४ वैशाख २०८१ मंगलबार
कला

काठमाडौंमा हुने ‘आइफा अवार्ड’ अन्योलमा

काठमाडौं - साउनको दोस्रो साता राजधानीमा आयोजना हुने भनिएको ‘इन्टरनेसनल इण्डिया फिल्म अवार्ड(आइफा)– २०१९’ नेतृत्वका कारण अन्योलमा परेको छ। पर्यटन मन्त्रालय र नेपाल पर्यटन बोर्डले नेतृत्व नलिएपछि साउनको दोस्रो सातामा अवार्ड हुनुपर्ने सम्झौता स्थगित हुने सम्भावना देखिएको हो।

अवार्ड आयोजना गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारको नेतृत्वले तयार गरेको विशेष टोलीका एक सदस्यले आइफा अवार्ड राजधानीमा आयोजना गर्ने तयारी भए पनि यसको निम्ति नेतृत्व लिन सरकारी निकाय तयार नभएकाले आयोजकसँग सम्झौता गर्न नसकेको खुलाए। ‘यो साताभित्र सम्झौता हुन सकेन भने आइफा आयोजकले अर्को देशमा आइफा अवार्डको आयोजना गर्नेछन्’, उनले भने, ‘बजेटको टुंगो लागेपनि नेतृत्व लिन पर्यटन मन्त्रालय र नेपाल पर्यटन बोर्ड तयार हुन नसक्दा अर्को देशमा अवार्ड सर्ने सम्भावना छ।’

ती सदस्यले बजेटको टुंगो नलागेको बताए पनि आगामी साउन ९, १० र ११ गते हुने ‘आइफा अवार्ड’मा बजेट समस्या नभएको प्रारम्भिक चरणमा प्रधानमन्त्री केपी शर्मा ओली सरकारले स्थापना गरिदिएको विशेष टोलीको नेतृत्व लिइरहेका नेपाल वाणिज्य महासंघका पूर्व अध्यक्ष सुरज वैद्यले बताए। ‘आइफा आयोजकले नेपालमा अवार्ड गरेबापत ठुलो रकमको माग गरेपछि अन्योल भएको थियो। आयोजक ६ अर्बको बजेट घटाएर ३ दशमलब ५ अर्बमा नेपालमा आइफा आयोजना गर्न तयार छ। निजी क्षेत्रले १७ करोड रकमसमेत उठाइसकेको छ’, उनले भने।

बजेटको टुंगो लागेपनि नेतृत्व लिन पर्यटन मन्त्रालय र नेपाल पर्यटन बोर्ड तयार हुन नसक्दा अर्को देशमा अवार्ड सर्ने सम्भावना छ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले प्रधानमन्त्री ओलीले नेपालमा आइफा अवार्ड गर्ने प्रतिबद्धता जनाएपनि त्यसको लागि सरकार एक्लैले लगानी नगर्ने भएकाले निजी संस्थाहरूलाई आव्हान गरेको जनाए। ‘लगानीलाई लिएर अन्योल देखिएकाले हालसम्म आइफा अवार्डको आयोजकसँग सम्झौता हुन सकिरहेको छैन’, उनले भने। आयोजकले ‘भिजिट नेपाल २०२०’ को छेको पारेर आयोजना हुन लागेको अवार्डको निम्ति भिआइपी फ्लाइट, गाडी, होटल र अवार्ड आयोजनास्थललगायतको खर्च विवरण नेपाल सरकारलाई बुझाएको थियो। यसका लागि निजी व्यावसायिक संस्थाहरूसँग लगानीको निमित्त सम्झौता गर्न व्यवसायी वैद्यको टोलीले काम गरिरहेको छ।

आर्थिक अन्योलका कारण दोधारमा परेको अवार्ड आयोजना गराउन विशेष टोलीले काम गरिरहेको छ। गत फागुनमा प्रधानमन्त्री ओलीले ‘आइफा अवार्ड’ आयोजना गर्ने बिजक्राफ्ट इन्टरनेशनलसहितका टोलीलाई भेटेर नेपालमा अवार्ड गर्ने बताएका थिए। आयोजक बिजक्राफ्टले नेपालमा ‘आइफा अवार्ड’ आयोजना गर्न करिब ६ अर्ब खर्च हुने जानकारी प्रधानमन्त्रीलाई गराएको थियो। नेपाल पर्यटन बोर्डका निर्देशक दीपकराज जोशीका अनुसार आइफा आयोजकले नेपालमा अवार्ड गराएबापत भिआइपी फ्लाइट, गाडी, होटल र अवार्ड आयोजनास्थललगायत बाहेक करिब ६ अर्ब पाउनु पर्ने माग गरेपछि अन्योल देखिएको हो। ‘नेपालमा आइफा अवार्डको आयोजना गर्ने विषयको छलफलमा बिजक्राफ्टले भिआइपी फ्लाइट, गाडी, होटल र अवार्ड आयोजनास्थलबाहेक करिब ६ अर्बको माग राखेकाले अन्योल देखिएको थियो। अहिले आयोजकले ३ दशमलव ५ अर्बमा अवार्ड गर्न सकिनेमा सकारात्मक लक्षण देखाएको छ। सम्भवतः यो साता अवार्डको टुंगो लाग्नेछ’, निर्देशक जोशीले भने, ‘अवार्डमा सहभागी हुने आउने कलाकारहरूको लागि भिआइपी फ्लाइट, गाडीको व्यवस्था, होटल र अवार्ड आयोजनास्थलको खर्च नेपाल सरकार मातहतका सम्बन्धित संस्थाहरू र निजी व्यापारिक संस्थाहरूबाट बजेट छुट्याउन छलफल भइरहेको छ।’

प्रारम्भिक चरणमा व्यवसायी सुरज वैद्य र दीपकराज जोशीसहितको विशेष टोलीले काठमाडौं महानगरपालिका, चलचित्र विकास बोर्ड, नेपाल टेलिकम र नेपाल पर्यटन बोर्डलगायतलाई बजेट जुटाउन आव्हान गरेको छ। काठमाडौंमा हुने भनिएको ‘आइफा अवार्ड’को लागि दुई सय ५० सदस्यीय टोली आयोजकस्थल तयारीका लागि भारतबाट काठमाडौं आउँदैछन्। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य निकट स्रोतका अनुसार अवार्ड आयोजना गर्न महानगरपालिकाले सहयोग गर्ने प्रतिवद्धता जनाएको छ। काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलका अनुसार अवार्डको निम्ति लिखित रूपमा प्रस्ताव आएपछि छलफल हुनेछ।
तत्काल आइफा आयोजकले अर्को देशमा अवार्ड गर्न कुनै स्थान तोकेका छैनन्। यसको निम्ति आयोजक बिजक्राफ्टले इमेलमार्फत कुनै प्रतिक्रिया पनि जनाएको छैन्। आइफा आयोजकलाई प्रधानमन्त्री ओलीसँग भेटघाट गराएका पूर्वमन्त्री कर्णबहादुर थापाले अवार्डको सुरक्षालाई लिएर प्रधानमन्त्रीसँग नियमित छलफल भइरहेको बताए। ‘नेपालमा आयोजना गर्न सक्दैनौं भनेर सरकारले पत्र पठाएको खण्डमा मात्र अन्य देशमा अवार्ड हुनेछ’, उनले भने।

 

प्रकाशित: ९ जेष्ठ २०७६ ०७:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App