७ वैशाख २०८१ शुक्रबार
राजनीति

बामदेव गौतम भन्छन् : मिडिया काउन्सिल विधेयक सच्याउनु पर्छ

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका नेता बामदेव गौतमले मिडिया काउन्सिल विधेयक सच्याउनु पर्ने बताएका छन्। एक विज्ञप्ति प्रकाशित गर्दै नेता गौतमले सरकार मन्त्रिपरिषदबाट पारित भई राष्ट्रियसभा सचिवालयमा दर्तासमेत गराइएको मिडिया काउन्सिलसम्बन्धि विधेयकका कतिपय विवादास्पद प्रावधानप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।

उक्त विधेयकका केही प्रावधान नेपालको संविधानको अक्षर र भावनाअनुरुप बनाउनुपर्ने आवश्यकता रहेको उनले बताएका छन्। 'सरकार, राजनीतिक पार्टी र प्रेस सबै मर्यादित र अनुशासित हुनुपर्दछ भन्ने विचारसँग म पूर्ण सहमत छु।', उनले भनेका छन्, 'तर, समाचार लेखेकै आधारमा पत्रकारलाई दश–दश लाख रुपैयाँसम्म जरिवाना गर्नेजस्ता कठोर प्रावधान उचित लाग्दैन।'

समय समयमा पेशाको मर्यादा र भावना कुल्चिएर गरिने पत्रकारिता (पीत पत्रकारिता) बाट आफु पनि शिकार हुँदै  आएको बताउँदै गौतमले स्वतन्त्र प्रेस र व्यवसायिक पत्रकारिता लोकतन्त्रका खम्बा भएको उल्लेख गरेका छन्।

'बोल्न नसक्नेहरुका प्रतिनिधि तथा समाजका पहरेदार र ऐना पनि स्वतन्त्र पत्रकार हुन्। त्यसैले प्रेसलाई चौथो अंगको रुपमा स्वीकार गरिएको पनि हो', विज्ञप्तिमा भनिएको छ, 'प्रेस, व्यवसायिक पत्रकार र सञ्चारकर्मीहरुलाई स्वतन्त्र, निष्पक्ष, निर्भिक एवं सुरक्षित वातावरणमा काम गर्ने अवस्था राज्यले निर्माण गर्नुपर्दछ।'

हाल राष्ट्रिय सभा सचिवायलयमा रहेको उक्त विधेयकका विवादास्पद प्रावधानहरु सञ्चार क्षेत्रका जिम्मेवार एवं सरोकारवालासंग छलफल गरि टुंगो लगाउन र अहिलेकै अवस्थामा अघि नबढाउन उनले माग गरेका छन्। कुनै पनि व्यक्तिको चरित्र हत्या हुने, बदलाको भावनाले परिचालित हुने र राष्ट्रिय हितलाई वेवास्ता गर्ने क्रियाकलाप सञ्चार क्षेत्रमा प्रकट हुन नदिन पनि उनले सञ्चारकर्मीलाई आग्रह गरेका छन्।

प्रकाशित: ९ जेष्ठ २०७६ ०६:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App