coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

असिनापानीले पकेट क्षेत्रका सुन्तला सखाप

तनहुँ– तनहुँको शुक्लागण्डकी नगरपालिका–११ नाम्सीकोटका कमल महतले २५ रोपनी क्षेत्रफलमा सुन्तला लगाएका छन्। उनको बगानमा उत्पादन दिने एक हजार दुई सय बोट छन्।

गत वर्ष सुन्तला बिक्रीबाट २८ लाख आम्दानी लिएका महत यस वर्ष भने भर्खरै दाना लागेको सुन्तला असिनापानीले चुटेर भुइँभरि झारेपछि निराश बनेका छन्। सोमबार दिउँसोको हावाहुरीसहितको असिनापानीले सुन्तला सखाप भएपछि महत चिन्तित बनेका हुन्।

‘आधाभन्दा बढी बतिला असिनाले झारेको छ। बोटमा बाँकी रहेका दाना चोट लागेका मात्र छन्,’ महतले नागरिकसँग भने, ‘भर्खरै फल लागेको हुनाले अब बाँकी रहेका दाना राम्रोसँग सप्रिन्नन्।’ सुन्तला बेचेर आम्दानी लिन सक्ने अवस्था नरहेको उनले बताए। ‘वर्षभरिको घरखर्च सुन्तला बेचेर भएको आम्दानीबाट चलाउने गरेका छौं,’ उनी भन्छन्, ‘असिनापानीले बतिला लाउन नपाउँदै झारिदियो, यो वर्ष सुन्तला बिक्रीबाट आम्दानी होला भन्ने नसोचे हुन्छ जस्तो छ।’ 

कमलको जस्तै नाम्सीकोटका किसान जगतबहादुर महत, नेत्रबहादुर महत, दिलबहादुर केसी, लोकबहादुर महतलगायत सबैको बगानमा असिनापानीले चुटेर सुन्तलाको सत्यानाश बनाएको छ। 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, सुन्तला पकेट क्षेत्र नाम्सीकोट आसपासबाट किसानले गत वर्ष चार करोड रुपैयाँ बढीको सुन्तला बिक्री गरेका थिए। यो वर्ष २५ प्रतिशतले उत्पादन बढ्ने अनुमान गरिएको थियो।

पकेट क्षेत्रमा पर्ने यहाँका नाम्सीकोट, पाल्पालीछाप, जरेबर, ज्याङ्लादी, अलैंचेका किसानहरू सुन्तला खेतीमा निर्भर छन्। तर, यस वर्ष दाना लाग्दै गरेका सुन्तला असिनापानीले चुटेर सखाप पारिदिएपछि किसानमा चिन्ता थपिएको छ। यहाँका प्रत्येक घरले सुन्तला बिक्री गरेर ५० हजारदेखि २८ लाख रुपैयाँसम्म आम्दानी लिने गरेका छन्।   

वडा सदस्य दानुमाया महतका अनुसार सुन्तला बगानमा मात्र दुई करोड बढीको क्षति पुगेको अनुमान गरिएको छ। सुन्तलामा पुगेको क्षतिको विवरण संकलन गर्न बाँकी नै रहेकाले क्षतिको आकँडा अझै बढ्न सक्ने उनी बताउँछिन्। ‘जरेबर क्षेत्रका सुन्तलाको बोटमा एउटा पनि दाना बाँकी छैनन्,’ उनले भनिन्, ‘रूख रित्तै छन्। सुन्तलाको दाना र पात भुइँभरि छरपस्ट छन्। बोटमा भएका पात असिनाको चोटले छिद्रैछिद्रा देखिन्छन्।’

नाम्सीकोटमा आधाभन्दा धेरै सुन्तला खसेको छ भने पाल्पालीछाप, ज्याङलादी र अलैंचेमा भने नाम्सीकोटको तुलनामा अलिक कम क्षति भएको महत बताउँछिन्। किसानले खेतबारीमा लगाएको धान, मकै र तरकारी बाली सबै ध्वस्त भएको उनले जानकारी दिइन्।

असिनाले तरकारी बाली सबै नष्ट भएको शुक्लागण्डकी–११ साँखेका महेन्द्र गौतमले बताए। ‘काँक्रो, घिरौला र करेला फल्ने बेला भएको थियो,’ उनले भने, ‘असिनाले सब खत्तम बनायो।’  दुईपटक गोडमेल गरिएको, घोगा हाल्ने बेलाका मकै फेरि छर्नुपर्ने अवस्था भएको उनले जानकारी दिए।

शुक्लागण्डकी नगरपालिकाका कृषि शाखा प्रमुख नवराज पण्डित असिनाले किसानले लगाएको सुन्तला, खाद्यान्न र लहरे बालीमा ठूलो क्षति पु-याएको बताउँछन्। कति क्षति भएको छ भन्ने यकिन  विवरण प्राप्त भइनसकेको भए पनि दुर्ई करोड बढीको क्षति भएको आँकलन गरिएको पण्डितले बताए।

‘किसानलाई क्षतिको विवरण टिपाउन अनुरोध गरिएको छ,’ उनले भने, ‘नगरपालिकाले क्षतिपूर्ति दिन सक्ने अवस्था छैन। प्रदेश सरकारसँग माग गरेर किसानलाई राहत दिलाउनेछौं।’

शुक्लागण्डकी नगरपालिका–११ को नाम्सीकोट, जरेबर, पाल्पालीछाप, अलैंचे, ज्याङ्लादी, साँखे, थामडाँडा, भुस्नापुर र राइपुरमा असिनाले क्षति पु¥याएको पण्डितले जानकारी दिए। उनका अनुसार नगरपालिकाका १, ९, १०, ११ र १२ नम्बर वडालगायत उच्च भूगोलमा रहेका स्थानमा सोमबार र यसअघिका हावाहुरी र असिनापानीले फलफूल, तरकारी अन्नबालीसँगै केही भौतिक संरचनामा क्षति भएको छ।  

त्यसैगरी, सोमबार असिनापानीसँगै आएको हावाहुरीले नाम्सीकोटमा तीनवटा घरको छानो समेत उडाएकोे छ। बाबुराम महत, कुलबहादुर विक र हिमबहादुर विकको जस्ताले छाएको घरको छानो उडाएको हो। अहिले उनीहरू छिमेकीको शरणमा छन्।

प्रकाशित: ९ जेष्ठ २०७६ ०७:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App