coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

पकाउने कला सिक्दै हाेमस्टे सञ्चालक

प्रशिक्षणपछि पकाएका खानेकुरा र तालिम लिएका स्थानीय। तस्बिरः नरहरि/नागरिक

गोरखा–गोरखा नगरपालिका–५ पश्लाङका स्थानीयलाई पाहुनालाई कसरी खुसी बनाउने तथा मिठो परिकार कसरी खुवाउने भन्ने चिन्ता। गोरखा सदरमुकाम नजिकै होमस्टे सञ्चालन गर्नु, नजिक रहेका ठूला होटलमा बस्ने पर्यटकलाई होमस्टेसम्म आकर्षित गराउनु यहाँका स्थानीयलाई सजिलो छैन। त्यसैले अहिले उनीहरू होमस्टेको जगेर्नामा लागिपरेका छन्।

स्थानीयस्तरमै उत्पादन भएको वस्तुबाट कसरी मिठो र स्वस्थकर खानेकुरा पकाउन सकिन्छ भन्नेबारे होमस्टे सञ्चालकहरूले चारदिने तालिम लिएका छन्। तालिम लिइसकेपछि उनीहरूले पहिले भन्दा फरक किसिमले बिहानको नास्ता, खाना, खाजा पकाउन सिकेको स्थानीय चाँदनी थापाले बताइन्।

स्थानीयस्तरमै उत्पादन भएको वस्तुबाट कसरी मिठो र स्वस्थकर खानेकुरा पकाउन सकिन्छ भन्नेबारे होमस्टे सञ्चालकहरूले चारदिने तालिम लिएका छन्।


तालिममा घरेलु उत्पादनलाई कसरी मिठो र स्वादिलो बनाउन सकिन्छ, पाहुनाको रुचिअनुसार कसरी खानेकुरा बनाउन सकिन्छ र होमस्टेमा ध्यान दिनुपर्ने कुराका विषयमा प्रशिक्षक श्याम खड्काले जानकारी गराएका थिए। ‘पकाउन त आउँथ्यो, पकाइरहेका थियौं, तर अझै राम्रो गरी पाउने तरिका जान्यौं,’ स्थानीय तिलकुमारी रानाले भनिन्।

तालिममा सहभागी ३० जनामध्ये २२ जना महिला र आठजना पुरुष थिए। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहयोगमा तारा गाउँ विकास समितिको आयोजनामा भएको तालिममा खाद्यपदार्थ कसरी सफा गर्ने, स्थानीय उत्पादनलाई कसरी प्रयोग गर्ने भन्नेबारेमा अभ्यास गरेर सिकाइएको थियो।

समितिका शाखा अधिकृत शम्भु कार्कीले होमस्टे के हो? कसरी संचालन गर्ने? पर्यटक को हुन् र उनीहरूलाई कसरी स्वागत–सत्कार गर्ने भनेर सिकाइएको बताए। पर्यटन व्यवसायकै एउटा माध्यम होमस्टे भएकाले यसले गाउँमै रोजगारी सिर्जना गरी आर्थिक स्तर उकास्न मद्दत पुग्ने अपेक्षाले विभिन्न २१ ठाउँमा तालिम दिइएको तारा गाउँ विकास समितिले जनाएको छ।

तालिम पाएपछि स्थानीय खुसी छन्। गाँजरको हलुवा, फर्सीको परिकार, खाना पकाउने विधि, नास्ता, खाजा स्थानीय उत्पादनबाट कसरी बनाउने भन्नेबारेमा जानकारी पाएको मनबहादुर राना मगरले बताए। भूकम्पमा क्षति पुगेको पश्लाङ होमस्टे अहिले २९ घरमा सञ्चालित छ।

२०७० असारदेखि सुरु भए पनि भूकम्पमा ध्वस्त भएको होमस्टे २०७४ सालदेखि पुनः सुरु भएको हो। यहाँका स्थानीयले हरेक घरमा तीनदेखि पाँचजना राख्न सक्ने क्षमताका होमस्टे निर्माण गरेका छन्। होमस्टे गोरखा सदरमुकामनजिकै, पश्चिकाली मन्दिर, चिल्ड्रेन पार्कको छेउमा रहेकाले पर्यटक आकर्षण गर्न सके स्थानीयलाई आम्दानीको बलियो स्रोत हुने गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्तले बताए। मगर समुदायको संस्कृति हेर्न र स्थानीय स्वाद लिन पर्यटक आउने भएकाले त्यसतर्फ ध्यान दिन उनले सुझाए।

गोरखा उद्योग वाणिज्य संघका उपाध्यक्ष भगवानबाबु मास्केले आन्तरिक र बाह्य पर्यटक सबैलाई एक दिन भए पनि होमस्टेमा बस्ने वातावरण मिलाउन सकेको खण्डमा उपलब्धि मान्नुपर्ने बताए। नगरपालिकाभित्रको पुरानो होमस्टे रहेकाले पश्लाङ होमस्टेको दिगोपनका लागि नगरपालिकाले सहयोग गर्ने उनले आश्वसान दिए।

धार्मिक पर्यटक भित्र्याउन नगरपालिकाले पर्यटनलक्षित बजेट केन्द्रित गरिरहेका बेला नगरपालिकाभित्र सञ्चालित होमस्टेले फाइदा लिन सक्ने भन्दै स्थानीय उत्साहित भएका छन्।

प्रकाशित: ९ जेष्ठ २०७६ ०८:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App