान महायज्ञबाट बचत भएको ८१ लाख ३१ हजार रुपैयाँ मध्ये १० लाख रुपैयाँ सिद्धेश्वर मन्दिरको लागि छुट्याइएको छ। बाँकी रकम ज्वालादेवी धार्मिक पर्यटन क्षेत्रको बिकासमा खर्चिने अध्यक्ष खनालले बताए। ‘हामीसँग भएको रकमले मात्रै काम सक्न सम्भव छैन’, उनले भने, ‘स्थानीय तहले र प्रदेश सरकारले पनि पर्यटनलाई बढवा दिइरहेका छन्। दुवै तहका सरकारसँग मिलेर काम गर्छौं।’

हरेक बर्ष जेष्ठ कृष्ण पञ्चमीको दिन ज्वलादेवीको बिशेष पुजाअर्चना गर्ने गरिन्छ। बिशेष पुजाअर्चना हुने दिनको अवसर पारेर बिहीवार गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री बिकास लम्सालले मन्दिरको शिलान्यास गरे। 

उनले विकास र समृद्धिलाई पर्यटनसँग जोड्न आवश्यक रहेको बताए। प्रदेशमा पर्यटन, उर्जा, अर्गानिक कृषि उत्पादन, उद्योग स्थापना गर्दै रोजगारीको अवसर सिर्जना गर्ने मन्त्री लम्सालको दाबी छ। प्रदेश सरकारले बिकास निर्माणलाई तिब्र गतिमा अगाडी बढाउने उनले बताए। 

बजारदेखि मन्दिरसम्म पुग्ने सिँढी प्रदेश सरकारले निर्माण गर्ने उनले जानकारी दिए। ९४ मिटरको दुरीमा सिँढी निर्माण गरिने छ।

प्रदेश सांसद आशा कोइरालाले गण्डकी प्रदेश पर्यटनको राजधानी भएको उल्लेख गरिन। उनले प्रदेश राजधानीसंगै जोडिएको ज्वालादेवी मन्दिर क्षेत्र धार्मिक पर्यटनका दृष्टिले उपयुक्क्त रहेकाले निर्माण सम्पन्न भएपछि पर्यटकीय गतिविधी बढ्ने विश्वास व्यक्त गरिन्। पर्यटनलाई बढवा दिएर नमुना गाउँ बनाउन होमस्टेको बिकास र प्रबर्द्धन गरी स्थानियस्तरमा रोजागारी सिर्जना गर्ने अभियानमा गण्डकी प्रदेश लागेको सांसद कोइरालाले जानकारी दिइन्। 

शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङले नगरका मठमन्दिर, गुम्बा, बिहार, मस्जिद, चर्च पर्यटनको आयाम भएको जनाए। उनले ऐतिहासिक तथा धार्मिक पर्यटकीय क्षेत्रको जर्गेना गर्दै पर्यटकलाई आकर्षित गर्नुपर्नेमा जोड दिए। 

प्रकाशित: ९ जेष्ठ २०७६ १३:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App