७ वैशाख २०८१ शुक्रबार
समाज

११५ वर्ष पुरानो कारागारको कथा

ताप्लेजुङ– वि.सं.१९५२ सालमा ताप्लेजुङ कारागार निर्माण गर्दा उतिबेलाको प्रशासनलाई यो कारागारमा २५ जनाभन्दा बढी कैदीबन्दी नहुने अनुमान थियो। १ सय १५ वर्षअघिको सोच र त्यही आधारमा बनाइएका संरचना २०७६ सालसम्म आइपुग्दा धेरै साँघुरो र कमजोर बने पनि अर्को विकल्प नहुँदा यहाँका कैदीबन्दीलाई कोचाकोच गरेर राख्नुपरेको छ।

अहिले कारागारमा १ सय ४० जना कैदीबन्दी छन्। सोमबार मात्र १ जना छुटेर गएपछि संख्या १ सय ४० मा झरेको हो। कारागार शाखाका प्रमुख धनीराम सिंहका अनुसार अहिले कारागारमा ९२ कैदी र ४८ थुनुवा रहेका छन्। यो क्षमताभन्दा करिब ६ गुणा बढी हो। ३ रोपनी क्षेत्रफलमा फैलिएको कारागारभित्र ३ वटा घर छन्। एउटामा ३६ जना र अर्कोमा ३१ जना जनालाई राखिएको सिंहले जानकारी दिए। तेस्रो घरलाई पार्टेसन गरेर बनाइएको दुई वटा मसिना कोठामा १७ देखि १८ जनासम्म राखेर व्यवस्थापन गरिएको उनले जानकारी दिए। जग्गाको कुल क्षेत्रफलमा खेल मैदान, शौचालय, आवास कक्ष, भोजनालयदेखि कैदीबन्दीले चलाउने ढाकातानसहितका सबै संरचना अटाउनु परेको छ।

कारागार सुरक्षा प्रशासन बस्ने कक्षसमेत यही क्षेत्रफलभित्रको संरचना हो। कारागार शाखाका प्रमुख सिंह अर्को विकल्प नहुँदा पुरानो र जीर्ण बनेको शताब्दी पुरानो संरचनालाई टालटुल र मर्मतसम्भारसहित सञ्चालन गरिरहेको बताउँछन्। कैदीबन्दीका लागि छुट्याएका २ वटा कोठामा सँगै जोडिएको शौचालय रहेको छ। बाँकी ३ वटा शौचालय बाहिरी संरचनामा गाँसिएका छन्। कैदीबन्दीका लागि ३ वटा धारा रहेका छन्। घट्नेभन्दा संख्या थपिने बढी भएपछि पुरानो संरचनामा थपथाप गर्दै कैदीबन्दीलाई व्यवस्थापन गर्नु कारागार प्रशासनको नियति बन्दै आइरहेको छ।

‘जे छ त्यसलाई सकेसम्म सुधार गरेर आवश्यकता टार्नु बाहेक अर्को विकल्प नै छैन’, कारागार शाखाका प्रमुख सिंहले भने। उनले कारागारमा भएको यो संख्या इतिहासकै सबैभन्दा बढी भएको जानकारी दिए।

कारागार प्रशासनका अनुसार गणतन्त्र दिवसका दिन वैधानिक प्रकृया पूरा गरेका ४ जनालाई आगामी सजाय माफी गरी छुटका लागि सिफारिस गरिएको छ। सिफारिस भएकाहरू छुटी गएको अवस्थामा कारागारमा कैदीबन्दीको संख्या १ सय ३६ मा झर्ने छ। तर, अदालतबाट सजाय तोकिएका तथा घटनापछि फरार रहेका व्यक्तिलाई पक्राउ पर्ने र कानुनी दाहेरामा ल्याउने प्रहरीको सक्रियताले कारागारबाट मुक्त हुनेको तुलनामा चलान हुने संख्या बढ्दो पाइएको कारागार प्रशासनले जनाएको छ। ‘पुराना प्रतिवादी धमाधम पक्राउ परेका छन्, यसले कारागारमा रहनेको संख्या उल्लेख्य बढाएको छ’,कारागार शाखा प्रमुख सिंहले भने।

उनले चालु आर्थिक वर्षमा ठूलो संख्याका फरार प्रतिवादीलाई कानुनी दाहेरामा ल्याउन प्रहरीको प्रयास सफल भएकोले सोही अनुपातमा कारागारमा पनि कैदीबन्दीले अटस–मटस भएको जानकारी दिए। ‘एकछिन भित्र पस्यो भने पनि कहिलेकाहीं त गर्मी महसुस पो हुन्छ’,सिंहले थोरै जनशक्ति धान्ने क्षमता भएको कारागारमा ६ गुणा हाराहारी कैदीबन्दी हुँदाको अनुभव सुनाए। एकाध पूर्वाधार थपिनुबाहेक भित्रको संरचना पनि पुरानै रहेको अवस्थामा मर्मतसम्भार गरेर झण्डै सवाशताब्दी पुरानो कारागारले धानिरहेको छ। अवस्था हेर्दा यो भवनले कहिलेसम्म साथ दिन्छ? त्यो पनि भन्न सकिने अवस्था छैन। गएको भदौ दोस्रो साताबाट यहाँको प्रहरी प्रमुख बनेर आएका डिएसपी सञ्जयसिंह थापाले फरार प्रतिवादी पक्राउ गर्नेगरी बनाएको योजना सफल बन्दै जाँदा कारागारमा कैदीबन्दीको संख्या पनि अपेक्षाकृत बढी पाइएको बताए।

प्रकाशित: ९ जेष्ठ २०७६ ०५:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App