८ वैशाख २०८१ शनिबार
प्रवास

पूर्व गोर्खा गुरुङ बने लण्डन बार्नेटका उपमेयर

लण्डन - काउन्सिलर लक्ष्य बहादुर गुरुङ बार्नेट काउन्सिलको उपमेयर निर्वाचित भएका छन्। लन्डन बरो अफ बार्नेटको मंगलबार बसेको वार्षिक काउन्सिल बैठकले गुरुङलाई उपमेयर पदमा निर्विरोध निर्वाचित गरेको हो।

सोहि बैठकले काउन्सिलर क्यारोलिन स्टकलाई मेयरको पदमा निर्वाचित गरेको थियो। यसै गरी कन्जरभेटिभ पार्टीबाट निर्वाचित काउन्सिलर डेनियल टोमस बार्नेट काउन्सिलका नयाँ नेता चुनिएका छन्।

बार्नेट काउन्सिलले काउन्सिलरहरु मध्येबाट हरेक वर्ष नयाँ मेयर र उपमेयर चुन्ने गर्दछ। झन्डै चार लाख जनसंख्या भएको बार्नेट ब्रिटेनको सबैभन्दा बढी जनघनत्व भएको काउन्सिल पनि हो।

उपमेयरमा निर्वाचित भए पछि गुरुङले सबैलाई धन्यवाद दिए। आफ्ना प्राथमिकताहरुबारे कुरा गर्दै उनले भने, “मेरो मुख्य प्राथमिकता नेपाली समुदाय र बार्नेट काउन्सिलबीच सम्बन्ध बलियो बनाउनु हुनेछ।

उनले उत्तरपश्चिम लन्डनमा बसोबास गर्ने नेपाली समुदायको लागि एउटा सामुदायिक केन्द्र उपलब्ध गराउने बारे प्रयास  प्रतिबद्धता जनाए। ब्रिटेनको सबैभन्दा ठूलो तथा सत्तारुढ कन्जरभेटिभ पार्टीको तर्फबाट  उम्मेदवार भएका थिए। 

ब्रिटिश सेनाको ब्रिगेड अफ गोर्खाजबाट सेवानिवृत्त गुरुङ सन् २००५ देखि सपरिवार बेलायतमा बसोबास गर्दै आएका छन्। उनकी श्रीमती शोभा, दुइ छोरी र एक छोरा छन्।

उनी गत वर्ष कन्जरभेटिभ पार्टीको उम्मेदवारको रुपमा बार्नेट काउन्सिलको हेल वार्डबाट काउन्सिलर पदमा निर्वाचित भएका थिए।

बर्न्टओक नेपाली समाजका पूर्व अध्यक्ष गुरुङ नेपाली समुदायलाई उनले पर्‍याएको सेवाको कदर स्वरुप बार्नेट सिभिक अवार्डबाट सम्मानित पनि भएका थिए।

गत महिना सम्पन्न बेलायतको स्थानीय निर्वाचनमा ६ जना गैरआवासीय नेपालीहरु काउन्सिलर पदमा विजयी भएका थिए। यसअघि पर्वतको बिहादीका डा. जगन्नाथ शर्मा नर्थ योर्कशायरको कोलबर्न टाउन काउन्सिलको मेयरमा निर्वाचित भएका थिए।

 

 

प्रकाशित: ९ जेष्ठ २०७६ ०९:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App