८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

मर्केल र म्याक्रोंसँग पुटिनको फोनवार्ता

मस्को  – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गृहयुद्धमा होमिएको सिरियाको पछिल्लो अवस्थाबारे मंगलबार जर्मनीका चान्सलर एन्जेला मर्केल र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोसँग टेलिफोन वार्ता गरेको क्रेमलिनले जनाएको छ। टेलिफोन वार्तामा तीनै नेताले आ–आफ्ना तर्फबाट सिरियाली गृहयुद्धको शान्तिपूर्ण समाधानका विषयमा धारणा राखको बताइएको छ।

टेलिफोन वार्ताका क्रममा सिरियामा संघर्षरत सशस्त्र विद्रोही समूहले बारम्बार युद्धविरामको उल्लघङ्न गरेको विषयमा समेत छलफल भएको थियो। सिरियाको विषयमा सन् २०१८ को अक्टोबरमा टर्कीको इस्तानबुलमा चार पक्षबीचको सम्मेलन भएको थियो। रुस, टर्की, जर्मनी र फ्रान्सको सहभागिता रहेको सो सम्मेलनका अवसरमा सिरियामा राजनीतिक समाधानको रुपरेखाका लागि सबैको समन्वय आवश्यक हुने भन्दै एक सहमति भएको थियो।  

टेलिफोन वार्ताका क्रममा सिरियामा संघर्षरत सशस्त्र विद्रोही समूहले बारम्बार युद्धविरामको उल्लघङ्न गरेको विषयमा समेत छलफल भएको थियो।

सिरियाको उत्तरपश्चिम प्रान्त हामामा रहेको एक सहरमा विद्रोही समूह र रुस समर्थित सिरियाली सैनिकबीच भएको झडपमा कम्तिमा ४० लडाकुको मृत्यु भएपछि पछिल्लो टेलिफोन वार्ता भएको हो। सिरियाको उत्तरपश्चिमी प्रान्त इड्लिबमा गत अप्रिल २५ देखि हालसम्म एक सय ६७ जनाको ज्यान गइसकेको छ। इड्लिब प्रान्तमा करिब ३० लाखको बसोवास रहेको छ। गत सोमबार पनि रुसको नेतृत्वमा सिरियाली सैनिकले गरेको हवाई आक्रमणमा कम्तीका पाँच बालबालिकासहित १० जना सर्वसाधारणको मृत्यु भएको थियो।

हवाई आक्रमणका कारण पाँच बालबालिकाको ज्यान गएको बेलायतआवद्ध मानवअधिकार समूह सिरियाली अब्जरभेटरी फर ह्युमन राइट्सले पनि पुष्टि गरेको छ। रुसले इड्लिबमा युद्धविराम भएको घोषणा गरेको केही समयपछि गत आइतबार पुनः हवाई आक्रमण भएको थियो। सिरियामा सन् २०११ को मार्चमा सरकारको विरोध गर्दै सुरु भएको जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भएको थियो। यस गृहयुद्धमा अल–कायदा र इस्लामिक स्टेट्सजस्ता आतङ्ककारी समूह हाबी हँुदै गएपछि रक्तपात मच्चिएको थियो। सिरियामा जारी द्वन्द्वका कारण सन् २०११ देखि हालसम्म तीन लाख ७० हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ। लाखौंको संख्यामा घाइते भएका छन् भने २० लाखभन्दा बढी मानिस सिरियाभित्र र छिमेकी राष्ट्रमा शरणार्थी जीवन बिताउन बाध्य भएका छन्।

प्रकाशित: ९ जेष्ठ २०७६ ०६:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App